मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘सी’ मा रहेका यी दुई एसोसियट राष्ट्रबीचको खेल दिउँसो ३:१५ बजे मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।
दुवै टोली पहिलो खेलमा पराजित भएपछि आजको खेल जित्नैपर्ने दबाबमा छन्। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हारेको थियो। त्यसैले आजको प्रतिस्पर्धा दुवैका लागि प्रतियोगितामा फर्किने अवसरका रूपमा हेरिएको छ।
नेपाल र इटली १३ वर्षपछि फेरि आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत ५० ओभरको खेलमा यी दुई टोली भिडेका थिए। तर टी–२० अन्तर्राष्ट्रियमा भने यो पहिलो भेट हुनेछ।
नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध जित हात पारेपछि विश्वकपमा विजय हासिल गर्न सकेको छैन। त्यसैले आजको खेल टोलीका लागि ऐतिहासिक जितको अवसरसमेत बन्न सक्छ।
समूह ‘सी’ को अंक तालिकामा वेस्ट इन्डिज दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ। इंग्ल्यान्ड र स्कटल्यान्डले समान २–२ अंक जोडेका छन्। नेपाल र इटली भने अंकविहीन अवस्थामा छन्।