काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा राजधानीमा क्रियाशील पत्रकारहरूलाई डाटा भिजुअलाइजेसन तालिम दिइएको छ। नाफिज सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुसार मंगलबार तालिम प्रदान गरिएको हो।

डाटा भिजुअलाइजेसन गरेर कसरी समाचारलाई आकर्षक बनाउन सकिन्छ भन्ने विषय तालिममा दिइएको थियो। तालिममा नाफिजका २१ सदस्यको सहभागी बने। डाटाहरूलाई भिजुअलाइजेसनमार्फत कसरी प्रस्तुति गर्ने भन्ने विषयमा प्रशिक्षक अरुण कार्कीले नाफिज सदस्यहरूलाई तालिम प्रदान गरेका थिए।

सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको अध्यक्ष मेनुका कार्कीले जानकारी दिइन्। तालिम लिएका सदस्यहरूले यसको प्रयोग गरेको विषयमा निरीक्षण गरिने र त्यसका आधारमा आगामी दिनमा तालिममा सहभागी गराइने पनि अध्यक्ष कार्कीले बताइन्।

नाफिज आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिमा ध्यान दिने भन्दै अध्यक्ष कार्कीले सदस्यहरूबाट माग भएको खण्डमा थप एडभान्स तालिम पनि दिन सकिने बताइन्। “यो तालिम लिएका सदस्यहरूले डाटाको भिजुअलाइजेसन प्रयोग गरेको आधारमा थप आवासीय तालिमको पनि आयोजना गर्छौं। यसका लागि सदस्यहरुले सिकेको कुरालाई प्रयोग गर्नुपर्छ,” उनले भनिन्।

तालिममा सहभागी सदस्यहरूले तालिम उपलब्धिपूर्ण बनेको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्न आग्रह गरेका थिए। डाटालाई विभिन्न प्रकारका चार्ट, नक्सा, पाइचार्टलगायतमा प्रयोग गरेर अनलाइन सञ्चारमाध्याममा प्रयोग गर्ने तरिका व्यवहारिक रुपमै सिकाइएको थियो। सैद्धान्तिकभन्दा पनि व्यवहारिक रूपमा सिकाइएका यस्ता तालिम धैरै प्रभावकारी हुने नाफिज सदस्यहरूको भनाइ थियो।