काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

जङ्गलमा आगो लाग्न एउटा झिल्को नै पर्याप्त हुन्छ। सामाजिक सञ्जाल प्रतिबन्धले जेन जीमा सरकारप्रति निराशा, असन्तोष र खिन्नता फैलाउने झिल्कोको काम गरेको छ।

२३ भाद्र २०८२
अ+
अ-

हामी सडकमा उत्रिन रुचाउने पुस्ता होइनौं।

हाम्रो पुस्ताले धेरै आन्दोलन देख्यो, तोडफोड देख्यो, आन्दोलनले यातायात सेवा अस्तव्यस्त भएको देख्यो। 

म त अझै माइतीघरमै रहेको कलेजमै पढेको। माइतीघर मण्डलमा सधै‌ं विरोध, आन्दोलन, असन्तुष्टिलाई नजिकैबाट नियालेकी छु। 

हाम्रो पुस्तालाई यी आन्दोलनसँग लगाव छैन। हामी वाक्कदिक्क भएका छौं।  प्रदर्शन, आन्दोलन नै आन्दोलन, चक्का जाम, इत्यादिको बिकराल यथार्थबाट। 

नेपाली युवा प्रायः राजनीतिक मामिलामा उदासीन देखिन्छन्। खासगरी जेन जी पुस्तामाथि राजनीति वा देशको गतिविधिमा ध्यान नदिएको भन्ने आरोप पनि लाग्छ। युवा कुनै पनि हालतमा देश छोड्न इच्छुक छन् भन्ने तर्क छ। कतिपयले युवालाई तर्कहीन, गैरजिम्मेवार र जवाफदेही नभएको बताउँछन्। उनीहरू प्रायः केवल आफ्नै संसारमा सीमित देखिन्छन् भनेर टिप्पणी गरिन्छ।

तर, आज सेप्टेम्बर ८ मा हाम्रो पुस्ता अर्थात् ‘जेन जी’ पुस्ता सडकमा ओर्लिएको छ। 

आन्दोलन नेपालका लागि नयाँ कुरा होइन। तर आजको आन्दोलन देशका युवाहरूको आक्रोश र असन्तुष्टिको प्रतीक हो, जुन बिरलै देख्न पाइन्थ्यो।

अघिल्ला आन्दोलनहरूको तुलनामा जेन जी आन्दोलन फरक छ। पहिलेका आन्दोलनहरू प्रायः राजनीतिक दलको नेतृत्वमा हुन्थे, अहिलेको आन्दोलन स्वतन्त्र, स्वतःस्फूर्त र डिजिटल माध्यमले सञ्चालित छ। युवा स्वयं आफ्नो चेतना र असन्तोष अभिव्यक्त गर्न सक्षम छन्। सामाजिक सञ्जालको माध्यमबाट उनीहरूले आफ्नो विचार मात्र होइन, अधिकारको माग जनतासामु फैलाउन सक्षम भएका छन्।

तर, आज जेन जी पुस्ताको आह्वानमा माइतीघर मण्डलमा भेला भएका हजार युवा अनुहारले सायद ठीक विपरितको सत्य देखाउँछ।

किन युवा यसरी सडकमा उत्रिन बाध्य भए त?

टिकटकमा केही समयअघिदेखि एउटा ट्रेन्ड चलिरहेको थियो — नेपो बेबी ट्रेन्ड। देशका नेताहरूका छोर छोरीले लाखौँको डिजाइनर सामान बोकेको, देश–विदेश घुमेका तस्वीरहरू माथि गम्भीर आपत्ति भैरहेको थियो।

आमनेपाली सम्मानजनक जीवन बिताउन संघर्ष गरिरहेका बेला यी नेपो बेबीहरू करदाताको पैसाबाट विलासी जीवनशैली प्रदर्शन गर्छन् भन्ने भन्दै टिकटकभर व्यापक भ्रष्टाचारविराेधी अभियान चलिरहेको थियो।

यो ट्रेन्ड आगोजस्तै फैलिरहेका बेला सरकारले दर्ता नगरेको भन्दै २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो।

जेन जीले यसलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रता र अधिकारको प्रत्यक्ष उल्लङ्घनको रूपमा हेर्छन्। मेसेन्जर, व्हाट्सएप, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द हुँदा युवाले यही सामाजिक सञ्जालमार्फतै विशाल विरोधको आव्हान गरेका छन्।

जेन जी वा जेनेरेशन जेड, ती हुन् जो करिब १९९७ देखि २०१२ सम्म जन्मिए। पहिलो वास्तविक “डिजिटल नेटिभ” पुस्ताको रूपमा, उनीहरू इन्टरनेट, सामाजिक संजाल, र स्मार्टफोनले परिभाषित गरिएको संसारमा हुर्किएका छन्, जसले उनीहरूको पहिचान र दृष्टिकोणमा महत्वपूर्ण प्रभाव पारेको छ।

दैनिक जीवनका लागि अत्यावश्यक इन्टरनेट जेन जीका लागि सामाजिक हुन मात्र होइन, समाचार र मनोरञ्जन पाउने ठाउँ, व्यापार गर्ने ठाउँ—सबैथोक हो। चित्त नबुझेका कुरा भन्न भिडियो बनाउने, मीम सिर्जना गर्नेलगायतका सबै काम जेन जी इन्टरनेटमै गर्थे। इन्टरनेट मनोरञ्जनको माध्यम मात्र नभई उनीहरूको सामाजिक, शैक्षिक र व्यवसायिक जीवनको आधार पनि हो। साथीहरूसँगको सम्बन्ध राख्नु, सूचना पाउनु र विचार व्यक्त गर्नु—सबै इन्टरनेटमा आधारित छ। त्यसैले सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नु उनीहरूको दैनिक जीवनमा ठूलो चुनौतीको रूपमा आएको छ।

इन्टरनेट जेन जीका लागि ताजा हावाजस्तै रहेको समयमा सरकारले उनीहरूको निराशा व्यक्त गर्ने एक मात्र माध्यमलाई नियन्त्रणमा लियो।

जङ्गलमा आगो लाग्न एउटा झिल्को नै पर्याप्त हुन्छ। सामाजिक सञ्जाल प्रतिबन्धले जेन जीमा सरकारप्रति निराशा, असन्तोष र खिन्नता फैलाउने झिल्कोको काम गरेको छ।

युवा पुस्ता सरकारप्रति असन्तुष्ट भएको यो अचानक होइन। साना–साना किसिमका प्रतिरोध र विरोध भैरहेका थिए। तर जेन जी आजको रुप देखिनुमा सामाजिक सञ्जालको ठूलो हात छ।

ट्रेन्डकै रूपमा भए पनि सरकारको कुकाम, जवाफदेहीताको कमी, भ्रष्टाचार—यी सबै जेन जीले थाहा पाइरहेका थिए ।  उनीहरूले आफ्नै जेन जी तरिकाले असन्तुष्टिलाई बढावा दिइरहेका थिए। 

नेताहरूले बारम्बार जेन जीले विश्वास गर्न र भर पर्न सक्ने प्रणाली प्रदान गर्न असफल भएका छन्। सरकारले जेन जीलाई अझ निराश पार्न कुनै कसर बाँकी राखेको छैन।

हुन त यो जेन जीको मात्र समस्या नभई सम्पूर्ण देशवासीको सामूहिक चित्कार हो। सरकारको जवाफदेहिता अभावले देश दुखी छ। राजनीतिकर्मीको भ्रष्टाचार काण्डले देश घाइते भएको छ।

बुझ्नुपर्ने के भने जेन जीलाई मिलेनियल्स वा बूमरजस्ता सहनशील हुन सिकाइएको छैन। जन्मेदेखि नै जेन जी आफ्नो हक र अधिकारका लागि लड्ने पुस्ता हो।

सामाजिक सञ्जालमा प्रतिबन्धका कारण सम्पर्कविहीन भएका कयौं वृद्धवृद्धा असहाय छन्। तर भीपीएन डाउनलोड गरेर यो प्रतिबन्ध बाइपास गर्न सक्ने जेन जी पुस्ता निरीह छैन।

जेन जीको आन्दोलन केवल डिजिटल ट्रेन्ड मात्र होइन। यो सरकारप्रति विश्वास नहुने, जवाफदेही नहुँने र राजनीतिक नेतृत्वमा असन्तोष बढेको स्पष्ट संकेत हो। यदि सरकारले समयमै जवाफदेही र पारदर्शिता देखाएको भए यस्तो विशाल विरोध सम्भव थिएन।

जेन जीको सडक प्रदर्शन फगत एक घटना मात्र होइन। यो भविष्यका नेता, नागरिक र सामाजिक परिवर्तनकर्मी बन्ने पुस्ताले आफ्नो हक र अधिकारका लागि कति सजग छन् भन्ने संकेत हो। यो आन्दोलनले देशको लोकतान्त्रिक प्रक्रिया, जवाफदेही र नागरिक सहभागिताको महत्वलाई पुनः उजागर गरेको छ।