काठमाडौं । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्बबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रङ्गशालामा अपराह्न हुने खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।
हिजो (मंगलबार) सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गालले हराएको थियो ।
प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । जसमा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब छन् ।
यसैगरी, विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् ।
आगामी फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।




