काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

सन्दर्भ : प्रजातन्त्र दिवस

त्यो तस्बिरको गौरवगाथा जसरी इतिहासले गाउँछ, तस्बिर खिच्न र प्रकाशन गर्न जोखिम मोल्ने रेवन्तकुमारी आचार्य र सीतादेवी शर्माको सम्झना पनि उसैगरी ताजा भएर आउँछ।

७ फाल्गुन २०८२
बन्दीगृहमा क्यामेरा पुर्‍याई खिचिएको तस्बिर। बायाँबाट क्रमश: गोविन्दप्रसाद उपाध्याय, टंकप्रसाद आचार्य, चुडाप्रसाद शर्मा र रामहरि शर्मा। तस्बिर स्रोत : राजेश गौतम
अ+
अ-

भारतको दिल्लीबाट ४ फागुनमा राजा त्रिभुवन सपरिवार स्वदेश फर्केपछि ७ गते राणातर्फका पाँच जना र नेपाली कांग्रेसबाट पाँच जना रहने गरी मोहनशमशेरको नेतृत्वमा नयाँ मन्त्रिमण्डल घोषणा गरी शासन सञ्चालन गर्ने विचार व्यक्त गरे। यसै दिनलाई नेपालमा प्रजातन्त्र आएको दिनका रूपमा सम्झना गर्ने गरिएको छ।

२ असोज १९०३ मा राजदरबारभित्रका कमजोरीहरूमा टेकेर जंगबहादुर कुँवरले आफ्ना भाइहरूको सहयोगमा रक्तरञ्जित इतिहास रचे। त्यसपछिको १०४ वर्षको लामो कालखण्ड नेपालको शासनव्यवस्था एउटै वंश र त्यसमा पनि एउटै परिवारको पेवा बन्न पुग्यो। त्यस निरंकुश पारिवारिक सत्ताले जनतालाई रैती बनायो। रैतीबाट प्रजा बन्न नेपाली जनताका छोराहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठकुरी र गंगालाल श्रेष्ठले बलि चढ्न पर्‍यो। कैयौँले यातनासहितको कारावास भोग्न पर्‍यो।

२००७ सालको क्रान्ति सफल बनाउनेहरूमा पुरुषहरू मात्रै थिए कि भन्ने भ्रमले हाम्रो मनमस्तिष्कमा जरोकिलो गाडेर बसेको छ। यस लेखमा भने त्यो क्रान्ति सफल बनाउन दुई जना महिलाले खेलेको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरिएको छ। यस लेखका लागि इतिहासकार राजेश गौतमद्वारा लिखित नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्को भूमिका भाग-१ (२०६२) र पत्रकार दीपक सापकोटालिखित ‘९ वर्षकी बालख छोरीको बिहे रोक्ने रेवन्तकुमारी’ लाई सन्दर्भस्रोतका रूपमा लिइएको छ।

विद्रोहको सुरुआत

जब जंगबहादुरले निरंकुश जहानियाँ शासन सुरु गरे, तब विद्रोहको स्वर पनि सुनिन थाल्यो। अछामका बलदेव शाह अर्थात् बाँकाबीरले उनीविरुद्ध गरेको सशस्त्र विद्रोह त्यो समय ख्यालठट्टा थिएन। राई, लिम्बू मात्रै भर्ना गरिने भैरवनाथ पल्टनमा कार्यरत सेना काठमाडौँबाट घरछुट्टी गएपछि जागिरमै नफर्की जंगबहादुरको आदेशको अवज्ञा गरेको घटना पनि इतिहासमा उल्लेखनीय छ। गुरुङ मात्रै भर्ना गरिने कालीबहादुर पल्टनभित्र एक गुरुङ जमादारले जंगबहादुरविरुद्ध विद्रोह गर्न बनाएको गुप्त योजनाले पनि त्यो समयको शासनप्रतिको असन्तुष्टि स्पष्ट पार्छ।

