काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शन गर्न जाने भक्तजनका लागि रुटको व्यवस्था गरिएको छ ।
मन्दिरमा दर्शन गर्न जानेहरुका लागि प्रहरीले सुरक्षा र यातायात व्यवस्था मिलाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दर्शनार्थीका लागि निश्चित ठाउँमा पार्किङ तोकिएको छ । दर्शनार्थीको भिडले गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न अवस्था नआएपछि रुटको व्यवस्था गरिएको हो ।
पार्किङको व्यवस्था यसरी मिलाइएको छ :
१. सिफल चौरमा दर्शानार्थीको सवारी, पास वाहक सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन ।
२. गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधन ।
३. पशुपति विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पासवाहक सवारी साधन ।
४. तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधन ।
५. वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघ संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधन ।
६. प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधन ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइए पनि भिडभाड अत्यधिक हुँदा सवारी आवागमनमा समस्या भएपछि डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ ।
तीनकुनेबाट सिनामङ्गल, बौद्ध एरियाबाट गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क आउने सम्पूर्ण मालबाहक सवारी साधन आवश्यकताअनुसार निषेध गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भए चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशाला, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।