बढ्यो इन्धनको भाउ
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढेको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको निगमले जानकारी गराएको छ ।
योसँगै काठमाडौँ‚ पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ भने चारआली‚ विराटनगर‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज‚ धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य १५३.५० रुपैयाँ पुगेको छ।
त्यसैगरी डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९.५० रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ छन् भने तेस्रोमा काठमाडौँ, पोखरा र दिपायल समावेश छन्।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आमउपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मूल्य समायोजन गरिएको जनाएको छ।
निगमले अन्तर्राष्ट्रिय बजार र खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।