गोरखा बुंकोटमा लखन थापाले व्यवस्थित रूपमा सैन्य संगठन गरी जंगबहादुरको अन्त्यका लागि मनकामनादेवीको कसम आएका थिए। गोरखाकै सुकदेव गुरुङले आफूलाई नौ सरकार बौद्ध बादशाह घोषणा गरी जंगबहादुरविरुद्ध विद्रोहको बिगुल फुकेका थिए, बन्दी अवस्थामै उनको देहान्त भएपछि उनको उत्तराधिकारीका रूपमा सुपति गुरुङले विद्रोहको नेतृत्व गरेका थिए।

राणाहरूको निरंकुश र हुकुमीतन्त्रविरुद्ध यस्ता जनविद्रोह र आन्दोलनको ऐतिहासिक पृष्ठभूमि रहेको नेपालमा आर्यसमाज, मकैको खेती पुस्तक प्रकरण, पुस्तकालय पर्व हुँदै चर्खा आन्दोलन, प्रचण्ड गोरखाको स्थापना, महावीर स्कुल हुँदै नेपाल प्रजा-परिषद्को स्थापनापछि नेपालमा प्रजातान्त्रिक आन्दोलनको जग थप मजबुत हुँदै गयो। यही प्रजा-परिषद्का संस्थापकहरू धर्मभक्त माथेमा र दशरथचन्द ठकुरीका साथै नवयुवा गंगालाल श्रेष्ठले मृत्युदण्ड भोगे। प्रजा-परिषद्सँग सम्बद्ध नभए पनि शुक्रराजलाई त्यसै काण्डमा मुछेर झुन्ड्याइयो। परिषद्का संस्थापकद्वय टंकप्रसाद आचार्य र रामहरि शर्मा ब्राह्मण भएकाले उनीहरूको ज्यान लिइएन, चार पाटा मुडी बेइज्जत गरी जात पतित गरेर उनीहरूलाई बन्दीगृहभित्र कोचियो।

कसरी खिचियो तस्बिर?

दरबारिया काजीको नाति भए पनि त्यो प्रतिष्ठा र सम्बन्धको कुनै वास्ता नगरी राणाशासनलाई समाप्त पार्ने प्रतिज्ञा गरी आन्दोलनमा होमिएका गणेशमान सिंहले जेलब्रेक गरेको घटना इतिहासमा सुनौलो अक्षरले अंकित छ। त्यही बन्दीगृहको चौघेराभित्रै क्रान्तिकारीहरूको बन्दी अवस्थाको तस्बिर भारतबाट छापिने अखबारमा छापेर गरिएको ‘चामत्कारिक’ कामलाई पनि उत्तिकै महत्त्वका साथ चर्चा गर्न जरुरी छ। त्यो चुनाैतीपूर्ण काम दुई जना साहसी नारीबाट सम्भव भएको थियो।

त्यो समय भारतीय समाजवादी चिन्तक रामवृक्ष बेनीपुरी सम्पादक रहेको जनता साप्ताहिकले पनि नेपालको राणाविरुद्धको अभियानमा समाचार र लेखरचनाहरू प्रकाशित गरेर ठूलै गुन लगाइरहेको थियो। सेवा सिंहको छद्म नामबाट प्रकाशन हुने लेखरचनाहरूले राणाहरूलाई तनाव दिइरहेको थियो। यस विषयमा अनेक छानबिन गरिए। पछि थाहा भएअनुसार सेवा सिंहको नामबाट लेख्ने व्यक्ति चाहिँ दशरथ चन्द रहेछन्।

यस्तै,  १९ फेब्रुअरी १९४९ (८ फागुन २००५) मा भारतबाटै प्रकाशित हुने ब्लिज पत्रिकामा छापिएको एउटा सनसनीपूर्ण तस्बिरले राणाहरूको सातो लियो। बन्दी अवस्थामा फलामको सिक्रीले हातखुट्टा बाँधिएका प्रजापरिषद्का चार जना नेताहरू गोविन्दप्रसाद उपाध्याय, टंकप्रसाद आचार्य, चुडाप्रसाद शर्मा र रामहरि शर्माको तस्बिर थियो त्यो।

क्यामेराको बन्दोबस्त भने मधुप्रसाद शर्माले गरेका थिए। बन्दीगृहभित्र क्यामेरा लैजानु पटक्कै सहज थिएन। अनेक अक्कल गरी बन्दीगृहभित्र क्यामेरा पुर्‍याउने काम सीतादेवी शर्माले गरेकी थिइन्।

