काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको पराजयले आफूलाई खिन्न बनाएको भए पनि टोलीको प्रदर्शनप्रति गर्व महसुस गरेको बताएका छन्।

आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएको थियो।

१८५ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र जोड्न सक्यो। झिनो अन्तरको हारपछि कप्तान रोहितले इंग्ल्यान्डविरुद्ध नेपाली टोलीको प्रदर्शन प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘पराजयका कारण निराश छु, तर टिमले देखाएको खेलले मलाई गर्व गराएको छ। इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्ध सबै खेलाडीले आफ्नो क्षमताको पूरा उपयोग गरे। हामी यहाँ केवल सहभागिताका लागि आएका होइनौँ भन्ने आत्मविश्वास थियो।’

उनले थपे, ‘यदि हामीले आफ्नो प्राकृतिक शैलीमा क्रिकेट खेल्न सकेँ भने, कुनै पनि टोलीलाई पराजित गर्न सक्छौँ।’