पर्सा। सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ।
संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए।
गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए। सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट रु २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ।