काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
अ+
अ-

काठमाडौं। इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्‍याम युनाइटेडमाथि ३-२ को जित हासिल गरेको छ।

खेलको सुरुवात वेस्ट ह्यामको दबदबाबाट भएको थियो। सुरुवाती चरणमै चेल्सी रक्षापङ्क्तिमाथि दबाब बढाउँदै वेस्ट ह्यामका जारोड बोएनले ७औँ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाए।

३६औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरेपछि वेस्ट ह्याम २–० को बलियो स्थितिमा पुग्यो। पहिलो हाफमा निकै संघर्ष गरेको चेल्सीले दोस्रो हाफमा भने आक्रामक खेल देखायो। खेलको ५७औँ मिनेटमा जोआओ पेड्रोले गोल गरेपछि चेल्सी खेलमा फर्किएको संकेत दियो।

दबाब कायम राख्दै ७० औँ मिनेटमा मार्क कुकुरेल्लाले गोल गरेर खेललाई २–२ को बराबरीमा ल्याए। निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा खेल निकै रोमाञ्चक बन्यो। इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै चेल्सीलाई ३–२ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै चेल्सी लिगमा चौथो स्थानमा उक्लेको छ। चेल्सीले २४ खेलबाट ४० अंक जोड्न सफल भएको छ । उता, वेस्ट ह्याम भने २० अंक सहित रेलिगेसन क्षेत्रमा छ।