काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

टी–२० विश्वकप

स्कटल्यान्ड, इटाली होइन इङ्ल्यान्ड र वेष्ट इन्डिजलाई नै हराउने रणनीति बनाउन पूर्वक्रिकेटरको सुझाव

१८ माघ २०८२
एमसीए ११ सँग विकेट लिएपछि क्रमशः बायाँबाट करण केसीसँगै सन्दीप जोरा, रोहितकुमार पौडेल र पछाडि सन्दीप लामिछाने। तस्बिर : क्यान
अ+
अ-

आईसीसी टी–२० विश्वकप २०२६ तालिकाको समूह ‘सी’ अब सामान्य समूह मात्र रहेन। बाङ्लादेशको अप्रत्याशित बहिर्गमनसँगै स्कटल्यान्डको प्रवेशपछि यो समूहको शक्ति सन्तुलन फेरिएको प्रयोगशाला जस्तै बनेको छ।

दुईपल्टको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसँगै बाङ्लादेश, इटाली र नेपाल रहेको यो समूहलाई पहिले ‘ग्रुप अफ डेथ’ मानिएको थियो। अर्थात् ठूला टिम अपेक्षाकृत कमजोर टिमसँग पराजित हुनसक्ने समूह। अब भने अवस्था फेरिएको छ।

टेस्ट राष्ट्र बाङ्लादेश बाहिरिएपछि बाँकी टोलीहरूबीचको अन्तर साँघुरिएको छ। यो कुरा नेपालका लागि दबाबसँगै अवसर बनेको छ। वरीयता, इतिहास र अनुभव सबै हिसाबले स्कटल्यान्ड बाङ्लादेशभन्दा कमजोर टोली रहेको कप्तान रोहितकुमार पौडेल बताउँछन्। “स्कटल्यान्डसँग हामी खेलिरहेका छौं। उनीहरूको बलियो र कमजोर पक्ष हामीलाई थाहा छ,” मुम्बईबाट पौडेल भन्छन्।

जुरेको अवसर

बाङ्लादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चिन्ता देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो।

विश्वकपको युरोपेली छनोटमा इटालीसँग १२ रन र जर्सीसँग एक विकेटले पराजित भएसँगै स्टकल्यान्ड विश्वकपको टिकट सुनिश्चित गर्न असफल भएको थियो। तर, भारत र बाड्लादेशबीचको विवादले स्कटल्यान्डलाई सिधै विश्वकपमा ल्याइपुर्‍ र्यायो। ४ जनवरीमा बाङ्लादेश सरकारले आफ्नो टोलीलाई भारत यात्राको अनुमति नदिएको जानकारी बीसीबीमार्फत आईसीसीलाई पठाएको थियो। बीसीबीले सुरक्षा चिन्ता देखाउँदै पाकिस्तानको जस्तै आफ्नो खेल तटस्थ भूमीमा राखिदिन तीनसातासम्म आईसीसीसँग छलफल गरेको थियो।

एमसीए ११ सँगको अभ्यास खेलमा बललाई ‘थ्रो’ गर्दै नेपाली टोलीका कप्तान। तस्बिर : क्यान

यो सुरक्षा चिन्ता मुख्य स्टार पेसर मुस्ताफिजुर रहमानको मुद्दासँग सम्बन्धित थियो। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्सलाई ३ जनवरीमा रहमानलाई बिना कारण ‘रिलिज’ गर्न निर्देशन दिएपछि यो विवाद निम्तिएको थियो। बीसीसीआईले कुनै कारण उल्लेख नगरे पनि मुख्यतः बाङ्लादेशमा हिन्दु समुदायमाथि भइरहेको हिंसालाई कारण देखाउँदै रहमानलाई रिलिज गर्न निर्देशन दिएको बताउने गरिएको छ ।