ठाउँ ठाउँमा खानतलासी लिइने त्यस समयको निषिद्ध देशमा तस्बिर खिच्नु र भारतसम्मै पुर्‍याइने काम कम सकसपूर्ण थिएन। त्यो ‘एक्सक्लुसिभ’ तस्बिर राणाशासनको जग हल्लाउन निकै ठूलो काम गर्‍यो।

त्यो तस्बिर खिच्ने र प्रकाशन गर्नेसम्मको साहसी काममा टंकप्रसाद आचार्यकी जीवनसँगिनी रेवन्तकुमारी र रामहरि शर्माकी जीवनसँगिनी सीतादेवी शर्माले ठूलो भूमिका निर्वाह गरे।

क्यामेराको बन्दोबस्त भने मधुप्रसाद शर्माले गरेका थिए। बन्दीगृहभित्र क्यामेरा लैजानु पटक्कै सहज थिएन। अनेक अक्कल गरी बन्दीगृहभित्र क्यामेरा पुर्‍याउने काम सीतादेवी शर्माले गरेकी थिइन्। पहिले बन्दीगृहमा माल जाँच्ने कर्मचारीहरूको मनोविज्ञान परीक्षण गरेर एक दिन मालसामान पठाउने टिनको ढ्वाङमा क्यामेरा राखेर त्यसमाथि चामलले आधा आधी भरी सीतादेवीले त्यसमाथि केराउको हरियो कोसा राखेकी थिइन्। त्यो बोकाएर उनी एकाबिहानै बन्दीगृह पुगिन्। त्यहाँ उनले एक अन्जुली केराउको कोसा झिकेर बन्दीगृहका कर्मचारीलाई दिइन् र भित्र चामल भएको बताइन्।

रेवन्तकुमारी आचार्य। तस्बिर स्रोत : दीपक सापकोटा

बन्दीगृहभित्र क्यामेरा बडो सावधानीपूर्वक राखियो र राम्रो प्रकाश आएको बेला दाउ पारेर तस्बिर पनि खिचियो। तर, क्यामेरा बाहिर पठाउन समस्या थियो। त्यसमा पनि एउटा जुक्ति निकालियो। कुनै एक बहानामा सीतादेवी बन्दीगृहको पर्खालबाहिरको खेतमा निश्चित समयमा आउने, बन्दीगृहभित्रका मानिसले झ्यालबाट उनी आए/नआएको हेरिरहने अनि पाले सिपाहीको आँखा छली तस्बिर खिचेको रिलसहितको क्यामेरा केही वस्तुमा पोको पारी टाढा पर्ने गरी फ्याँक्ने योजना बुनियो।

त्यसबेला बन्दीहरूलाई भद्रगोलमा राखिएको थियो।

रिल धुलाउने र तस्बिर बनाउने अर्को दुरूह कार्य थियो। त्यो काम चुडाप्रसादका भाइ मधुप्रसादले सम्पन्न गरे। हुलाकमार्फत रजिस्ट्री गरेर भारत पठाउने योजना थियो। लैनचौरस्थित भारतीय हुलाक कार्यालयबाट पठाउनुपर्ने उक्त चिठी दुर्भाग्यवश राणाहरूको सेन्सरमा पुग्यो। सरकारले त्यो जफत गरी राजनीतिक मुद्दा हेरिरहेका मोहनशमशेरकहाँ पुर्‍यायो।

त्यो बेला काठमाडौँ आवतजावत गर्न राहदानी लिनुपर्थ्यो। चिसापानी गढीमा कडाइका साथ खानतलासी हुन्थ्यो। यो काम महिलाबाट मात्रै सम्भव छ भन्ने निष्कर्ष बन्दीगृहभित्र रहेका क्रान्तिकारीहरूले निकाले। त्यसका लागि रेवन्तकुमारी त्यो जोखिम मोल्न तयार भइन्।

