काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

अर्थतन्त्र

नेपाली बजारमा कफीको औसत माग वार्षिक ६ लाख ८१ हजार किलो, औसत उत्पादन चार लाख ४१ हजार केजी

२७ माघ २०८२
अ+
अ-

‘ब्ल्याक कि मिल्क?’

कफीको कुरामा सहरी क्षेत्रको नेपाली समाज एक दशकअघिसम्म यही प्रश्नमा सीमित थियो। पछिल्ला वर्षहरूमा सहरबजारको जनजीवनमा कफी-संस्कृति यति गहिरिइसक्यो, अमेरिकानो कि क्यापुचिनो वा लाते भन्ने विशिष्ट रोजाइमा पारखीहरू फैलिएका छन्। र, यस्तो कफी-संस्कृतिले कफीको माग र बजारलाई आकार दिइरहेको छ।

कफी पारखीहरू बढेसँगै आन्तरिक उत्पादनले नधान्दा बर्सेनि करोडौँ रुपैयाँको कफी आयात हुँदै आएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा १४ करोड ४१ लाख रुपैयाँ बराबरको दुई लाख तीन हजार किलो कफी भित्रिएको भन्सार विभागको तथ्यांक छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल आन्तरिक उत्पादन कम भएकाले नेपाल कफीमा आयात-निर्भर रहेको बताउँछन्। “कफी पिउने चलन ह्वात्तै बढेकाले माग धान्न आयात गर्नुको विकल्प छैन,” उनी भन्छन्।

फल लागेको कफी । तस्बिर : राष्ट्रिय चिया तथा कफी विकास बोर्डको फेसबुक

सन् १९९९ मा हिमालयन जाभाले विशिष्टीकृत रूपमा काठमाडौँमा खोलेको ‘कफी सप’ लाई नेपालकै पहिलो कफी पसल मानिन्छ। उक्त समयलाई आधार मान्दा व्यावसायिक रूपमा आममानिससँग कफी जोडिएको साढे दुई दशक नाघिसकेको छ। यसबीचमा काठमाडौँका चोक र गल्लीहरूमा कफी सप थपिइरहेका छन् भने रेस्टुराँहरूमा कफी अभिन्न मेन्यु बनिसकेको छ। एक दशकयता काठमाडौँबाहिरका बजार क्षेत्रमा कफी-संस्कृति विस्तार भइरहेको छ।

नेपालमै प्रशस्त उत्पादन हुने भएकाले चियाको आयात परिमाण सानो भएको हो।

क्याफिनयुक्त पेय पदार्थमध्ये विश्वमा चियापछिको सर्वाधिक लोकप्रिय पेय कफीलाई मानिन्छ। कफीमा पाइने गुणका कारण यो लोकप्रिय बनेको चिया तथा कफी विकास बोर्डका निर्देशक खनाल बताउँछन्। भन्छन्, “कफीमा पाइने क्याफिनले स्फूर्ति ल्याउने, मानसिक र शारीरिक थकान मेट्ने, अल्छीपन र निद्रा भगाउने भएकाले पछिल्लो समय कफी पारखीहरू बढेका हुन्।”

कफीको तुलनामा नेपालमा चियाको आयात भने कम छ। नेपालमै प्रशस्त उत्पादन हुने भएकाले चियाको आयात परिमाण सानो भएको हो। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नौ करोड रुपैयाँ बराबरको एक लाख १३ हजार किलो चिया आयात भएको थियो।

चिया र कफीको आन्तरिक उत्पादनले माग कति धान्छ भन्ने विषय खेती गरिएको क्षेत्र र उत्पादित परिमाणमा भर गर्छ। नेपालमा चियाको खेती क्षेत्र कफीको तुलनामा तीन गुणाभन्दा बढी छ। देशभरमा चिया खेती करिब २१ हजार हेक्टरमा फैलिएको छ भने कफी खेती पाँच हजार ५०० हेक्टरमा सीमित छ। पछिल्लो पाँच वर्षमा चिया तथा कफी विकास बोर्डले राखेको कफी उत्पादनको तथ्यांक र भन्सार विभागको आयात-निर्यात तथ्यांकलाई विश्लेषण गर्दा नेपाली बजारमा कफीको औसत माग वार्षिक ६ लाख ८१ हजार किलो छ। औसत उत्पादन भने वार्षिक चार लाख ४१ हजार किलो हुन्छ।

चियाको सन्दर्भमा पछिल्लो पाँच वर्षकै तथ्यांक विश्लेषण गर्दा नेपालले कुल उत्पादनको ५० प्रतिशत विदेश निर्यात गर्न सक्ने हैसियत बनाएको छ। वार्षिक दुई करोड ५८ लाख ७७ हजार किलो चिया उत्पादन हुने गरेकामा आन्तरिक माग औसत एक करोड २३ लाख ६४ किलो खपत भएर बाँकी निर्यात हुने गरेको छ।

