शैली

जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले १९ औँ शताब्दीको सुरुआतमा चलनमा ल्याएको नेपालको विशिष्टस्तरको खास्टो विश्वस्तरीय ब्रान्डिङको अभावमा ओझलमा

२४ माघ २०८२
अ+
अ-

मामाघरको स्मृति त्यसै प्यारो हुन्छ। सुरुचि खड्का त झन् राणा खलककी एक्ली भान्जी। महाराजगञ्जस्थित मामाघर पुगेका बेला त्यहाँ प्रयोग हुने कपडा उनलाई विशेष लाग्थ्यो। असाध्यै नरम ती कपडाले शरीरलाई सहज महसुस गराएको अनुभव हुन्थ्यो।

त्यसैले खड्काका लागि मामाघरको पहिलो सम्झना मलमलको न्यानो स्पर्श हो। बाल्यकालीन त्यही स्पर्शलाई उनले अहिले आफ्नो पहिचान बनाएकी छिन्। खड्काको मामाघरमा डम्बरकुमारीका कपडा प्रयोग हुन्थे। विगत ६ वर्षदेखि ‘आमाज क्रिएसन्स’बाट उनी त्यही ब्रान्डलाई नयाँ पुस्तामाझ विस्तार गर्न सक्रिय छिन्। उनको यो व्यवसायमा स्मृति र अपनत्व गाँसिएको छ।

“माइजूले आफैँ डम्बरकुमारीका कपडा सिलाइदिनुहुन्थ्यो, जसका कारण मैले सानैदेखि राम्रो मलमल चिन्न सिकेँ,” खड्का भन्छिन्, “डम्बरकुमारी मेरा लागि केवल ब्रान्ड वा कपडाको नाम होइन। यससँग मेरो बाल्यकाल, परिवार र अनुभव गहिरो रूपमा जोडिएको छ।”

डम्बरकुमारी नाम पनि हो र ब्रान्ड पनि। खड्काका शब्दमा, “डम्बरकुमारी सूती–मलमलमा परम्परागत विधिबाट छाप लगाई तयारी पारिने तीन तहको लुगा हो।”

यसमा बीचको छापिएको छिपुवा तहको तल र माथि दुई तह हुन्छन्। नेपालमा यो विधि जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले भित्र्याएकाले उनकै नाम ब्रान्ड बनेको हो। उन्नाइसौँ शताब्दीमा उनले सुरु गरेको खास्टो ‘डम्बरकुमारीको खास्टो’को नामले प्रचलित भयो।

डम्बरकुमारीका उत्पादनहरू। तस्बिर स्रोत : ‘गर्भ’को सामाजिक सञ्जाल

दरबारिया पृष्ठभूमिबाट सुरु भएको डम्बरकुमारी बिस्तारै घरघरको पोसाक बन्यो। २०२१ सालमा जन्मिएका उद्यमी सुरेश रिमालका अनुसार, डम्बरकुमारी राणाकालमा औपचारिक पहिरनकै रूपमा प्रयोग हुन्थ्यो।

डम्बरकुमारीको जीवनबारे सीमित जानकारी उपलब्ध छन्। तीमध्ये जंगबहादुरकी अर्की छोरी विष्णु दिव्येश्वरी देवीको बनारसका महाराजा प्रभुनारायण सिंहसँग विवाह भएपश्चात् उनी पनि बनारस पुगेको देखिन्छ।

राणाले आफ्नो ब्लगमा लेखेका छन्, “बनारस पुगेकी डम्बरकुमारीलाई कपासको कपडामा ब्लक प्रिन्ट गर्ने प्राचीन भारतीय कलाले नेपाल बिर्सिने गरी आकर्षित गरेको थियो।”

सुबोध राणाका अनुसार, बुद्धकालदेखि नै भारतबाट बेबीलोनसम्म ब्लक प्रिन्ट गरिएको कपासको व्यापार चलिरहेको थियो। तत्कालीन वाराणसी ब्लक प्रिन्टका लागि प्रसिद्ध केन्द्र थियो, जहाँ ‘ट्री अफ लाइफ’ (जीवन वृक्ष) जस्ता डिजाइनहरू प्रयोग हुन्थे। उत्कृष्ट रूपमा कुँदिएका काठ र धातुका ब्लक प्रयोग गरिने प्रिन्ट अत्यन्त सूक्ष्म र सुन्दर हुन्थ्यो। एउटा ‘ट्री अफ लाइफ ढाँचामा’ सयभन्दा बढी ब्लक प्रयोग गरिन्थे।

