काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

बागलुङ। बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष सुन्तला बिक्रीबाट चार करोड रुपैयाँ आम्दानी गरेका छन्।

‘सुन्तला गाउँ’ का रूपमा परिचित यस क्षेत्रमा गत वर्षको तुलनामा उत्पादन र मूल्य दुवै बढेपछि किसानहरु उत्साहित भएका हुन्। स्थानीय किसान अनन्त खड्काले गत वर्ष ५ लाखमा बिक्री गरेको आफ्नो सुन्तला बगैँचा यसपटक ७ लाख ५० हजार रुपैयाँमा ठेक्का दिएका छन्।

उनी मात्र होइन, सिगानाका १०० भन्दा बढी किसानले सुन्तला खेतीबाट जनही एक लाखदेखि साढे सात लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। गत वर्ष सिगानामा साढे तीन करोडको सुन्तला उत्पादन भएकोमा यस वर्ष ५० लाख रुपैयाँले वृद्धि भएको स्थानीय गणेश कृषि सहकारीको तथ्याङ्कले देखाएको छ।

२०५० सालदेखि कोदो बारी र धान खेत मासेर व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका किसान अहिले धमाधम खेती विस्तारमा जुटेका छन्। सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोट लगायतका क्षेत्रमा अहिले नयाँ बिरुवा लगाउने लहर चलेको छ। आउँदो पाँच वर्षभित्र पूरै गाउँ सुन्तलाको बगैँचाले ढाकिने गरी अभियान नै चलाइएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए।

यस वर्ष मौसम अनुकूल हुनु र रोगको प्रकोप नदेखिनुले उत्पादन बढाउन मद्दत पुगेको हो। यसै वर्ष मात्रै ४०० भन्दा बढी नयाँ बोटले उत्पादन दिन सुरु गरेका छन्। गणेश कृषि सहकारीले किसानलाई अनुदानमा बिरुवा वितरण गर्दै सुन्तला खेतीको तथ्याङ्क सङ्कलन र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ।

सिगानाको सुन्तला अन्य ठाउँको तुलनामा निकै स्वादिष्ट हुने भएकाले पोखरा, काठमाडौँ र चितवनका व्यापारीहरु बगैँचामै पुग्ने गरेका छन्। धादिङ, चितवन र पोखराका ठेकेदारहरूले बगैँचा नै एकमुष्ट खरिद गरेर सुन्तला बजार लैजाने गरेका छन्। साविकका ३, ४, ५ र ७ वडाका २५० भन्दा बढी किसान अहिले सुन्तला खेतीमै आश्रित छन्।

बगैँचा व्यवस्थापन, उचित मलजल र व्यावसायिक सोचका कारण सिगानाका किसानको आर्थिक स्तरमा उल्लेख्य सुधार आएको छ। वडा कार्यालय र सहकारीको समन्वयमा सुन्तलाको स्तरीकरण गरी बजार पठाउने व्यवस्था मिलाइएकाले आगामी वर्षहरूमा आम्दानी अझै बढ्ने विश्वास गरिएको छ।