नेपालले आयात गर्ने कफीमध्ये सबैभन्दा बढी भारतबाट भित्र्याउँछ। भारतसँगै इटाली, भियतनाम, चीन, अमेरिका, थाइल्यान्ड, इजरायल, कतार, कुवेत, अस्ट्रेलियालगायत देशबाट कफी आयात हुन्छ।

नेपालमा आर्थिक वर्ष २०७०/७१ मा एक हजार ९११ हेक्टर क्षेत्रफलमा कफी खेती गरिन्थ्यो। अहिले खेती क्षेत्र र उत्पादन दर बढिरहे पनि कफीमा मुलुक आत्मनिर्भर भइसकेको छैन। जसका कारण माग धान्न वार्षिक आयात दर बढिरहेको छ। कफी उत्पादक राजकुमार बन्जारा कफी पारखीहरू बढेकाले बजारको अवसर सिर्जना भए पनि किसानलाई कफी खेतीमा प्रोत्साहन नगरिँदा आन्तरिक उत्पादन पर्याप्त बढ्न नसकेको बताउँछन्। “मकै, कोदोको खेतीभन्दा कफीबाट राम्रो कमाइ हुन्छ भन्ने सचेतना तथा ज्ञान र सीप किसानमा पुर्‍याइएको छैन,” कफी वितरकसमेत रहेका उनी भन्छन्, “कफी लगाएपछि दाना फलाउन चार वर्ष कुर्नुपर्छ, त्यतिन्जेल किसानको जीविका चलाउने वैकल्पिक उपाय सिकाइँदैन।”

अहिले खेती क्षेत्र र उत्पादन दर बढिरहे पनि कफीमा मुलुक आत्मनिर्भर भइसकेको छैन।

चिया तथा कफी विकास बोर्डकी कृषि प्राविधिक कुसुम भण्डारी नेपालमा चिया खेतीको तुलनामा कफी खेतीको सुरुआत र विस्तार ढिला भएकाले कफीका लागि आयातमा निर्भर हुनुपरिरहेको बताउँछिन्। “चियाको तुलनामा कफीको खेती क्षेत्र र उत्पादन पहिलेदेखि नै कम भयो, केही वर्षयता क्याफेहरू धेरै खुलेपछि कफी पिउने संस्कृति विस्तार भएसँगै माग बढ्यो र माग धान्न विदेशबाट ल्याउनुपर्ने भयो,” उनी भन्छिन्।

चिया-कफीको इतिहास

नेपालमा चिया खेतीको इतिहास १६२ वर्ष पुरानो छ। चिया खेती सुरु भएको ७५ वर्षपछि मात्रै कफी खेती सुरु भएको हो। चिया खेतीको सुरुआत राणाशासनसँग जोडिन्छ भने कफी खेतीको थालनी विसं. १९९५ तिर किसानकै स्वतस्फूर्त प्रयासबाट भएको हो।

१९२० सालमा प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणमा जाँदा तत्कालीन चिनियाँ सम्राट्बाट चिनियाँ जातको चियाको बीउ उपहारमा पाएका थिए। नेपाल फर्केलगत्तै जंगलबहादुरले उक्त बीउ रोप्न इलामका तत्कालीन बडाहाकिम रहेका आफ्ना ज्वाइँ गजराज सिंह थापालाई आदेश दिएका थिए। चिया तथा कफी विकास बोर्डको अभिलेखअनुसार चिया रोपिएकै साल इलाम चिया कमान र त्यसको दुई वर्षपछि १९२२ सालमा झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना भएसँगै नेपालमा चिया खेतीको सुरुआत भएको मानिन्छ। तर, जहानियाँ राणाशासनमा चिया उद्योग फस्टाउन सकेन।

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि नेपालमा लगानीको वातावरण खुकुलो भएसँगै चिया खेतीले पुनर्जीवन पायो। २०१६ सालमा निजी स्तरको पहिलो चिया बगान झापामा स्थापना भयो, बुधकरण चिया बगानको नाममा।

भोजपुरको आमचोक गाउँपालिकास्थित चिया बगानमा चियाका मुना टिप्दै कृषक। तस्बिरः दीपक वान्तावाको फेसबुक

बिस्तारै चिया उद्योगले नाफामूलक व्यवसायको रूप लियो। चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदानस्वरूप २०३९ सालमा राजा वीरेन्द्रको शासनकालमा सरकारले झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गर्‍यो।