राणाले आफ्नो ब्लगमा लेखेका छन्, “बनारस पुगेकी डम्बरकुमारीलाई कपासको कपडामा ब्लक प्रिन्ट गर्ने प्राचीन भारतीय कलाले नेपाल बिर्सिने गरी आकर्षित गरेको थियो।”

जंगबहादुरको भरमग्दुर प्रयासले पनि बनारसमा रत्तिएकी डम्बरकुमारीलाई फर्काउन सकेको थिएन। भनिन्छ, जंगबहादुरकी प्रिय पत्नी पुतली महारानीले व्यक्तिगत पत्रमार्फत चाहेको काम गर्न पाउने आश्वसन दिएपछि बल्ल डम्बरकुमारी काठमाडौँ फर्केकी हुन्।

जंगबहादुरको पारिवारिक तस्बिरमा डम्बरकुमारी (सेतो घेराभित्र)। तस्बिर स्रोत : सुनील उलकको सामाजिक सञ्जाल

यसपछि उनले सुरु गरेको प्रिन्टसहितको सुन्दर खास्टो तयार पार्ने घरेलु उद्योग कालान्तरमा लोकप्रिय नेपाली ब्रान्ड बन्यो। सुरुमा दरबारभित्रका पुस्तालाई आकर्षित गरेको डम्बरकुमारी खास्टोले अहिले देशभित्र र विदेशमा रहेका नयाँ पुस्तासम्मलाई लोभ्याएको छ।

राणाशासनपछिको समयमा राजपरिवारमा समेत डम्बरकुमारीको माग थियो। चार दशकअघि बुटवलमा डम्बरकुमारी प्रिन्ट छाप्ने कारखाना सञ्चालन गरेका मोबिन खानका नाति आदिल खान पछिसम्म राजपरिवारका मानिसले डम्बरकुमारी प्रयोग गरेको बताउँछन्। उनी भन्छन्, “हामीले प्रिन्ट गरेका कपडा राजा वीरेन्द्रले समेत लगाउनुभएको थियो।”

डम्बरकुमारीको खास्टोसँग एउटा प्रेमकथासमेत जोडिएको छ, जसबारे उलकले ‘नेपालको पहिलो फेसन डिजाइनर डम्बरकुमारी’ शीर्षकको लेखमा चर्चा गरेका छन्– शहीद दशरथचन्द र जुलियाको प्रेमकथा।

डम्बरकुमारीले नेपाल फर्केपछि बुबा जंगबहादुरलाई पहिराइदिएको टोपीको सुधारिएको रूप नै आजको प्रचलित ढाका टोपी भएको इतिहास संकलक सुनिल उलकले लेखेका छन् । ब्लक प्रिन्ट गरेको कपडामा नेपालको चिसो मौसमलाई सुहाउँदो मलमलको खोल राखेर उनले न्यानोपन थपिन्।

डम्बरकुमारीको खास्टोसँग एउटा प्रेमकथासमेत जोडिएको छ, जसबारे उलकले ‘नेपालको पहिलो फेसन डिजाइनर डम्बरकुमारी’ शीर्षकको लेखमा चर्चा गरेका छन्– शहीद दशरथचन्द र जुलियाको प्रेमकथा। शहीद दशरथचन्दका तस्बिरहरूमा उनले ओढेको खास्टो सम्झनूस् त। त्यो डम्बरकुमारी खास्टो हो। उलकका अनुसार, शोभाभगवतीमा देशको स्वतन्त्रताका खातिर गोली थापेर आहुति दिने क्षणमा पनि उनले यही खास्टो ओढेका थिए। यो खास्टो उनको प्रेमिका जुलिया मैयाँ साहेबले उपहारस्वरूप दिएकी थिइन्। तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेर राणाकी छोरी जुलिया मैयाँ र दशरथचन्दबीचको प्रेम सम्बन्धले उनीहरूको परिवारबाट विवाहको स्वीकृति पनि पाइसकेको थियो। विवाहको तयारी भइरहँदा पारिवारिक जुठो परेका कारण निर्धारित मिति सरेको थियो।

