काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काभ्रेपलाञ्चोक। गत भदौ २३ र २४ को जेन जेड आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको यहाँको बनेपा नगरपालिकाको क्षतिग्रस्त भवन तत्काल पुन:निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनमा सार्ने तयारी थालिएको छ।

बनेपा नगरले नगर अधिवेशनको निर्णयअनुसार गत माघ ४ गते नै शिक्षालयलाई पत्राचार गरेको करिब एक महिनापछि उक्त निर्णय सार्वजनिक गरिएको हो।

नगरप्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित पत्रमा शिक्षालयमा रहेका भवन र शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा बनेपा नगर कार्यालयको कार्यालय सञ्चालन गर्नेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेकाले आगामी शैक्षिक सत्रदेखि त्यहाँ सञ्चालित पठनपाठन सारिने र सो ठाउँ खाली गर्न अनुरोध गरिएको छ। हाल १० नं वडा कार्यालयबाट अस्थायी रूपमा नगर कार्यालय सञ्चालन गर्दै आइएको छ।

शिक्षालयले भने नगरपालिकाको अनुरोधमा सहमति जनाइ नसकेको बताइएको छ। नगरले पत्राचार गरी संरचना खाली गर्न अनुरोध गरेपछि शिक्षालयले कुनै प्रतिक्रिया जनाएको छैन।

जेन जेड आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो। नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको जनाएको छ।

उक्त निर्णयको चौतर्फी विरोध भएपछि ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पारित गरी उक्त निर्णय गरेको’ स्पष्ट पारेको छ। नगरप्रमुख शाक्यले नगर सभाको निर्णय अनुसार नै शिक्षालयलाई पत्राचार गरेको बताए।

यसैबीच ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिई नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ। आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्यांकनमा उल्लेख छ।