काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
अ+
अ-

काठमाडौँ। लगातार सात जित निकाल्दै आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको बाङ्लादेशले छनोट प्रतियोगिता समाप्त गरेको छ।

सुपर सिक्स अन्तर्गत आइतबार आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै बाङ्लादेश च्याम्पियन बन्न सफल भयो।

नेदरल्यान्ड्सले दिएको १०३ रनको लक्ष्य बाङ्लादेशले १६.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान निगार सुलताना ज्योतिले अविजित रहँदै ४४ बलमा ७ चौकाको मद्दतले ५० रन बनाइन्। उनलाई सोबाना मोस्तारीले उत्कृष्ट साथ दिइन्।

मोस्तारीले २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाइन्। यी दुईबीच बनेको अविजित ५७ रनको साझेदारीले बाङ्लादेशलाई सहज जित दिलायो।

लक्ष्य पछ्याउने क्रममा बाङ्लादेशले सुरुआतमा दबाब झेलेको थियो। मात्र ६ रन बनाउँदा ओपनर दिलारा आक्तार (४) र जुराइरिया फेर्दौस (०) आउट भइन्। त्यसपछि ज्योति र शर्मिन आक्तारबीच तेस्रो विकेटका लागि ४२ रनको साझेदारी भयो।

शर्मिन २८ बलमा १३ रन बनाएर आउट भएपछि मोस्तारीले ज्योतिसँग मिलेर टोलीलाई जिततर्फ डोर्‍याइन्। बाङ्लादेशले समूह चरणमा अमेरिका, पपुवा न्युगिनी, नामिबिया र आयरल्यान्डलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो।

सुपर सिक्समा थाइल्यान्डलाई हराउँदै विश्वकपमा आफ्नो पक्का गर्‍यो। त्यसपछि स्कटल्यान्ड र अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै छनोटमा च्याम्पियन बन्यो।

आगामी जुन–जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा १२ टोली सहभागी हुनेछन्।