दशरथचन्द र उनकी प्रेमिका जुलिया मैयाँ।

“विवाहको मिति एक वर्ष पछि सरेकै समयमा तत्कालीन श्री ३ जुद्धशमशेरले वीरशमशेरको ल्याइतेतर्फबाट जन्मिएका छोरा रुद्रशमशेरलाई रोलक्रमबाट हटाइ सर्वस्वहरणसहित पाल्पा निष्कासन गराइयो,” उलक लेख्छन्, “जसले गर्दा जुलिया मैयाँ साहेब पनि पाल्पा पुगिन् । जुलिया मैयाँ साहेवको अचानक उतै क्षयरोगका कारण निधन भयो।”

प्रेमिकाको मृत्युपछि शोकमा डुबेका दशरथचन्दले न अर्को विवाह गरे, न जुलिया मैयाँले दिएको खास्टो फुकाए ।

काठमाडौँका सर्वसाधारणसम्म फैलिए पनि डम्बरकुमारीका उत्पादन बीचको अवधिमा ओझेलमा पर्यो।

२०४६ देखि ‘नेपाल गृहिणी उद्योग’ सुरु गरेका सुरेश रिमाल काठमाडौँमा डम्बरकुमारीका कपडा बेच्ने पुराना व्यवसायीमध्ये एक हुन्। मैतीदेवीस्थित उनले सञ्चालन गर्ने पसल ‘शिशु’मा नवजात शिशु तथा सुत्केरी आमाका लागि तयारी पोसाक पाइन्छ। उनी आफ्नै घरभित्रको उदाहरण दिन्छन्, “हाम्रो घरमा आमाहरूले तीन तहको डम्बरकुमारीका छिपुवा लगाउनु हुन्थ्यो। काठमाडौँभित्रका धेरै पुराना बासिन्दालाई यसको चलन राम्रोसँग थाहा छ।”

खास्टोबाहेक डम्बरकुमारीका सिरक, डस्नासम्म यहाँका घरघरमा प्रयोग हुन्थे। काठमाडौँका सर्वसाधारणसम्म फैलिए पनि डम्बरकुमारीका उत्पादन बीचको अवधिमा ओझेलमा पर्यो। रिमाल काठमाडौँमा विदेशी तयारी पोसाक भित्रिनु र हालते सिलाइएका कपडा लगाउने चलन हराउनु नै यसको मुख्य कारण मान्छन्।

उनी भन्छन्, “तर पछिल्लो समय खास गरी कोभिडपछिको समयमा डम्बरकुमारी ब्रान्ड खोज्ने क्रम फेरि बढेको छ।”

उनले भनेजस्तै आमाज क्रिएसन, शिशुबाहेक डम्बरकुमारीको उत्पादन र बिक्री गर्नेहरूमा सन्दुक, मायु त्रिएटिभ्स, रत्न क्विल्ट, टुकुटुकु, कोक्रोमालगायत नाम जोडिएका छन्। यिनले खास्टो, बच्चाका पोसाक, मलमल सल, बेडसिट, गाउन, बेडसिट, मास्क, सिरक, डस्ना, ब्लयाङ्केट, चौबन्दी, भोटो, सुरुवाललगायत बनाउँछन्। यी उत्पादनमा अधिकांश महिला व्यवसायी र कामदारको सहभागिता देखिन्छ।

मैतीदेवीस्थित ‘शिशु’को पसल।

आमाज क्रिएसनकी खड्का डम्बरकुमारीको तीन तहको संरचनालाई यसको विशेषता मान्छिन्। शरीरको तापक्रम र वातावरणबीच सन्तुलन राख्न मद्दत गर्ने भएकाले यसले श्वास फेर्नसमेत सहज बनाउने उनको भनाइ छ।

स्वास्थ्यकर्मीसमेत रहेकी खड्का आफूले २०६८ मा सुरुचि होम केयर सेवा सुरु गर्दा दश जना बिरामीमा डम्बरकुमारीको तन्ना र गाउन प्रयोग गरेर परीक्षण गरेको बताउँछिन्। भन्छिन्, “त्यसक्रममा पसिना कम जम्ने, छालासम्बन्धी समस्या घट्ने, शरीरको थकान कम हुने र श्वासप्रश्वासमा सहजता आउने स्पष्ट देखियो।”

उनी डम्बरकुमारीलाई स्वास्थ्यमैत्री कपडा भन्छिन्। आमाज क्रिएसनका उत्पादनहरू विशेष गरी नवजात शिशु, गर्भवती तथा नयाँ आमा र संवेदनशील छाला भएका व्यक्ति लक्षित भएकाले पनि डम्बरकुमारीको उपयोगिता र सान्दर्भिकता बढी देख्छिन् उनी।

