काठमाडौँ। भारतको राजधानी नयाँदिल्लीमा इन्डो-नेपाल ट्रेड फेस्टिभल हुने भएको छ। महोत्सवको दोस्रो सत्र ८‚ ९ र १० फागुनमा हुने भएको हो।
‘जनतालाई जोड्ने दुईपक्षीय व्यापारको प्रभावकारिता’ भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन सत्रमा नेपालका लागि भारतका राजदूत शंकरप्रसाद शर्मा, विशिष्ट अतिथि भारत सरकारका पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, भारत सरकारका केन्द्रीय सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धिया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता रहनेछ।
पहिलो संस्करणको सफलतापछि महोत्सव भारत-नेपालबीच द्विपक्षीय आर्थिक सहकार्य, पर्यटन एकीकरण, सांस्कृतिक आदान-प्रदान तथा लगानी साझेदारी सुदृढ गर्ने प्रमुख द्विपक्षीय मञ्चका रूपमा स्थापित भएको छ। यसपटकको महोत्सवमा जलविद्युत् तथा ऊर्जा साझेदारी, सीमापार व्यापार तथा कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटसहित पर्यटन एकीकरण, बैंकिङ, फिनटेक तथा डिजिटल अर्थतन्त्र सहकार्य, मिडिया तथा सांस्कृतिक कूटनीति, युवा सहभागिता, शिक्षा तथा नवप्रवर्तन साझेदारी, स्टार्टअप इकोसिस्टम तथा इन्डो-नेपाल सहकार्यको भिजन- २०३० लगायत विषयमा विभिन्न दशभन्दा बढी उच्चस्तरीय सत्र तथा नीतिगत संवादमा साठीभन्दा बढी विज्ञ सहभागी हुने कार्यक्रम छ।
त्यसैगरी व्यवसायिक नेटवर्किङ कार्यक्रम तथा नीति-निर्माता, मन्त्री, कूटनीतिज्ञ, उद्योगी व्यवसायी, लगानीकर्ता र उद्यमीहरूबीच बीटुबी तथा बीटुजी बैठकहरू आयोजना गरिनेछ। यी सत्रले दुवै देशका विज्ञ, नीति-निर्माता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूलाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसरहरू खोज्न एकै मञ्चमा ल्याउने विश्वास आयोजकको छ।
नयाँदिल्लीस्थित पीएडी चेम्बरको भवनमा आयोजना हुने महोत्सवमा व्यवसाय तथा नीतिगत छलफलसँगै नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई सांगीतिक कार्यक्रम, चलचित्र प्रदर्शन, परम्परागत कला तथा प्रमाणिक नेपाली परिकारमार्फत प्रस्तुत गरिनेछ। महोत्सवमा भारत र नेपालका विभिन्न ६० भन्दा बढी स्टल रहनेछन्। महोत्सवलाई २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ।
नयाँदिल्लीस्थित प्रेस क्लबमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (ईसीसीआई) का अध्यक्ष युवराज बरालले महोत्सवबारे जानकारी गराउँदै इन्डो-नेपाल ट्रेड फेस्टिभल व्यापार, पर्यटन, संस्कृति र नवप्रवर्तनमार्फत द्विपक्षीय सहकार्य सुदृढ गर्ने परिवर्तनकारी मञ्चका रूपमा परिकल्पना गरिएको दाबी गरे।
उनले भने, “नेपाल र भारतबीच विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारी निर्माण गर्न लगानी अवसर विस्तार गर्न तथा भारत-नेपालबीचको ऐतिहासिक मित्रतालाई अझ गहिरो बनाउन महोत्सवले थप मद्दत गर्नेछ। यो ऐतिहासिक द्विपक्षीय कार्यक्रमले भारत-नेपाल आर्थिक कूटनीतिलाई थप सुदृढ गर्दै दीर्घकालीन क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्नेछ।”
भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन ईसीसीआईको मुख्य आयोजना, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड तथा व्यापार तथा प्रवर्द्धन केन्द्रको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो। सन् २००८ मा स्थापना भएको ईसीआईमा भारतका विभिन्न क्षेत्रका आठ सयभन्दा बढी उद्योगी व्यवसायी सदस्य छन्।