काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबको राजनीतिक यात्रालाई ऐलान, संकल्प र प्रतिबद्धतासहित अघि बढाउने बताएका छन्।

उनले देशमा अब हुने परिवर्तनलाई ‘घटना होइन, इतिहास’ को संज्ञा दिएका छन्। उनले उक्त इतिहास नेपाली जनताले आफ्नै हातले, आफ्नै मतपत्रमार्फत लेख्ने दाबी गरेका छन्। उनले आफू सिंहदरबार पुग्ने लक्ष्यमा नभई ‘सिंहदरबार बदल्ने’ अभियानमा रहेको स्पष्ट पारेका छन्।

“अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै देशभरका अदालत धाउनुपर्‍यो,” उनले उल्लेख गरेका छन्। यद्यपि आफू देशका कति ठाउँमा पुग्न सक्ने निश्चित नभए पनि बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने प्रयास रहने उनले बताए।

एकाध पुल, भवन वा सडकका तस्बिर देखाएर गरिने ‘कस्मेटिक सुधार’ मा आफ्नो रुचि नरहेको भन्दै उनले कुशासनको मुख्यालय बनेको सिंहदरबारबाटै ‘नीलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्यान्डेट आवश्यक रहेको बताएका छन्। वर्षौंअघि रोपिएको अस्थिरताको जरो नउखेलिएसम्म देशमा कुनै पनि वास्तविक परिवर्तन सम्भव नहुने उनको भनाइ छ।

उनले देश कुनै अमुक नेताले होइन, जनताले जोगाएको उल्लेख गर्दै जनताको ताकतकै बलमा मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र अर्थ-राजनीतिको नयाँ युग सुरु गर्न चाहेको बताएका छन्।