२०४०/४१ सालमा कफीको आन्तरिक बजारीकरणका लागि रुपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भयो।

नेपालमा कफी खेतीको सुरुआत गर्ने श्रेय भने गुल्मी आँपचौरका हीरा गिरीलाई जान्छ। १९९५ सालतिर उनले बर्माको सिन्धु प्रान्तबाट कफीको बीउ ल्याएर गुल्मीमा रोपेपछि खेती सुरु भएको मानिन्छ।

तर, कफी खेतीले गति लिन थालेको २०२० सालपछि मात्रै हो। सरकारले भारतबाट कफीका बीउ ल्याएर किसानलाई वितरण गरेको थियो। २०४०/४१ सालमा कफीको आन्तरिक बजारीकरणका लागि रुपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भयो।

खेती क्षेत्र

चिया तथा कफी विकास बोर्डकी कृषि प्राविधिक भण्डारीका अनुसार कफी खेतीका लागि हावापानी र माटोका हिसाबले नेपालको पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडी भूभाग उपयुक्त मानिन्छ। यस क्षेत्रका ८०० देखि १,६०० मिटरसम्मको उचाइमा कफी खेती हुँदै आएको छ। नेपालमा अराबिका वर्णभित्र पर्ने टिपिका र बर्बन जातका कफी उत्पादन हुन्छन्।

मध्यपहाडी हावापानीमा उत्पादित कफी गुणस्तरीय हुने भएकाले विदेशमा माग हुने गरेको छ। कफीको बजार विकास गर्न सरकारले २०५१ सालदेखि मूल्य निर्धारण गर्दै आएको छ। आव २०८१/८२ मा नेपालले ६३ हजार ९९८ किलो कफी निर्यात गरेर ११ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो। सोही वर्ष विदेशबाट १४ करोड ४१ लाख रुपैयाँ बराबरको दुई लाख किलो कफी आयात भएको थियो।

पोखरास्थित कफी खेती। विरुवा जोगाउन छहारी लगाउने गरिन्छ। तस्बिर: राष्ट्रिय चिया तथा कफी विकास बोर्डको फेसबुक

कफी खेती मुख्य रूपमा गुल्मीसँगै अर्घाखाँची, पाल्पा, स्याङ्जा, बागलुङ, पर्वत, लमजुङलगायत पश्चिम नेपालका जिल्लाहरूमा हुने गरेको छ। यीसहित ४० जिल्लामा कफी खेती विस्तार भइसकेको छ।

बोर्डका कार्यकारी निर्देशक खनाल कफी रोप्ने क्षेत्र र उत्पादन बढाउन किसानलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेको बताउँछन्। बोर्डले ५० रोपनीमा कफी खेती गर्नेलाई कुल लागतको ५० प्रतिशत अनुदान दिन्छ। उनी भन्छन्, “कफी खेतीलाई छहारी चाहिन्छ, स्याहार गरिरहनुपर्छ, यसमा किसानको बानी विकास गर्न अनुदान दिन थालेका छौँ।”

नेपालमा चिया खेती भने २,६०० मिटरको उचाइसम्म हुने गरेको छ। यहाँ आसामी, कम्बोडियाली र चिनियाँ प्रजातिका चियाको खेती गरिन्छ। आसामी र कम्बोडियाली प्रजाति मेसिनबाट प्रशोधन गरेर बनाइने सीटीसी चिया उत्पादनका लागि प्रयोग हुन्छ। चिनियाँ प्रजाति भने परम्परागत विधिबाट तयार पारिने उच्च गुणस्तरको अर्थोडक्स चिया उत्पादनका लागि प्रयोग गरिन्छ। अर्थोडक्स चिया उत्पादनका क्रममा चियाको पातलाई हातले माड्ने वा मेसिनबाट हातले माडेजस्तै बनाएर तयार पारिन्छ।

बोर्डका कार्यकारी निर्देशक खनाल कफी रोप्ने क्षेत्र र उत्पादन बढाउन किसानलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेको बताउँछन्।

नेपाली सीटीसी चिया कडा र तिक्खर स्वादका लागि प्रसिद्ध छ। आमरूपमा उपयोग गरिने चिया सीटीसी नै हो। अर्थोडक्स चिया भने चियाका खास पारखीहरूले रुचाउँछन्। यो चिया प्रायजसो विदेशमा निर्यात हुन्छ।

चिया खेती पूर्वी नेपालका जिल्लाहरूमा केन्द्रित छ। इलाम, पाँचथर, झापा, मोरङ, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, ओखलढुंगा, भोजपुरलगायत ३१ जिल्लामा चिया उत्पादन हुँदै आएको छ।