त्यसयता बीसीबीले बारम्बार सुरक्षा सर्वोपरि रहेको र कुनै पनि जोखिममा टोली पठाउन नसकिने अडान दोहो¥यायो। बोर्डका अध्यक्ष अमिनुल इस्लामले पाकिस्तानमा गत वर्ष आयोजित च्याम्पियन्स ट्रफीका भारतका खेलहरू दुबईमा सारिएको निर्णयलाई नजिर मान्दै आईसीसीले आफ्नो खेललाई पनि तटस्थ भूमिमा सार्न आग्रह गरेका थिए। तर, भारतमा कुनै सुरक्षा जोखिम नरहेको भन्दै आईसीसीले बाङ्लादेशलाई भारतमै खेल्न आग्रह गरेको थियो।

बीसीबीले भने यो मुद्दा आईसीसीको विवाद समाधान समितिमा लैजान चाहेको थियो। तर, आईसीसीले खेल्ने स्थान तय भइसकेको, कुनै सुरक्षा खतरा नरहेको र व्यवस्थापनमा खर्च बढी हुने भन्दै बाङ्लादेशको बदलामा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको थियो। आईसीसीले भनेको थियो,‘मुस्ताफिजुरको मुद्दा घरेलु लिगको हो। यो आईसीसीको प्रतियोगिताको सुरक्षा वा सहभागितासँग प्रत्यक्ष सम्बन्धित छैन।’

नेपालको इतिहास

समूह ‘सी’ मा नेपालका लागि नितान्त नौलो प्रतिस्पर्धी भनेको इङ्ल्यान्ड र इटाली हो। इङ्ल्यान्डसँग त अहिलेसम्म कुनै पनि फम्र्याटमा नेपालले खेल्नै पाएको छैन। इटालीसँग भने सन् २००५ र २०१० मा नेपालले खेलको थियो। सन् २००५ मा आईसीसी विश्वकप क्वालिफायर शृंखलाअन्तर्गत पहिलोपल्टको त्यो भेटमा नेपालले ८८ रनको जित निकालेको थियो। त्यसको पाँच वर्षपछि डिभिजन ‘फोर’ मा प्रतिस्पर्धामा पनि नेपाल पाँच विकेटले नै विजयी रह्यो। तर, ती ५० ओभरका खेल थिए। बाँकी दुई टोली वेस्ट इन्डिज र स्कटल्याण्ड भने नेपालका लागि नौला होइनन्।

नेपाली टोलीलाई रणनीति सुनाउँदै मुख्य प्रशिक्षक स्टुअर्ट ल। तस्बिर : क्यान

‘इटालीले हालै आयरल्यान्डलाई हराएको छ। स्कटल्यान्ड अहिले लिग २ साइकलमा निकै राम्रो फर्ममा रहेको टिम हो’ पूर्वक्रिकेटर दीपेन्द्र चौधरी भन्छन्, ‘यद्यपि, एउटा सकारात्मक पक्ष के भने समूहमा एउटा टेस्ट राष्ट्र कम भएको छ।”
सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकपको छनोटलाई आधार मानिएको आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ।

नेपाल भने २० खेल खेल्दै १२ अंकसहित सातौं स्थानमा छ।

स्कटल्यान्ड टी–२० आईमा पनि नेपालभन्दा बलियो मानिन्छ। यी दुई टोली टी–२० आई फम्र्याटमा दुईपल्ट मात्र भिडेका छन्। एसोसिएट राष्ट्रलाई क्रिकेटको छोटो फम्र्याटमा पनि खेलाइराख्ने आईसीसीको नीतिअनुसार लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणको क्रममा यी दुई टोली पहिलोपल्ट आमनेसामने भएका थिए। ग्लासगोमा १७ जुन २०२५ मा भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो। तर, दोस्रो खेलमा भने नेपालले ३४ रनको फराकिलो हार बेहोर्नु पर्यो।वेस्ट इन्डिजसँग भने नेपालले गत वर्ष सेप्टेम्बरमा तीन खेलको टी–२० आई शृंखला खेलेको थियो। संयुक्त अरब इमिरेट्स (युएई)मा भएका त्यो शृंखला नेपालले २–१ ले जितेको थियो। दुई खेलमा नेपालले ९० र १९ रनको जित हात पार्दा अन्तिम खेल भने १०१ रनले गुमाएको थियो। यसपल्ट स्कटल्यान्डले केही खेलाडी फेरेर विश्वकप खेल्ने टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले पनि जोसन होल्डर र अकिल हुसेनलाई मात्र निरन्तरता दिएर नयाँ र बलियो टोली उतार्दैछ।

नेपालको सम्भावना कति?

