काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिए।
राष्ट्रपति पौडेलले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरे। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार साँझ गृहमन्त्री ओमप्रकाश अर्यालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँगको भेटमा राष्ट्रपतिले यस्तो निर्देशन दिएका हुन्।
“लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन‚” पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
भेटमा गृहमन्त्री अर्यालसँगै सेना प्रमुख अशोकराज सिग्देल, प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति थियो।