२ फाल्गुन २०८२
अ+
अ-

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन्।

भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराएका हुन्। सरकारी दररेट अनुसार करिब रु १४ लाख मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा सोभन्दा बढीपर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

जग्गादाता गिरी र उनकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान पनि गरेको छ। जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट र योजना माग गरिने उनले बताए। राखु भगवती प्रहरी चौकी हाल भाडाको घरबाट सञ्चालन हुदै आएको छ।

म्याग्दीको इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना र घारको प्रहरी इकाईको अझै आफ्नै भवन छैन।

सामुदायिक भवन र भाडाको घरबाट ती चौकी सञ्चालन भएका छन्। जग्गा प्राप्त प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको छ।

सिञ्गा तातोपानी प्रहरी चौकीको हालै भवन निर्माण भएको छ। बेनीको जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका छन्।