प्रतिनिधिसभा निर्वाचन/मोरङ–६
शेखर कोइरालालाई विरासत जोगाउने चुनौती
कोशी प्रदेशको राजधानी विराटनगरस्थित रोडशेष चोक नजिकै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब चार किलोमिटर पश्चिम–दक्षिण लागेपछि एउटा बस्ती भेटिन्छ, जसको नाम नै ‘सम्पन्न बस्ती’ हो। तर, त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ—नाम सम्पन्न भए पनि पूरै बस्तीमा बिपन्नताको मात्र वास छ।
विराटनगर–१२ मा पर्ने यो बस्तीका वासिन्दालाई अहिलेसम्म चुनावी रापले छोएको छैन। बरु, उनीहरू आउँदो बर्खायाममा केसेलिया खोलाले कतिबेला उठिबास लगाउने हो भन्ने त्रासमा बाँचिरहेका छन्।

त्यसैले पनि २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ७० घरधुरी रहेको बस्तीका मतदाताको एउटै सर्त छ—‘जसले केसेलियाको बाढी रोक्छ, भोट उसैलाई।’
“हामी यहाँ बसेको वर्षौं भइसक्यो, तर हाम्रो दुःख कसैले देखेन,” सम्पन्न बस्तीका ६० वर्षीय रामेश्वर ऋषिदेव भन्छन्।

६० वर्षीय रामेश्वर ऋषिदेव।
यस क्षेत्रका सडक अहिले पनि हिलाम्मे छन्। चुनावका बेला सबै दलका नेताहरू यहाँ अनिवार्य पुग्छन्। केसेलिया खोलामा तटबन्ध हालेर बस्ती जोगाउने आश्वासन दिन्छन्। तर, समस्या भने ज्यूँका त्यूँ छ।
बर्खायाममा यहाँका बासिन्दा अहिले पनि पोकापुन्तुरा बोकेर नजिकैको बखरी स्कुलमा शरण लिन बाध्य छन्।
बस्तीको नाम सम्पन्न भए पनि यहाँका वासिन्दाले सामान्य मानवीय सुविधासमेत उपभोग गर्न पाएका छैनन्।
“यो त हाम्रो नियति नै बनिसक्यो। कतिन्जेल स्कुलको चिसो भुइँमा शरण लिने ?” ऋषिदेव प्रश्न गर्छन्।
बस्तीको नाम सम्पन्न भए पनि यहाँका वासिन्दाले सामान्य मानवीय सुविधासमेत उपभोग गर्न पाएका छैनन्। बस्तीभित्र एउटा सडकसमेत ग्राभेल गरिएको छैन।
“केटाकेटी खेल्ने ठाउँ छैन। सडकको नाममा खनिएका खाल्डामा पानी जम्छ,” स्थानीय कौशिमादेवी ऋषिदेव गुनासो गर्छिन्।

कौशिमा देवी ऋषिदेव।
केही समयअघि बस्तीमा नाला निर्माण गरिएको थियो। तर, नालाको निकास कतै देखिँदैन। ढक्कन नहुँदा साना बालबालिका खस्ने डर उत्तिकै छ। स्थानीयको गुनासो छ—कम्तीमा सडकमा ग्राभेलसम्म गरिदिएको भए हिलोबाट जोगिने सम्भावना हुन्थ्यो।
यहाँका घरहरूमा अहिलेसम्म विद्युत् मिटर बक्स जडान गरिएको छैन। न त स्वच्छ खानेपानीको उचित व्यवस्था नै छ। विकासका ठूला गफ गर्ने नेताहरूले बस्तीलाई ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गर्दै आएको स्थानीयको आरोप छ।
“केसेलिया खोलाको ५ नम्बर वडा माथिबाट करिडोर बनाएर तटबन्धन गर्न सकिए दक्षिण भेगका बस्तीलाई बाढीबाट जोगाउन सकिन्थ्यो,” विराटनगर–१२ का वडा सदस्य कुशेश्वर राजवंशी भन्छन्।
विकासका ठूला गफ गर्ने नेताहरूले बस्तीलाई ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गर्दै आएको स्थानीयको आरोप छ।
चुनाव आउँदा आश्वासनको बाढी ल्याउने तर बर्खा आउँदा केसेलियाका बासिन्दालाई बाढीमै छाड्ने नेताहरूको पुरानो प्रवृत्तिविरुद्ध यसपालि मोर्चाबन्दी गर्ने स्थानीय लोलाइ ऋषिदेव बताउँछन्। “यसपटक हामी नेताका कुरा मात्रै सुनेर बस्दैनौँ। काम हुने ग्यारेन्टी खोज्छौँ,” उनी भन्छन्।

गत १७ जेठमा केसेलिया खोलाको बाढी विराटनगर–१२ को सम्पन्न बस्तीमा पसेपछि अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी।
अहिलेसम्म यो बस्तीमा भोट माग्न उम्मेदवारहरू पुगेका छैनन्। तर, मतदाताले आफ्नो एजेन्डा भने तय गरिसकेका छन्। उनीहरूको माग स्पष्ट छ—केसेलियामा तटबन्धन, सडक ग्राभेल, बिजुली मिटर बक्स र नालाको निकास। “हाम्रो समस्या बुझ्ने र पूरा गर्ने प्रतिबद्धता लिएर जो आउनु हुन्छ, भोट उहाँलाई नै जान्छ,” रामेश्वर दोहोर्याउँछन्।
नयाँलाई मौका
सम्पन्न बस्ती मोरङ क्षेत्र नम्बर ६ मा पर्छ। यहाँ प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन्। तर, मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यबीच हुने देखिन्छ।
कांग्रेसको ‘गढ’ मानिने यस क्षेत्रमा कोइराला विरासत जोगाउने दाउमा छन् भने ढकाल १७ वर्षअघि कोइरालासँग व्यहोरेको हारको बदला लिने रणनीतिमा छन्। २०६५ सालको उपनिर्वाचनमा ढकाल कोइरालासँग पराजित भएका थिए।
मोरङ–६ को राजनीतिक इतिहास स्थिर छैन। २०४८ यता भएका आठवटा निर्वाचनमध्ये सात पटक यहाँका मतदाताले नयाँ अनुहारलाई जिताएका छन्।
२०७९ सालको निर्वाचनमा कोइरालाले एमालेका लालबाबु पण्डितलाई ठूलो मतान्तरले हराएका थिए। त्यतिबेला कोइरालाले ३५ हजार २२४ मत प्राप्त गरेका थिए भने पण्डितले २२ हजार ९४६ मत पाएका थिए। रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत ल्याउँदै तेस्रो स्थान सुरक्षित गरेका थिए।
यसपटक रास्वपाबाट आचार्य र नेकपाबाट मजदुर नेता रायको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बनेको छ। खासगरी विराटनगरका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडाका शहरी तथा युवा मतदाताको रुझानले नै हार–जितको फैसला गर्ने देखिन्छ।
मोरङ–६ को राजनीतिक इतिहास स्थिर छैन। २०४८ यता भएका आठवटा निर्वाचनमध्ये सात पटक यहाँका मतदाताले नयाँ अनुहारलाई जिताएका छन्। २०७४ मा वाम गठबन्धनका पण्डितले कोइरालालाई ६७५ मतान्तरले हराएका थिए।
सुन्दरहरैंचा नगरपालिकाका केही वडा, बुढीगंगा गाउँपालिका र विराटनगरका सात वटा वडा समेटिएको यस क्षेत्रमा एक लाख ३७ हजार ८३२ मतदाता छन्।