काठमाडौँ
००:००:००
३ फाल्गुन २०८२, आईतवार

दृष्टिकोण

संसारले चिनेका बुद्धका जीवनसँग सम्बन्धित स्थानको विकास अझै पनि हाम्रा चुनावी कार्यसूचीमा नपर्नु ‘माल पाएर पनि चाल नपाएको’ उखान चरितार्थ हुनु हो। 

३ फाल्गुन २०८२
लुम्बिनीस्थित मायादेवी मन्दिर क्षेत्रमा बौद्ध भिक्षुहरू। तस्बिर : नेपाल फोटो लाईब्रेरी
अ+
अ-

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू प्रतिबद्धतापत्र, संकल्पपत्रलगायतका जे नाममा भए पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन्। तर, के उनीहरूका घोषणापत्रका मूल बुँदामा नेपालमा रहेका बौद्ध सम्पदा क्षेत्रको विकासका विषय अटाउँछन् या फेरि पनि यी मुद्दा पाद टिप्पणीमै सीमित हुन्छन्? चासो स्वाभाविक छ।  

नेपालले सजिलै अन्तर्राष्ट्रिय आकर्षण हासिल गर्ने ठाउँ भनेकै गौतम बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरू हुन्। बुद्धको जन्म इ.पू. ५६३ मा लुम्बिनीमा भएको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् १९९७ मा यो स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। तर, बुद्धसँग सम्बन्धित स्थलहरू लुम्बिनीबाहेक अरू पनि छन्। 

लुम्बिनी प्रदेशमा विशेषगरी रुपन्देही, कपिलवस्तु, नवलपरासीमा गौतम बुद्धको जीवनसँग सम्बन्धित बौद्ध स्थलहरू छन्। लुम्बिनीमा जन्मे पनि बुद्धको हुर्काइबढाइ कपिलवस्तुमा भएको थियो। २९ वर्षको हुँदासम्म उनी त्यहीँ बसे। बुद्ध जन्मनुअघि नै गणराज्यका रूपमा विकसित कपिलवस्तु पछि गौतम बुद्धकै पर्याय बन्न पुग्यो। 

शाक्य गणराज्य (कपिलवस्तु) भन्दा अघि कोलीय गणराज्य पनि त्यस्तै विकसित थियो। कोलीय गणराज्यमा गौतम बुद्ध र उनका बुबा शुद्धोदनको मामाघर तथा ससुराली नभएर आमा मायादेवी, सानीआमा प्रजापति गौतमी र श्रीमती यशोधराको माइतीघर पनि थियो। 

कोलीय गणराज्यमा बुद्ध बरोबर पुग्ने गरेको, अनेकौँ धर्मोपदेश दिएको पाइन्छ। उही बेलामा कपिलवस्तुमा जस्तै कोलीय गणराज्यमा पनि बौद्ध धर्मको विस्तार यथेष्ट भएको पाइन्छ। बुद्धको महापरिनिर्वाणपछि अस्थिधातु आठ भागमा विभाजन गरी आठ राज्यमा बाँडिँदा कपिलवस्तु र कोलीय गणराज्यले पनि पाएका थिए र त्यसलाई अन्यले जस्तै स्तूप बनाएर राखेका थिए। हाल नवलपरासी (पूर्व) मा अवस्थित रामग्राम स्तूप त्यही बेला कोलीयहरूले बनाएका हुन्। 

गौतम बुद्धसँग सम्बन्धित भनेर नेपालले देखाउने गरिरहेको लुम्बिनी मात्रै भएकाले विश्वभरबाट आउने बौद्ध तीर्थयात्री एवं पर्यटक लुम्बिनी आउँछन् र फर्कन्छन्। अपवादमा कतिपय भने देवदह र कपिलवस्तु पनि जान्छन्। 

सन् १८९६ मा बुद्ध जन्मस्थल लुम्बिनी नै भएको पत्ता लागेपछि विश्व बौद्ध जगत्मा मात्र नभई अन्य क्षेत्र पनि उत्साहित भएको थियो। नेपालमै भने काठमाडौँका बौद्धहरूमा मात्र यो चर्चाको विषय बन्यो। त्यसबेला लुम्बिनी पुग्न भारत हुँदै जानुपर्थ्यो। 

काठमाडौँस्थित स्वयम्भू महाचैत्य। तस्बिर : नेपाल फोटो लाईब्रेरी

सन् १९६७ अप्रिलमा लुम्बिनीको भ्रमणमा आएका संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तको अनुरोधमा राजा महेन्द्रले यो ठाउँको विकासको पहल गरेका थिए। लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघभित्र एउटा कमिटी बनाउनुका साथै यसलाई अन्तर्राष्ट्रिय चासोको विषय बनाउने काम त्यही बेला भएको थियो। आज देखिएको भव्य, सौम्य लुम्बिनी त्यसैको परिणाम हो। 

चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणबाट लुम्बिनी र कपिलवस्तुको अवस्थिति पत्ता लागेको हो। सन् १९९५ मा निग्लिहवामा भेटिएको अशोक स्तम्भको अभिलेख हेरेर त्यसको पूर्वमा लुम्बिनी हुनुपर्ने अनुमान गरी खोजी गर्ने क्रममा जर्मन पुरातत्वविद् डा. ए. फुहररले लुम्बिनीमा अर्को अशोक स्तम्भ भेटेका थिए, जसबाट बुद्धको जन्मको रहस्य पत्ता लागेको थियो। त्यसपछि कपिलवस्तुको निग्लिहवा, गोटिहवा, सगरहवा, कुदान, धम्नीहवा, तिलौराकोट आदि बुद्धकालीन क्षेत्र भएको थाहा भयो। 