नेपाली क्रिकेट टोलीको अहिलेको ठूलो अन्योल भनेकै विकेट र ‘कन्डिसन’ हो। नेपालले समूह चरणका चारवटै खेल खेल्ने वान्खडे मैदानको पिचलाई सामान्यतः फ्ल्याट मानिन्छ। तर, यो पिचको अवस्था भने बदलिरहन्छ। गत वर्ष २ फेब्रुअरीमा यस्तै भएको थियो। घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्ध २४७ रन बनाएको थियो। यो वान्खडेमा बनेको सबैभन्दा ठूलो स्कोर हो। तर, २४८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ९७ रनमै अलआउट भयो। वान्खडेको पिचलाई लिएर उत्साहित हुन नहुने बताउँछन् चौधरी। “पिच कस्तो हुन्छ भनेर क्युरेटरलाई मात्र थाहा हुन्छ। आईसीसीको प्रतियोगिताहरूमा पिचको तयारी पूर्णतया कस्तो बनाउने भन्ने नियन्त्रण उसकै हातमा हुन्छ। दुई/दुई वर्षमा माटो फेरिने भएकाले पनि यस्तै पिच हुन्छ भनेर पहिला नै भन्न सक्ने अवस्था हुँदैन,” उनी भन्छन्।

एसोसिएट राष्ट्रका पिच प्रायः फ्ल्याट बनाइने गरिन्छ। त्यसैले यस्ता पिचमा खेलेका टोलीलाई सहज हुन्छ। त्यसको फाइदा नेपालले शारजहामा वेस्ट इन्डिजसँगको शृंखलामा लिएको थियो। शृंखलामा तीनमध्ये दुई खेलमा जित निकाल्यो। तर, तीनमध्ये दुई खेलमा पेसर बलरले ७ र स्पिनरले १० विकेट लिएका थिए। तर, अन्तिम खेलमा भने न पेसर चल्न सके न स्पिनर । सोही कारण नेपाल १० विकेटले पराजित हुन पुग्यो। अर्कोतर्फ दुईपल्टको विश्वविजेता वेस्ट इन्डिज ‘पावर हिटिङ’को रूपमा परिचित छ। लामा लामा छक्का प्रहार गर्ने यो टोलीले यही विशेषताका कारण सन् २०१२ र २०१६ मा लगातार विश्वकप जितेको थियो। यो टोलीमा उच्च गतिका पेस बलर पनि छन्। “पिच फ्ल्याट भयो भने पनि नेपाललाई घाटा छ। बाउन्सी भयो भने पनि समस्या पर्न सक्छ किनभने नेपालसँग उच्च गतिको पेस बलर नै छैनन्,” चौधरी भन्छन्। नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकप टोलीमा सोमपाल कामी र करण केसीसँगै नन्दन यादवलाई पनि समेटेका छन्। यी तीन पेसरलाई अलराउन्डर गुलसनकुमार झाले समेत साथ दिने छन्। तर, यी कसैले पनि १४० किलोमिटर/ प्रतिघन्टा बलिङ गर्न सक्ने क्षमता राख्दैनन्।

विश्वकप खेल्न अस्वीकार गरेको बाङ्लादेशी टोली नियमित अभ्यास गर्दै। तस्बिर : बीसीबी

अर्कोतर्फ भने सोमपाल र करणले एक दशकदेखि लगातार खेलिरहेका छन्। यसलाई विश्व क्रिकेटमा दुर्लभ मानिन्छ। नेपाल क्रिकेट संघ (क्यान)ले ‘बेन्च स्ट्रेन्थ’ र ‘डेभलपमेन्ट स्क्वाड’ तयार गर्न नसक्दा यी दुई खेलाडीले निर्विकल्प टोलीमा स्थान बनाइरहेका छन्। सोमपालको यो तेस्रो विश्वकप हो भने करणको दोस्रो। पछिल्ला विश्वकपदेखि यी बलरले आफ्नो लय समात्न सकेका छैनन्।

