बागलुङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताएका छन्।
बागलुङमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताए। केही दलले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालको भनाइ छ।
उनले भने‚ “यो हामीहरूले चाहेर आएको निर्वाचन होइन। हामीहरूले त २०८४ मा गएर गर्ने भन्ने सोचेका थियौँ। असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो‚ यो। निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प पनि छैन। इमानदार कम्युनिस्ट र देशभक्तहरूका अगाडि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो ।”
यो पनि…
मुलुकको अहिलेको परिस्थिततिमा देशमा भएका वामपन्थी र देशभक्त एकताबद्ध हुने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी बनाएको दाहालले बताए। अहिले देखिएको असहज परिस्थितिबाट देशको रक्षा गर्ने, लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न नेकपा प्रतिबद्ध भएर लागेको उनले उल्लेख गरे।
जेन-जी आन्दोलन देशलाई भ्रष्टाचारमुक्त गर्न‚ सुशासन स्थापित र नागरिक स्वतन्त्रता कायम गर्न भए पनि देशीविदेशी शक्तिको स्वार्थका कारण विध्वंश मच्चिएको संयोजक दाहालले बताए। उनले भने‚ “अब मुलुको परिवर्तनका निम्ति वामपन्थी एक हुनु आवश्यक छ।”