नवलपरासीमा सबैभन्दा पहिले डा. ह्वेले एउटा ढिस्को देखेका थिए। त्यो उत्खनन गरेर हेर्दा रामग्राम स्तूप नै भन्न सकिने तथ्य पाइयो। रामग्रामकै केही दूरीमा अन्य पुरातात्विक स्थलहरू जस्तै: कन्यामाई, वैरीमाई, भगवानपुर, पण्डितपुर आदि ठाउँका अवशेष पनि पाइएको छ, जसले प्राचीन कोलीय नगर तथा बौद्ध स्थलहरूबारे थप जानकारी दिन्छ। 

प्रतिनिधिसभा निर्वाचनको मुखमा पनि बौद्ध स्थलहरू खासै चुनावी मुद्दा नबन्नुको कारण यसबारे मतदातामै सरोकार नभएर पनि हो।

लुम्बिनी क्षेत्रमा रहेका बौद्ध पुरातात्विक स्थलहरूको संरक्षण र विकास गर्ने जिम्मा लुम्बिनी विकास कोषले पाएको छ। तर, कोषको ध्यान लुम्बिनीमा मात्र केन्द्रित छ। अन्य बौद्ध सम्पदा स्थलहरूको एकीकृत विकास र प्रचारप्रसार प्राथमिकतामा परेको छैन। जसका कारण तीबाट मुलुकले फाइदा लिन सकेको छैन। गौतम बुद्धको अस्थिधातु रहेको रामग्राममा स्थानीय स्तरमा रामग्राम विकास कोष गठन भएको छ। जुन राम्रो अभ्यास हो, यस्तो अभ्यास अन्यत्र पनि गर्न सकिन्छ। स्वायत्त संस्थाका रूपमा कानुनी अधिकार दिएर यस्ता कोषहरूलाई अझ बलियो बनाउनुपर्छ। 

प्रतिनिधिसभा निर्वाचनको मुखमा पनि बौद्ध स्थलहरू खासै चुनावी मुद्दा नबन्नुको कारण यसबारे मतदातामै सरोकार नभएर पनि हो। बुद्धले कस्तो शिक्षा दिएका थिए? उनको शिक्षा विश्वभर कसरी फैलियो? उनी किन मन पराइएका हुन्? बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरूले बौद्ध र पर्यटकका लागि के महत्त्व राख्छ? जस्ता कुरा नबुझेसम्म यसबाट पाइने फाइदा ‘आकाशको फल’ बन्ने निश्चित छ। यसको अर्को कारण, लुम्बिनी क्षेत्रमै बौद्ध धर्मावलम्बीको बसोबास निकै कम हुनु पनि हो। 

स्थानीयहरू बौद्ध धर्मावलम्बी नै हुनुपर्छ भन्ने होइन, धार्मिक सद्भाव राखे पुग्छ। 

बुद्ध, बौद्ध र बौद्ध सम्पदाका सम्बन्धमा छिपछिपे ज्ञान र उल्टोपाल्टो बुझाइले पनि हामीलाई समस्यामा पारिरहेको छ। यस्ता कथित ज्ञान र त्यसमा आधारित कतिपय गतिविधिले स्वदेशी तथा विदेशी बौद्धहरूको भावनामा चोट पार्छ। स्थानीयहरू बौद्ध धर्मावलम्बी नै हुनुपर्छ भन्ने होइन, धार्मिक सद्भाव राखे पुग्छ। तर हामीले के बुझ्नुपर्छ भने, बुद्ध र बौद्ध धर्मप्रति उदासीनता अनि स्वदेशी तथा विदेशी बौद्धहरूलाई उपेक्षा गरेर बौद्ध स्थलहरूको विकास हुन सक्दैन। 

बुद्ध र बौद्ध धर्मदर्शनविपरीतका कुरा जबर्जस्ती थोपर्नु बौद्ध स्थलहरूको मर्ममाथि आघात पार्नु हो। बौद्ध स्थलहरू धर्म, दर्शन र भावनासँग सम्बन्धित हुने भएकाले यसको विशिष्टता सदैव उँचो राख्नुपर्छ। 

बुद्ध जन्मस्थल लुम्बिनीसहित अन्य स्थलहरू इतिहासले नेपाललाई नासोका रूपमा दिएको बुझ्नुपर्छ। यही नासो हाम्रा लागि विश्वजगत्मा देखाउने सौम्य शक्ति पनि हो। भारतमा अवस्थित बुद्धको जीवनीसम्बन्धी सबैजसो स्थलहरू अन्तर्राष्ट्रिय आकर्षण बनेका छन्। उचित व्यवस्थापन गर्न सक्ने हो भने नेपाललाई पनि त्यो अवसर छ। यसका लागि तीन वटै तहका सरकार संवेदनशील हुनुपर्छ। यति महत्त्वपूर्ण सम्पदा भएकाले बौद्ध स्थलहरूको विकास र प्रवर्द्धन निर्वाचनमा छुट्नै नहुने मुद्दा हो।