२०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएका विश्वकपमा कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले सानदार बलिङ गरेका थिए। दीपेन्द्रले प्रतियोगिताभर सर्वाधिक ६ विकेट लिए। कुशलले चार, रोहितले दुई र सन्दीप लामिछानेले दुई विकेट लिँदा पेसर सोमपाल कामीले दुई र अविनाश बोहराले एक विकेट हात पारे। करण भने विकेटविहीन रहे। दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्ने क्रममा पनि कुशलले चार र दीपेन्द्रले तीन विकेट लिएका थिए। सन्दीपले भने भिसा नपाएका कारण अमेरिकामा भएको यो खेल खेल्नै पाएनन्। “क्रिकेट भनेको फुटबलजस्तो होइन। फुटबलमा एक गोल हानेपछि डिफेन्स गरेर भए पनि जितिन्छ। तर, क्रिकेटमा त्यसरी जितिँदैन। त्यसैले जति नै रन बनाए पनि बलिङ छैन भने टोलीलाई बलियो मान्न सकिँदैन,” पूर्वक्रिकेटर तथा बलर सञ्जम रेग्मी भन्छन्।

आईसीसीको नियमअनुसार चार समूहबाट शीर्ष दुई टोली मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछन्। त्यसैले बाङ्लादेशको अनुपस्थितिले इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता शक्तिशाली टोलीलाई बढी सहज बनाइदिएको उनको भनाइ छ। बाङ्लादेश एसियाली पिचबारे प्रशस्त जानकार छ। त्यसैले यो टोलीले इङ्ल्यान्ड र वेस्ट इन्डिजस्ता टोलीलाई पनि चुनौती दिने सामथ्र्य राख्छ। अर्कोतर्फ वेस्ट इन्डिज टी–२० संरचनामा अत्यन्तै खतरनाक र ‘फायरवर्क’ शैलीको टोली भएकाले कम आँक्न नसकिने रेग्मी बताउँछन्। ‘आईसीसीका प्रतियोगिता खेल्नु र सामान्य द्विपक्षीय शृंखला खेल्नुमा आकाश–जमिनको फरक हुन्छ। शृंखलामा एउटा खेल हारे पनि कमब्याक गर्ने मौका हुन्छ। तर, विश्वकपमा एउटा हारले टोलीलाई ठूलो मानसिक दबाबमा पार्छ’, रेग्मी भन्छन्, “टी–२० क्रिकेट मोमेन्टमको खेल भएकाले यसमा अनुभवी र युवा खेलाडीहरूको उचित सन्तुलन हुन आवश्यक हुन्छ।”

दक्षिण अफ्रिकासँग विश्वकपमा पराजित भएपछि गुल्सनलाई सान्त्वना दिँदै सोमपाल कामी (जर्सी नम्बर १०)। तस्बिर : आईसीसी

उनले भनेजस्तै पछिल्लो विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई एक रनको नतिजा सुम्पिएको थियो। तर, दक्षिण अफ्रिकाकी बलर ताबरइज शाम्सीको अनुभवी बलिङसँगै चार विकेटले खेल पल्टियो। दक्षिण अफ्रिकासँगको उक्त खेलमा १७.३ ओभरमा ९९/४ को स्थितिमा रहेको नेपालले बाँकी १५ रन बनाउँदा थप तीन विकेट गुमाएको थियो। अन्तिममा सुपर ओभरका लागि एक रन चाहिएको थियो। तर, गुल्सन रन आउट हुँदा नेपालले ऐतिहासिक जित निकाल्ने अवसर गुमाएको थियो। “के थाहा नेपालले दक्षिण अफ्रिकालाई जस्तै इटाली र स्कटल्यान्डले पनि चुनौती दिन सक्छन कि? त्यसैले नेपालले सुपर एटमा पुग्ने हो भने एसोसिएट राष्ट्र आउनुको उत्सव मनाउने होइन, बाँकी दुई टिमसँग चमत्कारी प्रदर्शन नै गर्नुपर्छ,” रेग्मी निष्कर्ष सुनाउँछन् ।