काठमाडौँ। ललितपुर गोदावरी नगरपालिकामा कार्यरत इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पदीय मर्यादाविपरीत कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार कर्मचारी विष्टविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीसँग एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए। अख्तियारले उनका बुबा सुदर्शन विष्टलाई समेत प्रतिवादी बनाएको छ। गैरकानुनी रूपमा आर्जित सम्पत्ति बुबाको नाममा राखेको पाइएकाले जफत प्रयोजनको लागि मुद्दा दायर गरिएको न्यौपानेले बताए।
विष्ट १ फागुन २०७६ मा नगरपालिकामा नियुक्त भएका थिए। अकुत आर्जन गरेको उजुरी परेपछि १४ साउन २०८१ सम्मको अवधिमा विष्टले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरिएको न्यौपानेले बताए।
विष्टको सार्वजनिक सेवा प्रवेशपछि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात, पारिश्रमिक, भत्ताको बचत रकम, श्रीमतीको तलब बचत रकम, ऋण सापटी रकम र सेयर बिक्रीबाट प्राप्त रकम गरी जम्मा एक करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ आम्दानी गरेका थिए। सोही अवधिमा विष्टको जग्गा खरिद, घर निर्माण, सेयर खरिद भएको खर्च, निजको छोराको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्था एवम् सहकारीबाट लिएको ऋण सापटीको साँवा र ब्याज, विभिन्न कम्पनीमा पुँजी लगानी, बिमा प्रिमियम भुक्तानी, उनी र उनको एकासगोल परिवारका सदस्यहरूको नाममा बैंक तथा वित्तीय संस्थाहरूको खातामा भएको मौज्दात रकम गरी तीन करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ भेटिएको न्यौपानेले बताए।
विष्टले कुल आय र वैधानिक आय घटाउँदा आउने रकम गैरकानुनी तरिकाले आर्जन गरेको अख्तियारको दाबी छ। ‘प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएकोले निज र निजको परिवारका सदस्यले मनासिव कारणबिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको छ,’ अभियोग पत्रमा भनिएको छ, ‘सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिहरू बुबाको नाममा राखेको देखिँदा दुवैविरुद्ध मुद्दा दायर गरिएको छ।’