अनुवाद

नेपाली भाषाका साहित्यको अंग्रेजी अनुवादले मात्र पुग्दैन, नेपालको विविधताअनुरुप अन्य मातृभाषाका सामग्रीको अनुवाद पनि जरुरी छ।

२ फाल्गुन २०८२
अ+
अ-

आस्था गिरीको पल्पसा क्याफे पढ्ने प्रयत्न दुई पटक असफल भएको थियो। डेभलपमेन्ट स्टडिजकी विद्यार्थी उनलाई नेपालीभन्दा अंग्रेजीमा पढ्न सजिलो लाग्छ। उनले भाषाकै कारण सो उपन्यास छिचोल्न सकेकी थिइनन्। हालै पल्पसा क्याफेको अंग्रेजी अनुवाद सकाएकी छिन्। गोदावरीकी स्थानीय २५ वर्षीय गिरी भन्छिन्, “ओरिजिनल नेपाली भएकाले नेपालीमै पढ्न दुईतीन पटक प्रयास गरेँ, तर नबुझिने शब्द/वाक्यहरूले अल्झाइरहे। पढ्नैपर्ने किताब भनेर सुनेको धेरैपछि अंग्रेजी अनुवाद भए पनि पढेर सकाएँ,” उनी भन्छिन्।

नारायण वाग्लेको पल्पसा क्याफेपछि उनी अहिले बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको अंग्रेजी संस्करण पढ्दै छिन्। शिरीषको फूल, राधा, सेतो धरतीलगायत किताब पढ्ने सूचीमा राखेकी उनको चर्चामा आएका सबै नेपाली किताबका अनुवाद अंग्रेजीमै पढ्ने सोच छ।

यसरी नेपाली किताबको अनुवाद खोजीखोजी पढ्ने आस्था एक्ली होइनन्। उनी भन्छिन्, “मेरा थुप्रै साथीहरू छन्, जो अंग्रेजीमा नेपाली साहित्य पढिरहेका छन्।”

विदेशी पाठकलक्षित भनिने अंग्रेजी अनुवाद पछिल्लो समय आस्था गिरीजस्ता जेन-जी पुस्ताप्रतिसमेत लक्षित हुँदै छ।

कर्नाली ब्लुजका अंग्रेजी अनुवादक माइकल हटका अनुसार अनूदित कर्नाली ब्लुज करिब ३५ सयप्रति बिक्री भइसकेको छ। उनी भन्छन्, “पहिलो पटक अंग्रेजीमा पढेँ भन्ने धेरै नेपाली पाठक हुनुहुन्छ। गुड रिड्सका प्रतिक्रियाहरू हेर्दा पनि यसका धेरै पाठक नेपाली हुन् भन्ने देखिन्छ।”

विदेशी पाठकलक्षित भनिने अंग्रेजी अनुवाद पछिल्लो समय आस्था गिरीजस्ता जेन-जी पुस्ताप्रतिसमेत लक्षित हुँदै छ। भर्खरै मात्र केही चर्चित किताबहरूका अंग्रेजी अनुवाद प्रकाशित छन्।

गत पुसको पहिलो साता एकै दिन दुई चर्चित लेखकका कृतिको अंग्रेजी अनुवाद प्रकाशन भएका थिए, अ ह्वाइट लाइफअल्फाबेट्स इन द स्नो। यी कृति क्रमश: अमर न्यौपानेलिखित मदन पुरस्कारप्राप्त सेतो धरती र नयनराज पाण्डेको चर्चित कृति सल्लीपिरका अनुवाद हुन्। सेतो धरतीको अनुवाद निरञ्जन कुँवर र सल्लीपीरको अनवाद अनुराग बस्नेतले गरेका छन्। यी दुई कृतिको प्रकाशक फाइन प्रिन्टले फातसुङको अनुवादसमेत प्रकाशन गरेको थियो।

न्यौपाने र पाण्डेका उपन्यासको अनूदित संस्करण आजकै दिन भारतको दिल्लीमा समेत लोकार्पण हुँदै छ। शुक्रबार (हिजो) पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त राष्ट्र-परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्मको अनुवाद अ लाइफ इन अ पब्लिक सर्भिस बजारमा आएको छ। प्रवीण अधिकारीको अनुवादमा अंग्रेजी संस्करण पेनगुइन इन्डियाबाट प्रकाशन भएको हो।

