काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

गण्डकी। पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन पोखरा पर्यटन परिषद्ले अभियान सुरु गरेको छ।

लेकसाइड आएका पर्यटकहरू पूर्ण रूपमा सुरक्षित महसुस गरी यस क्षेत्रमा आवतजावत गर्न सकुन् भन्ने उद्देश्यका साथ सरोकारवाला निकायसँग समन्वय एवम् साझेदारी बढाउँदै अभियान सुरु गरिएको हो।

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री एवम् पूर्ण सुरक्षित बनाउने लक्ष्यका साथ परिषद्ले यहाँस्थित वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि, पर्यटन व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको समन्वयमा छलफल गरी अभियानलाई अघि बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि नहुन् भन्ने उद्देश्यका साथ यस क्षेत्रमा पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि एवम् पर्यटन व्यवसायी र सरोकारवाला पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि रहनुुभएको ह्वाटस् एप गु्रप तयार गरिएको छ।

अवाञ्छित गतिविधि भए गरेको कोही कसैले देख्नासाथ ग्रुप वा सम्बन्धित निकायमा खबर गरी त्यस्ता गतिविधि रोक्न पहलकदमी गरिने गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए।

परिषद्का्े अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिसहित विशेष गरी बेलुकाको समयमा स्थलगत अनुुगमन पनि गर्ने गरिएको उनले बताए। लेकसाइडमा आउने पर्यटकका लागि खाद्य स्वच्छतासमेतलाई ध्यान दिँदै खुला रूपमा सडकपेटी वा साइकलमा गरिने व्यापारले पर्यटकको आवतजावतमा समेत असर परेको हुँदा यस्ता गतिविधिलाई नियन्त्रण गर्न थालिएको छ।

स्थलगत अनुुगमनका क्रममा पहिलो चरणमा सम्बन्धित व्यक्तिहरूलाई सचेत गराइएको बताउँदै परिषद्का अध्यक्ष पहारीले यसपछि पनि त्यस्तो क्रममा निरन्तरता पाइए थप कानुुनी कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाइने बताए।

लेकसाइड क्षेत्रका विभिन्न स्थानमा यहाँको स्वच्छता र पर्यटनमैत्री वातावरणका लागि क्युआरकोडमार्फत अपनाउनुुपर्ने नियम आदिबारे पनि जानकारी गराउने लक्ष्य राखिएको उनले बताए।