काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

राजनीति

२५ माघ २०८२
कोसी प्रदेश सभाको अस्थायी भवन वीरेन्द्र सभा गृह। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। कोसी प्रदेश सभाको दोस्रो कार्यकालको आठौँ (हिउँदे) अधिवेशन सुरु भएको छ।

आफ्नै भौतिक संरचना निर्माण पूरा नभएकाले भाडाको भवनमा आइतबारबाट अधिवेशन सुरु भएको हो। गत २३ र २४ भदौको ‘जेन-जी’ आन्दोलनका क्रममा केही संरचनामा क्षति पुगेका कारण प्रदेश सभा बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने गरी सञ्चालन गरिएको हो।

लामो अन्तरालपछि सुरु भएको अधिवेशनको पहिलो दिनमै सत्तापक्ष र प्रतिपक्षबीच सुशासन, हालैको राजनीतिक अस्थिरता र सडक विद्रोहलगायत विषयमा चर्काचर्की भएको छ।

बैठकको प्रारम्भमा सभामुख अम्बरबहादुर विष्टले आन्दोलनका क्रममा भएका भौतिक क्षति र ऐतिहासिक संरचनामा पुगेको आँचप्रति दुःख व्यक्त गरे। उनले राज्य सञ्चालनमा सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई मूल मन्त्र बनाउनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूलाई जनभावना बुझेर अघि बढ्न आग्रह गरे।

सरकारको कार्यशैलीमाथि आङ्बोको प्रहार
प्रमुख प्रतिपक्षी ‘नेपाली कम्युनिस्ट पार्टी’ का नेता इन्द्रबहादुर आङ्बोले सरकारको कार्यशैलीमाथि कडा प्रहार गरे। उनले हिजोका गलत प्रवृत्तिलाई ढाकछोप गर्ने समय अब नरहेको भन्दै चेतावनी दिए।

प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बो।

“हालैको आन्दोलनमा बालबालिकासहित ७६ जनाको ज्यान जानु र ८४ अर्बभन्दा बढीको भौतिक क्षति हुनुमा राज्यको अकर्मण्यता र सत्तासीन दलको दम्भ जिम्मेवार छ,” नेता आङ्बोले भने, “सिंहदरबार र संसद् भवन जल्ने स्थिति आउनु र प्रधानमन्त्रीले समेत असुरक्षित महसुस गर्नु सामान्य कुरा होइन। दुई ठुला दलको अहंकारले लोकतन्त्रलाई नै संकटमा पारेको छ।” उनले प्रदेशका विभिन्न मन्त्रालयमा भएका आर्थिक अनियमितता र घटनाबारे मुख्यमन्त्रीको जवाफसमेत माग गरे।

प्रतिपक्षको आरोपको प्रतिवाद गर्दै सत्ता साझेदार नेकपा एमालेका संसदीय दलका उपनेता तीलकुमार मेन्याङ्बोले मुलुकमा बाह्य शक्तिको चलखेल बढेको दाबी गरे। उनले हालैका घटनाक्रमतर्फ संकेत गर्दै नेपाललाई ‘युक्रेन’ बनाउने षड्यन्त्र भइरहेको र त्यसलाई चिर्न कांग्रेस-एमाले मिल्नुको विकल्प नरहेको जिकिर गरे।

प्रदेश सभा बैठकमा सहभागी हुँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की।

“अहिलेको सरकार राष्ट्रियताको रक्षाका लागि बनेको हो,” मेन्याङ्बोले भने, “फ्री तिब्बत अभियन्ताको काठमाडौँ अवतरण र बाह्य मिडियामा आएका लेखहरूले नेपाललाई भू-राजनीतिक भूमरीमा फसाउन खोजिएको स्पष्ट पार्छ। यस्तो बेला आन्तरिक विरोधमा अल्झिनु राष्ट्रघाती कदम हुन सक्छ।”

सत्तारुढ नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले भने संयमित भएर निकास पहिल्याउनुपर्नेमा जोड दिए। उनले सत्ता र प्रतिपक्ष दुवैलाई जिम्मेवार बन्न आग्रह गर्दै सुशासनका सवालमा प्रतिपक्षले उठाएका जायज माग सम्बोधन हुनुपर्ने धारणा राखे।

कोसी प्रदेश सभा बैठकमा सहभागी सांसद।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रेमराज थाम्सुहाङले वर्तमान व्यवस्थाप्रतिको वितृष्णाले सडकमा विद्रोह निम्त्याएको बताउँदै देशलाई साझा अभिभावकका रूपमा राजसंस्थाको आवश्यकता रहेको दाबी गरे। उनले राष्ट्रिय सभा निर्वाचनका क्रममा आफू काठमाडौँमा रहेका बेला विराटनगरमा आफ्नो नामबाट ‘नक्कली मतदान’ भएको भन्दै गम्भीर आपत्ति जनाए। एउटा पदका लागि यतिसम्मको हर्कत हुनु लोकतन्त्रको उपहास भएको उनको टिप्पणी थियो।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी’ को उदय र जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पढेर सुनाइएको थियो। यस्तै राप्रपा सांसद भक्तप्रसाद सिटौलाको राजीनामा स्वीकृत भएको र मन्त्रिपरिषद् विस्तारको पत्रसमेत सदनमा जानकारी गराइयो।