नेपालमा अंग्रेजीको पृष्ठभूमि हेर्दा यो कुनै समुदायविशेषको भाषा नभई खास वर्गको भाषा थियो। २००७ सालपश्चात् औपचारिक शैक्षिक पाठ्यक्रममा समावेश भएपछि यो विस्तार हुन थालेको हो। त्रिभुवन विश्वविद्यालयको उच्चमाध्यमिक तहको पाठ्यक्रममा अंग्रेजीले सन् १९५९ मा प्रवेश पाएको हो।

माइकल हटले अनुवाद गरेका पुस्तकहरू।

राणाकालमै शिक्षामा पहुँच भएको सानो समूह भने यतिबेलासम्म अंग्रेजीमा किताब लेख्ने वा अनुवाद गर्न सक्ने भइसकेको थियो। कवि तथा निबन्धकार लक्ष्मीप्रसाद देवकोटा स्वयं यस्तै एक पात्र हुन्, जसले अंग्रेजीमा लेखन र आफ्नै केही रचनाहरू अनुवादसमेत गरे। कोरोनेसन डे इन काठमाडौँ एन्ड अदर एस्सेज देवकोटाको अंग्रेजीमा प्रकाशित निबन्धसंग्रह हो। यसमा सन् १९५६ मा सम्पन्न राजा महेन्द्रको राज्याभिषेकको सन्दर्भकै निबन्धलाई किताबको नाम बनाइएको छ। यसबाहेक देवकोटाले आफ्नै रचनाहरू अनुवादसमेत गरेका छन्।

नेपाली फुटकर रचना र कृतिहरू अंग्रेजीमा अनुवादक्रमले पनि यस्तै बेलादेखि गति समातेको देखिन्छ। मण्डला बुक पोइन्टबाट प्रकाशित हुने जर्नल स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (वर्ष ४, अंक २ः सन् १९९९) मा नेपाली र नेपालभाषाका साहित्यको अनुवादबारे सन्दर्भसूची समावेश छ।

अनूदित पहिलो उपन्यास पारिजातद्वारा लिखित शिरीषको फूल हो, जसलाई नेपाली अनुवादक टंक बिलास वर्या र विदेशी अनुवादक सोन्द्रा जेन्डेस्टाइनले संयुक्त रूपमा ब्लु मिमोसा शीर्षकमा अनुवाद गरेका थिए।

यस सन्दर्भसूचीले सन् १९६० को दशक आसपास उल्लेख्य मात्रामा नेपाली र नेपालभाषाका रचना तथा कृतिहरू अंग्रेजीमा अनुवाद भएको देखाउँछ। त्यसबेलाका अनुवादकहरूमा माधवलाल कर्माचार्य, तीर्थराज तुलाधर, तेजरत्न कंसाकार, मधुसुधन देवकोटालगायत थिए। लेखक भरत जंगमले आफ्नो ब्लगमा ईश्वरमान रञ्जितको स्रोतका आधारमा अंग्रेजीमा अनुवाद भएका उपन्यासहरूबारे जानकारी दिएका छन्।

सो सूचीअनुसार नेपाली उपन्यासको अंग्रेजी अनुवादको औपचारिक सुरुआत सन् १९७२ मा भएको हो। अनूदित पहिलो उपन्यास पारिजातद्वारा लिखित शिरीषको फूल हो, जसलाई नेपाली अनुवादक टंक बिलास वर्या र विदेशी अनुवादक सोन्द्रा जेन्डेस्टाइनले संयुक्त रूपमा ब्लु मिमोसा शीर्षकमा अनुवाद गरेका थिए। यो पुस्तक सन् १९७२ मा सोन्द्रा जेन्डेस्टाइन स्वयंले प्रकाशन गरेका थिए।

त्यसपछि सन् १९८४ मा डायमनशमशेर राणाको ऐतिहासिक उपन्यास सेतो बाघ ग्रेटा राणाद्वारा द वेक अफ द ह्वाइट टाइगर शीर्षकमा अनुवाद भयो। यो उपन्यास बालिका राणाद्वारा प्रकाशित थियो। त्यही वर्ष ल्यारी हार्टसेलले खैरेनीघाट शीर्षकमै शंकर कोइरालाको खैरेनीघाटको अनुवाद गरे। पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।

