१७ माघ २०८२
अ+
अ-

काठमाडौँ। पछिल्लो चौबीस घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

ती घटनामा परेर तीन महिला घाइते भएका छन्। जनावरको आक्रमणबाट एकजना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेको बताइन्। विद्युत् सर्ट हुने‚ आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ।

पछिल्लो चौबीस घण्टाको अवस्था हेर्दा असावधानीका कारण आगो लाग्दा तीनजना घाइते भएको महतले उल्लेख गरिन्। प्राधिकरणका अनुसार झापा‚ मोरङ‚ धनकुटा‚ सोलुखुम्बु‚ खोटाङ‚ सर्लाही‚ बारा‚ कपिलवस्तु‚ कैलालीमा आगलागीका घटना भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ।

प्राधिकरणबाट प्राप्त चौबीस घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेटभन्दा तल्लो भागमा जलेर घाइते भएकी छन्। शरीरको ३० प्रतिशत भाग जलेकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर सख्त घाइते भएकी छन्। उनको भने ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएको प्राधिकरणले जनाएको छ। निजलाई उपचारका लागि निसर्ग अस्पतालमा लगिएको छ।

ती आगलागीबाट आठवटा पशुचौपाया मरेका छन्। ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिइन्। मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन्। अछाममा जनावरको आक्रमणबाट एकजना घाइते भएका प्राधिकरणले जनाएको छ।

यसैबीच प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।