बाथको समस्या झेलिरहेकी पुतली महारानीलाई कुनै बेला बनारसबाट उपहार आएको गाढा प्रिन्ट भएको कपासको न्यानो र नरम खास्टो मन परेको थियो।

खड्काले भनेजस्तै डम्बरकुमारीले नेपाली परिवेशअनुसारको खास्टो बनाएकी थिइन्। त्यसबेला काठमाडौँमा अहिलेभन्दा निकै कडा जाडो हुन्थ्यो। घर तताउन मकलका कोइला प्रयोग गरिन्थ्यो। सुबोध राणाका अनुसार, राणा दरबारहरूमा युरोपबाट ल्याइएको फायरप्लेसको प्रयोग हुन्थ्यो। बाथको समस्या झेलिरहेकी पुतली महारानीलाई कुनै बेला बनारसबाट उपहार आएको गाढा प्रिन्ट भएको कपासको न्यानो र नरम खास्टो मन परेको थियो।

बजारमा हाल परम्परागत र आधुनिक गरी दुई खालका डम्बरकुमारीका उत्पादन उपलब्ध छन्। आफूले परम्परागत शैलीलाई निरन्तरता दिएको बताउने रिमाल भन्छन्, “मैले सुरु गर्ने बेला डम्बरकुमारी बेच्ने एकाध अपवाद पनि थिए कि थिएनन्। अहिले संख्या बढ्दै जाँदा बजारमा डिजाइनदेखि गुणस्तरसम्म विविधता थपिएको छ।”

विशुद्ध सूतीका कपडाबाहेक मिसावट भएका डम्बरकुमारी बढी चम्किलो देखिने र सस्तो पनि हुन्छन्। जसलाई उनी वास्तविक डम्बरकुमारी नभएर ‘डम्बरकुमारीको स्टाइल’ मात्र मान्छन्।

डम्बरकुमारीमा छापिने डिजाइनहरू पहिला हातले ब्लक प्रिन्ट गरेर बनाइन्थ्यो। पहिलाको ब्लक प्रिन्ट र हातबाट तयार हुने छाप अहिले प्रविधिको पहुँचसँगै मेसिनबाट छापिन थालेका छन्। आदिल खान आफ्नो परिवारले पुरानो विधिलाई अझै नछोडेको बताउँछन्। बजारमा संख्यात्मक वृद्धि भएसँगै नक्कली उत्पादन बढे पनि डम्बरकुमारीको वास्तविक मूल्य यसको गुणस्तर, स्वास्थ्य र ऐतिहासिक विरासतमा रहेको खड्का बताउँछिन्।

राज्य र निजीस्तरले थोरै मात्र पहल र लगानी बढाए डम्बरकुमारी देशभित्र मात्रै नभई विदेशमा समेत फैलिने उनको विश्वास छ।

डम्बरकुमारी एकपटक प्रयोग गरेपछि ग्राहकले फेरि फेरि खोज्न आउने रिमाल र खड्का दुवैको भनाइ छ। उनीहरूका अनुसार, गर्भवती हुँदा होस् वा बच्चा जन्मेपछि, चिसोमा होस् वा गर्मीमा, आफैँले प्रयोग गर्न होस् वा कसैलाई उपहार दिन धेरैको पहिलो रोजाइमा पर्छ डम्बरकुमारीका उत्पादनहरू। खड्का आफ्ना उत्पादन नेपालबाहिर अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान र बेलायतसम्म निर्यात भइरहेको बताउँछिन्।

प्रदर्शनीमा राखिएका आमाज क्रियशनका उत्पादनहरू। तस्बिर : आमाज क्रियशन

झन्डै चार दशक पहिरन उद्योगसँग जोडिएका रिमालले डम्बरकुमारीका उत्पादनको बजार घटेको महसुस गर्नुपरेको छैन। राज्य र निजीस्तरले थोरै मात्र पहल र लगानी बढाए डम्बरकुमारी देशभित्र मात्रै नभई विदेशमा समेत फैलिने उनको विश्वास छ। महिला उद्यमीका रूपमा अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितेकी खड्का आफ्नो लक्ष्य नै डम्बरकुमारी ब्रान्डलाई विदेशमा फैलाउनु रहेको बताउँछिन्।

नेपालकै पुरानो ब्रान्ड डम्बरकुमारी देश विदेशमा जति फैलिन्छ, यससँग जोडिएका रोचक कथा र इतिहासका पत्रहरूको थप उत्खनन् हुने सम्भावना बढ्दै जानेछ।