जंगमले उपलब्ध गराएको सूचीअनुसार सन् १९७२ देखि २००० सम्मको अवधिमा ११ जना उपन्यासकारका १२ उपन्यास नेपालीबाट अंग्रेजीमा अनुवाद भएका छन्। सन् २००५ सम्म आइपुग्दा यो संख्या २१ पुगेको थियो। बसाइँ, रूपमती, अलिखित, पल्लोघरको झ्याल, सुम्निमा, कारागारलगायत चर्चित उपन्यास छन्। यीमध्ये केही नेपाल तथा भारतबाट निजी वा साना प्रकाशकबाट प्रकाशित भएका हुन्। अनुवाद तथा प्रकाशनमा पनि नेपालभित्रका नेपाली, प्रवासी नेपाली र विदेशीहरूको संलग्नता देखिन्छ।

मञ्जुश्री थापाद्वारा अनुवाद गरिएका पुस्तकहरू।

यस अवधिमा अन्य कथा, कविता र फुटकर लेखहरू पनि अनुवाद भइरहे। तर, अनुवादको काम २०४६ पछिको परिवेशमा बढेको अनुवादमा सक्रिय माइकल हटदेखि मञ्जुश्री थापासम्मको मत छ।

रवि थापा सम्पादक रहेको ललित म्यागेजिनले समकालीन तथा अग्रज स्रष्टाका आख्यान तथा गैरआख्यानका अनुवादहरू प्रकाशित गर्ने प्रमुख प्रकाशन हो। समकालीन तथा अग्रज स्रष्टाका सामग्रीसँग सामाजिक विविधतामूलक प्रतिनिधित्वलाई समेत यसले प्राथमिकतामा राखेको छ। नेपालीबाट अंग्रेजीमा अनुवाद हुने सामग्रीमा यसले विविधता थपिरहेको छ। यसमा थुप्रै नयाँ पुस्ताका अनुवादकका काम देख्न पाइन्छ।

माइकल हट पछिल्लो समय अनुवादको संख्यासँगै गुणस्तर पनि बढेको धारणा राख्छन्। २०४६ अघि नै नेपाली साहित्य अंग्रेजीमा अनुवाद गर्ने हटको मूल्यांकनमा सुरुआती चरणका अनुवादहरू बाहिरी संसारको लागि प्रवेशिकाजस्तै थिए। ‘‘अनुवादको गुणस्तर राम्रो थिएन, अंग्रेजी पनि अनौठो थियो। मैले पढेका अनुवादहरू सन्तोषजनक थिएनन्,’’ उनी भन्छन्।

अनुवाद ठिकठाकको मात्रै भए पनि पहिलेका अनुवादकका काम पछिल्लो पुस्तासँग जोडियो। त्यही पुस्ताको कामले अनुवादको क्षेत्रमा अर्को पुस्तालाई फेरि जोड्यो।

अंग्रेजी अनुवादको विशेषता नै देश वा भूगोलको सीमा नाघ्नु हो। डेभिड रुबिनको नेपाली भिजन्स, नेपाली ड्रिम्सः द पोअट्र अफ लक्ष्मी प्रसाद देवकोटा पढेर बेलायती नागरिक माइकल हट देवकोटाका मुनामदनलगायत अन्य कृतिप्रति आकर्षित भएका थिए। हटकै अनुवादहरू हिमालयन भ्वाइसेज र मोडर्न लिटरेरी नेपालीः एन इन्ट्रोडक्टरी रिडर मञ्जुश्री थापाका लागि नेपाली साहित्य बुझ्ने मुख्य स्रोत बन्यो।

सन् २०१८ मा मार्टिन चौतारीको लेक्चर शृंखलामा उनले आफ्नो साहित्यिक विचार निर्माणको कथा साटेकी थिइन्। त्यही क्रममा नेपाली साहित्यको मार्गदर्शक बनेकोमा माइकल हटप्रति असाध्यै ऋणी भएको समेत बताइन्। त्यसयता थापाले नेपाली साहित्यको अंग्रेजी अनुवादमा महत्वपूर्ण योगदान दिइसकेकी छन्।

पछिल्लो पुस्ताका अनुवादकले थुप्रै समकालीन लेखकका कामलाई विदेशी पाठक र प्रकाशकसम्म पुर्‍याउने काम गरेका छन्। सल्लीपीरका लेखक नयनराज पाण्डे भन्छन्, ‘‘मजस्तो लेखकको लागि अंग्रेजीमा किताब आउँदा विदेशी पाठकसँगै विदेशी प्रकाशकको नजर पनि पर्छ कि भन्ने हुन्छ। यसले भविष्यमा विदेशी ठूला प्रकाशकले पत्याए भने राम्रो प्रस्ताव आउने सम्भावनाको ढोका खोल्छ।’’

आफ्नो पुस्तकको पहिलो पटक अंग्रेजी अनुवाद प्रकाशित भएकोले रमाइलो लागेको बताउने उनी नेपालभित्रै पनि अंग्रेजीमा पढ्ने पाठक बढिरहेको बताउँछन्।

‘शिरीषको फूल’को अनुवाद।

‘‘आठ नौ कक्षा पढ्ने विद्यार्थीदेखि पाका पाठकसम्मले मन पराएको सल्लीपीरको कथाले नेपालबाहिरका मानिसलाई समेत छुन्छ भन्ने लागेको छ,’’ उनी थप्छन्।

अमर न्यौपानेका लागि पनि आफ्नो उपन्यासको अंग्रेजी अनुवादको यो पहिलो अनुभव हो। १० वर्षअघि नै यो किताब अनुवाद गर्नेबारे प्रकाशकसँग छलफल भएको उनले बताए। बालविवाहको विषय भएकोले पनि विदेशीका लागि रुचिकर हुनसक्ने उनीहरूको अपेक्षा थियो।

यसबाहेक अमेरिका र बेलायत जाँदा त्यहाँ धेरैले सोध्थे रे, ‘‘तपाईको किताब अंग्रेजीमा छैन?’’

विदेश जाँदा धेरै लेखकले सुन्ने प्रश्न हो यो। न्यौपानेलाई त्यस्तो बेला आफ्ना पुस्तकको अनुवाद कहिले आउला भन्ने लाग्थ्यो। न नेपाली पुस्तक प्रकाशित भएपछिको जस्तो तारन्तार प्रतिक्रिया, न नेपालीको जस्तो बिक्री नै। तै पनि न्यौपाने र पाण्डे दुबै अंग्रेजी अनुवाद आएपश्चात् लेखकका रूपमा आफ्नो ‘ब्रान्ड भ्यालू’ बढेको महसुस गरिरहेको बताउँछन्।

‘‘अब सल्लीपीर र सेतो धरतीको अनुवाद अमेजनजस्ता अनलाइन प्लाटफर्म सजिलै भेट्न सकिन्छ,’’ लेखक पाण्डे भन्छन्, ‘‘जति धेरै अनुवाद हुँदै जान्छ, डिजिटल माध्यमबाटै हामी विश्वभरिका पाठकसँग जोडिन पाउँछौ।’’

फाइनप्रिन्ट प्रकाशनका संस्थापकसमेत रहेका अजीत बरालले गरेको फातसुङ उपन्यासको अनुवाद सङ अफ द सोइल भारतको जेसीबी पुरस्कारको मनोनयन सूचीमा पर्न सफल भएको थियो। अंग्रेजी वा कुनै अन्य मातृभाषाबाट अंग्रेजीमा अनुवाद गरिएका कृतिलाई दिइने यो भारतकै ठूलोमध्ये एक पुरस्कार हो।

मञ्जुश्री थापाले भारतमा ईन्द्रबहादुर राईका अनुवाद नभएकै कारण ओझेलमा परे भन्नेबारे लेखेकी छन्। उनका अनुसार, नेपाली साहित्यको समालोचनात्मक कृतिका राज्यबाटै पुरस्कृत हुँदाहुँदै पनि राई व्यापक रूपमा पढिएनन्। ‘‘२०१७ मा मैले गरेको उपन्यासको अनुवाद र सोही वर्ष प्रवीण अधिकारीले गरेका कथाहरूको अनुवाद आउँदासम्म उनका केही कथामात्र अंग्रेजीमा उपलब्ध थिए,’’ उनी थप्छिन्, ‘‘भारतीय पाठक जसले महाश्वेता देवीलाई चिन्छ, उसले ईन्द्रबहादुर राईलाई चिन्दैन थियो। उनको कृति भारतीय पाठकसम्म पुर्‍याउन पाउनु मेरो अनुवादको सबैभन्दा ठूलो सन्तुष्टि थियो।’’

माइकल हट अनुवादले अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको पहुँच बढाउने बताउँछन्।

प्रवीण अधिकारीले अनुवाद गरेका किताबहरू।

तर अनुवाद मार्फत नेपाली साहित्यको फैलावट सकारात्मक भए पनि धेरै उत्साहजनक नभएको आख्यान तथा गैरआख्यान दुबै विधाका अनुवादक प्रवीण अधिकारीको मत छ। ‘‘अनुवादको कामको संख्या र गुणस्तर थपिएजस्तो देखिए पनि बजारमा अनुवाद भएका किताबको बिक्री धेरै उत्साहजनक छैन,’’ उनी भन्छन्, ‘‘न त अनुवादकले नै आर्थिक हिसाबले ढुक्कले काम गर्ने वातावरण बनेको छ।’’ उनी प्रकाशकहरूले विज्ञापनमा ठूलो खर्च गरे पनि अनुवादका लागि भरपर्दो आधार बनाउन नसकेको टिप्पणी गर्छन्।

आफ्नै ठूलोबुवाको किताब स्रष्टा र साहित्य पढेर प्रभावित भई त्यसकै अनुवादको काममा अग्रसर भएका निरन्जन कुँवरको मत पनि यस्तै छ।

‘‘अनुवादकलाई पेशाका रूपमा लिनु आर्थिक हिसाबले चुनौतीपूर्ण छ,’’ उनी भन्छन्। कुँवरका अनुसार उनलाई सेतो धर्ती अनुवाद गर्न दुई वर्ष लागेको थियो। उनी थप्छन्, ‘‘दुई वर्षसम्म औसतमा दैनिक तीन चार घण्टाको दरमा काम गरेँ। यो काममा ’’

अधिकारी आफूलाई ५० हजार शब्द अनुवाद गर्न कम्तिमा एक वर्ष लाग्ने बताउँछन। तर कहिलेकाहीँ एउटै कथाले महिनौँ अड्काउने उनको भोगाइ छ।

हाल खगेन्द्र संग्रौलाका कथाहरूको अनुवाद गरिरहेका उनी एउटै कथाले एक वर्ष लिएको बताउँछन्। भन्छन्, ‘‘सेतेको संसार भन्ने कथा नौ हजार शब्द लामो छ। यो कथा सुरु गरेको एक वर्ष भइसक्यो।’’

उनी अनुवादको कामले मानसिक रूपमा एकदम छिटो थकाउनेसमेत बताउँछन्। एउटै कथामा लामै अल्झे पनि यो कथा सकिए संग्रहका बाँकी कामले गति लिने उनको अपेक्षा छ।

यसले देखाउँछ, अनुवादका लागि भाषिक शिल्प र साहित्यिक–सांस्कृतिक ज्ञानले मात्र पुग्दैन। अनुवादकमा धैर्य र अनुशासनको खाँचो पनि उत्तिकै आवश्यक छ। यो काममा खर्च हुने समय अनुरूपकै प्रतिफल पनि छैन। त्यसैले अनुवादकहरू पैसा नभई प्यासनले काम गर्न उत्प्रेरित गरिरहेको बताउँछन्।

माइकल हटका लागि अन्य विदेशीहरूले पनि नेपाली साहित्य पढ्न पाउन् भन्ने चाहनाले अनुवाद गर्ने ऊर्जाको काम गरिरहेको छ।

अमेरिकाको पृष्ठभूमि भएका कुँवरका लागि अनुवाद नेपाली भाषा सिक्ने र आफ्नो रुचि ‘एक्सप्लोर’ गर्ने महत्वपूर्ण प्रक्रिया हो। भन्छन्, स्रष्टा र साहित्यको अनुवाद निकाल्ने तयारीमा लागेका उनी भन्छन्, ‘‘अनुवादले फरक समय र सन्दर्भको मानसिक यात्रा गराउँछ। ज्ञानको दायरा बढाउँछ र अनुशासन पनि सिकाउँछ।’’

माइकल हटका लागि अन्य विदेशीहरूले पनि नेपाली साहित्य पढ्न पाउन् भन्ने चाहनाले अनुवाद गर्ने ऊर्जाको काम गरिरहेको छ।

भारतीयमाझ ईन्द्रबहादुर चिनाउँदा सन्तोष मान्ने मञ्जुश्री थापा नेपाली साहित्यमा समेत नेपाली साहित्य र नेपालको साहित्यबारे बहस हुनेपर्ने धारणा राख्छिन्।

सामान्यतया अन्तर्राष्ट्रिय पाठक लक्षित अनुवाद गरिएका नेपाली भाषाका सामग्रीलाई नै ‘नेपालको प्रतिनिधि’ भन्ने चलन छ। तर नेपाली साहित्यको विकासक्रमको सिलसिलामा नेपाली भाषीसाहित्य इतरका साहित्य छुटेको छ। त्यसैले नेपाली भाषाका सामग्रीले मात्र नेपालको विविधताको प्रतिनिधित्व गर्न सक्दैन।

माइकल हट भन्छन्, ‘‘पञ्चायतकालमा कति आवाज दबाइएका थिए। २०४६ पश्चात् बल्ल साहित्यमा जनजाति तथा महिलाहरूको उपस्थिति र विषयगत विविधता बढ्न थालेको हो।’’

मञ्जुश्री थापाले सन २०२१ को आफूले अनुवाद गरेको पुस्तक सेक्रेट प्लेसेजको भूमिकामै लेखेकी थिइन्– नेपाली साहित्य समावेशी छैन।

यसका लागि नेपाली साहित्यको प्रचलित ‘क्यानन’ बाहिरका कृतिहरूलाई समेट्नु पर्ने उनको मत छ। इतिहासकालदेखि वर्चश्वमा रहेका बाहेकको प्रतिनिधित्व नेपाली साहित्यमा हुनै बाँकी छ। यसमा खसइतरभाषी समुदाय र महिला, दलित, जनजातिलगायत सीमान्तकृत समूह पर्छन्।

मञ्जुश्री थापाले सम्पादन गरेको ललित म्यागेजिनको सीमान्तकृतका साहित्य विशेष (अंक ८) थियो। यसमा विभिन्न मातृभाषामा लेख्ने समकालीन र अग्रज पुस्ताका कविता, कथा र निबन्धहरू समावेश थिए।

नेपालजस्तो बहुभाषिक राष्ट्रको साहित्यिक क्याननमा नेपाली बाहेकका भाषाको ठूलो अंश हुनुपर्थ्यो, तर छैन, ललितको सम्पादकीयमा थापा लेख्छिन्, ‘‘विभिन्न भाषाका साहित्यलाई नेपालीमा अनुवाद गर्ने संगठित प्रयास हुनुपर्थ्यो, तर छैन।’’

यसले नेपाली साहित्य नेपाली भाषामा प्रकाशित सामग्रीभन्दा बृहत् छ भन्ने कुरालाई जोड दिन्छ। नेपाली समाजको विविधताअनुसार, अनुवादमा पनि नेपालका अन्य मातृभाषाका सामाग्रीहरूले प्राथमिकता पाउनुपर्ने खाँचो औल्याउँछ।

निरन्जन भन्छन, ‘‘अनुवादले विभिन्न लिंग, जात, वर्ग, भूगोल र अल्यसंख्यक समुदायका मान्छेका कुराहरू बाहिर ल्याउन मद्दत गर्नुपर्छ र गर्छ पनि।’’

प्रवीण अधिकारी भन्छन्, ‘‘तर नेपालको विविधतालाई सम्बोधन गर्ने हो भने नेपाली साहित्यको अंग्रेजी अनुवादले मात्र पुग्दैन। नेपालभित्रकै भाषाहरूमा प्रशस्त अनुवादका काम हुनु अनिवार्य छ।’’

यसको अर्थ हो, नेपाली बाहेकका भाषामा लेख्नेहरूका साहित्य अझै नेपाली साहित्य बन्नै बाँकी छ। तर यो क्रम सुरु भइसकेको छ। अनुवादका शृंखलाहरू जारी रहे यसमा समाजको विविधता, राष्ट्रको बहुलता पक्कै झल्कने छ। र, अन्तर्राष्ट्रिय जगतले समेत नेपालको विविध अुनहार देख्न–बुझ्न पाउने छ।