स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गाउँपालिका, नगरपालिका तथा जिल्ला समन्वय समितिका छाता संगठनका पदाधिकारीसँग गृहमन्त्रीको छलफल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
छलफलमा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुव्यवस्थालगायत पक्षमा मन्त्रालयका तर्फबाट कुनै कमी नरहने बताए। साथै उनले स्थानीय तहका छाता संगठनको समन्वयात्मक भूमिकाको प्रशंसा पनि गरे।
अर्यालले स्थानीय जनप्रतिनिधि स्थानीय तहको अभिभावक भएको बताउँदै पदाधिकारीसँगको समन्वयलाई महत्त्व दिएर मन्त्रालय अघि बढिरहेको बताए।
त्यस्तै स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरूले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आ-आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताएका थिए।
गृहले १५ माघमा वडातहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा समावेश गराउन भनेको छ। गृहले निर्वाचनमा उनीहरूको अपनत्व अभिवृद्धि गरी गराई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभिप्रायले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२ तयार गरी सोहीबमोजिम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।
छलफलमा गृह-सचिव राजकुमार श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, जिल्ला समन्वय समिति महासंघका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेलगायत गृह मन्त्रालयका कर्मचारीको उपस्थिति थियो।