काठमाडौं। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ।
बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो।
बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो।
गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए।
अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति इश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।