काठमाडौँ। यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरेका थिए।
A
प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको थियो। प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष विधाको २१ किमी दूरीको हाफ म्याराथन भयो। म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई आजै क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ।
हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला र पुरुष दुवै विधाका खेलाडीलाई जनही क्रमशः एक लाख, ७५ हजार र ५० हजार प्रदान गरिनेछ। सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय कार्यरत कर्मचारी, सेनाका अवकाश प्राप्त तथा सेवारत सकल दर्जा र गैरसैनिकका कक्षा १० देखि १२ मा अध्ययनरत सन्तानको सहभागितामा १० किमी दूरीको दौड आयोजना भयो।
पाँच किमी दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देललगायत सैनिक तथा गैरसनिक व्यक्ति सहभागी भए। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्रा सम्मिलित पाँच किमी दूरीको दौड पूरा गरे।
दश किमी र पाँच किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद प्रदान गरिने छ । विसं २०७२ देखि प्रत्येक वर्ष महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजना हुँदै आएको यस ११ संस्करणको प्रतियोगितामा विभिन्न पाँच विधामा करिब दुई हजार ५ सय धावकको सहभागिता थियो। यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ।