सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। वीरेन्द्रनगरमा शनिबार भएको साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहभागी बने।
साधारणसभाले चालु आवका प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम‚ वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ। सुर्खेतलाई व्यावसायिक हबका रूपमा विकास गर्ने‚ आर्थिक लचकता र लगानी प्रवर्द्धनमा सहकार्य गर्ने‚ पूर्वाधार विकासमा जोड दिने‚ दक्ष जनशक्ति विकाससँगै उनीहरूको व्यवस्थापन गर्ने‚ व्यवसायीको हितका लागि नीतिगत पैरवी गर्नेलगायत कार्यक्रम साधारणसभामा प्रस्ताव गरिएको थियो।
संघका महासचिव रामप्रसाद जैशीले प्रस्ताव गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण खत्री देवकोटाले प्रस्ताव गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ। साधारणसभाका अवसरमा पूर्वसमिति‚ कर्मचारी‚ पत्रकारलाई सम्मान गर्नुका साथै समीक्षा स्मृति छात्रवृत्ति प्रदान गरिएको छ।
साधारणसभामा महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोभिडका कारण चुनौती खेपिरहेको व्यवसायीहरूलाई जेन-जी आन्दोलनबाट अरू चुनौती थपिएको बताए। “पछिल्लोपटक भएको जेन-जी आन्दोलनले देशमा अनिश्चितता पैदा भएको छ। यसको मारमा हामी व्यवसायी पनि परेका छौं‚” उनले भने।
श्रेष्ठले हाल व्यवसायीहरूले असुरक्षाको महसुस गरिरहेको बताए। शान्ति सुरक्षाको अभाव हुँदा व्यवसायीले लगानी गर्ने वातावरण नबन्ने हुँदा यसमा राज्यले ध्यान दिनुपर्ने उनले बताए। आसन्न निर्वाचनका लागि होमिएको राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रको मनोबल वृद्धि गर्ने एजेन्डा ल्याउनुपर्नेमा जोड दिए। “८१ प्रतिशत अर्थतन्त्र र ८७ प्रतिशत रोजगारीमा योगदान गरेको नेपालको निजी क्षेत्रलाई राज्य र नीति-निर्माताले प्रोत्साहन गर्नुपर्छ‚ यसमा ध्यान जाओस्‚” श्रेष्ठले भने।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले निजी क्षेत्रले राज्यसँग गरेको मागको उचित सम्बोधन हुन नसकेको बताए। सरकारी नीति‚ कार्यक्रम र बजेटमा निजी क्षेत्रलाइ समेटिए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउन राज्यका निकायबाट निर्वाह गर्नुपर्ने भूमिका कमजोर हुन नहुने बताए। निजी क्षेत्रले पनि राज्यको सबै नीति र नियमहरुको पालना गर्नुपर्ने उनले बताए।
साधारणसभामा उद्योग वाणिज्य महासंघका विभिन्न प्रदेशका अध्यक्ष‚ सम्बन्धित विषयगत क्षेत्रका समितिका पदाधिकारी तथा प्रतिनिधि‚ सुर्खेतस्थित उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा पदाधिकारी‚ सदस्यलगायतको सहभागिता थियो।