त्यसबेला बन्दीगृहका हाकिम कार्की थरका एक जना कप्तान थिए। मोहनशमशेरले आफ्नो निवास लक्ष्मीगृहमा बोलाएर उनलाई त्यो देखाए। उनी कर्णेलका छोरा थिए। त्यही खानदानका कारण त्यस प्रकृतिको दण्डनीय गैरजिम्मेवारीमा पनि ती कप्तानलाई नसिहतसम्म दिएर छाडिदिए। उनी कालो-निलो मुख लगाएर त्यहाँबाट सिधै बन्दीगृहमा आई क्यामेरा खोजी गर्न थाले। कोठाको तलासी लिइए पनि क्यामेरा पाइएन। तस्बिर जफत भए पनि नेगेटिभ सुरक्षित नै थियो, त्यो राणाहरूले फेला पार्न सकिरहेका थिएनन्।

त्यो बेला काठमाडौँ आवतजावत गर्न राहदानी लिनुपर्थ्यो। चिसापानी गढीमा कडाइका साथ खानतलासी हुन्थ्यो। यो काम महिलाबाट मात्रै सम्भव छ भन्ने निष्कर्ष बन्दीगृहभित्र रहेका क्रान्तिकारीहरूले निकाले। त्यसका लागि रेवन्तकुमारी त्यो जोखिम मोल्न तयार भइन्। उनले अनेकौँ कष्ट सहेर बाँकी तस्बिर र नेगेटिभ कलकत्ता पुर्‍याई त्यहाँका राणाशासनविरोधी नेपाली राष्ट्रिय कांग्रेस पार्टीलाई सुम्पिइन्।

त्यसपछि भारतीय पत्रपत्रिका तथा कांग्रेसको प्रचार पुस्तिकामा यी तस्बिरहरू छापिए। तस्बिरका प्रतिहरू नेपालभित्र पनि प्रचार गरियो। तस्बिरको मास्तिर बन्दीहरूको नाम लेखी ‘राजकाज मुद्दामा परी आठ वर्षदेखि काठमाडौँको नारकीय जेलमा हाँसीहाँसी असीम यातना सहँदै नेपालको सेवा गरिरहनुभएको छ’ भन्ने शब्दका साथ व्यापक प्रचार गरियो।

राणाशासनको अन्त्यपछि घोषणा गरिएको मन्त्रिमण्डलको नामावली। तस्बिर स्रोत : भगिराज इङ्नाम

यस तस्बिरको प्रकाशनले भारतीय स्वतन्त्रता सेनानीको ध्यान पनि नेपालतिर तानिन थाल्यो। नेपाली क्रान्तिकारीहरू, जनताप्रति सहानुभूति र राणाहरूप्रति नकारात्मक धारणा उत्पन्न हुन थाल्यो। ती तस्बिरलाई नेपाल प्रवेश गराउन खोज्दा चुनचुन बाबु नामले चिनिएका गुलाबनारायण झा पक्राउ परे। यस्तो दमनले तस्बिरको प्रचार र प्रदर्शन रोकिएन। सोही समयमा कलकत्तामा एसियाली छात्र सम्मेलनको आयोजना भएको थियो। नेपाली छात्रहरूका तर्फबाट सम्मेलनमा भाग लिन पुगेका देवेन्द्रराज उपाध्यायको भाषण छापिएको पुस्तिकामा पनि त्यो तस्बिर छापिएको थियो। यसले पनि राणाहरूको अत्याचारको प्रचार भयो। यस्तो प्रचार नेपाल र भारतमा मात्रै सीमित रहेन, त्यहाँबाट नाघेर एसिया र विश्वका अरू राष्ट्रहरूमा पनि फैलियो।

यो तस्बिर त्यही तस्बिर हो, जसले नेपालमा ७ फागुन २००७ को नौलो बिहानी ल्याउन ठूलो भूमिका खेल्यो। राणाशासनको जगलाई नराम्ररी हल्लाइदिने त्यो तस्बिरको गौरवगाथा जसरी इतिहासले गाउँछ, तस्बिर खिच्न र प्रकाशन गर्न सहजीकरण गरी जोखिम मोल्ने दुई साहसी नारी रेवन्तकुमारी आचार्य र सीतादेवी शर्माको सम्झना पनि उसैगरी ताजा भएर आउँछ।