सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही बमोजिकको सुरक्षा व्यवस्थापन मिलाउन लागिएको जानकारी दिए।
उनले भने, “विगतका निर्वाचनका बेला भएका अवाञ्छित घटनालाई अध्ययन गरेर यी चार जिल्लालाई संवेदनशील जिल्ला देखिएको विश्लेषण गरेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेका छौँ, निर्वाचन बिथोल्न सक्ने तत्वलाई निगरानीमा राखेर सुरक्षाको आवश्यक तयारी पनि गरिरहेका छौँ।” हिमाली भेक र भौगोलिक रुपमा विकट क्षेत्रका मतदानस्थलबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्नका लागि हेलिकप्टरको व्यवस्थापन गर्न लागिएको छ।
निर्वाचनको दिन हिमाली क्षेत्रमा हुनसक्ने हिमपातको जोखिमलाई मध्यनजर गरेर सम्बन्धित क्षेत्रका मतदाताले मतदान गर्न पाउने व्यवस्थाको विकल्प सोच्ने बारेमा पनि तयारी भइरहेको छ। दार्चुलाको उत्तरी क्षेत्र तिङ्कर र छाङरुङका बासिन्दा हिउँदेयाममा गाउँ छाडेर सदरमुकाम नजिकको तिङ्करखेडा भन्ने ठाउँमा बस्ने भएकाले उनीहरुका लागि सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको छ।
बाजुराको हिमाली भोगका तीन पालिकाका कतिपय परिवार हिँउदेयाममा घरमा पालिएका चौपायासहित विभिन्न जिल्लामा बसाइँसराइ गर्ने गरेकाले उनीहरु निर्वाचनको दिनसम्म गाउँमा फर्किने वा नफर्किने भन्नेमा यकिन हुन सकेको छैन। प्रहरी प्रवक्ता विष्टले भने, “जाडोयाममा केही महिनाका लागि अन्य जिल्लामा पुगेर बस्नेहरु समान्यतया चैतमा मात्रै गाउँ फर्किने गरेको देखिन्छ, यस्तो अवस्थामा मतदानको दिनसम्म गाउँ नफर्किएमा उनीहरुलाई मतदान गर्न पाउने व्यवस्था कसरी गर्ने भन्नेमा छलफल चलिरहेको छ।”
निर्वाचनको सुरक्षा व्यवस्थापनलाई चुस्त एवं सुदृढ पार्न सवारीसाधन नभएका प्रहरी कार्यालयमा सवारीसाधनसहितको व्यवस्था गर्न लागिएको छ। निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा व्यवस्थापनका अतिरिक्त बाजुरा, अछाम र डोटीलाई हेर्ने गरी वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गर्ने तयारी छ। यस्तै वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा दार्चुला, बैतडी र कञ्चनपुरका लागि छुट्टै तथा बझाङ, कैलाली र डडेलधुराका लागि छुट्टै टोली पनि परिचालन गर्ने तयारी गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभरि सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गर्न लागिएको छ। यसबाहेक सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ–आफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेका छन्। निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका ३०२ मतदानस्थललाई समान्य, ३९५ मतदानस्थललाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशील निर्वाचनस्थल तोकेर सुरक्षा व्यवस्थापन मिलाउन लागिएको छ। मतदाता प्रदेशका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन्।
विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ । कुल मतदाता १७ लाख १६ हजार ६६० छन्। थपिएका मतदातासहित कैलालीमा सबैभन्दा बढी पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ र अछाममा एक लाख ६५ हजार ३३७ मतदाता पुगेका छन्।
प्रतिनिधिसभाका कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई निर्वाचन क्षेत्र छन्। एक निर्वाचन क्षेत्र रहेको डडेलधुरामा ९३ हजार ४०३, बैतडीमा एक लाख ५६ हजार ३७२, दार्चुलामा ९२ हजार ९४८, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३ र बाजुरमा ८७ हजार ८६१ मतदाता पुगेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। तीन वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस आठ, तत्कालीन नागरिक उन्मुक्ति पार्टी तीन, नेकपा (एमाले) दुई, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन निर्वाचन क्षेत्रमा विजयी भएको थियो। जेनजी आन्दोलनपछिको नयाँ राजनैतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन विसंं २०८२ फागुन २१ गते हुन लागेको छ।