परिकार
कुनै बेला राजवंशीहरूको मात्र खाना मानिने भक्का पछिल्लो समय जातीय घेरा नाघेर राष्ट्रिय स्वरूप ग्रहण गर्दै
माटोले लिपेको चुलो, त्यसमाथि राखिएको हाँडी। केही बेरमै हाँडीको मुखबाट बाफको मुस्लो निस्कन थाल्छ। मोरङको धनपालथान–६, दादरबैरियाकी रुक्मणी राजवंशी, मीना राजवंशी र रञ्जिता राजवंशीको हात निकै व्यस्त देखिन्छन्।
उनीहरू कचौरामा भिजाएको चामलको पीठोलाई हल्कासँग मिलाउँछन् र त्यसलाई कपडाले बेरेर हाँडीको मुखमा राख्छन्। हेर्दाहेर्दै तीनचार मिनेटमै चामलको त्यो पीठो पाकेर खानलायक ‘भक्का’ बन्छ।
पूर्वी तराईको मौलिक खान्की मानिने ‘भक्का’ अचेल केवल एक समुदायको मात्र रहेन, यो त आममानिसको प्रिय खाजा बनेको छ।

भक्का बनाउन पीठो मुस्दै राजवंशी महिला।
झापा र मोरङका आदिवासी कोच राजवंशी समुदायमा भक्का खाने चलन निकै पुरानो हो। चामलको पीठोलाई पानीको बाफमा पकाएर बनाइने यो परिकार पोसिलो, स्वादिलो र आडिलो हुन्छ। पुसदेखि फागुनको अन्त्यसम्म अर्थात् जाडो याममा ‘हुरहुरी’ बाफ उड्ने तातो भक्काको स्वादले जोकोहीलाई आकर्षित गर्छ।
जब ती भाँडाबाट तात्तातो भक्का बाहिर निस्किए, तब त्यहाँ उपस्थित सयौँ मानिसका अनुहारमा एउटा सांस्कृतिक गौरवको चमक देखियो।
अचेल यो परिकार राजवंशी समुदायमा मात्र सीमित छैन। मेचे, धिमाल, ताजपुरिया र थारू महिलाले पनि यसलाई व्यावसायिक रूपमा बनाउन थालेका छन्। सहरका गल्ली र चोकदेखि ठूला तारे होटलसम्म भक्काको माग दिनानुदिन बढ्दो छ।
गत २९ पुसमा धनपालथान–६, दादरबैरियामा एउटा भिन्नै रौनक थियो। लहरै मिलाएर राखिएका १५ वटा भाँडाबाट एकैसाथ सेतो बाफ उडिरहेको थियो। लिपपोत गरेर सजाइएको चोक, छेउमा थुपारिएको दाउरा र चामलको सुगन्धित पीठो। जब ती भाँडाबाट तात्तातो भक्का बाहिर निस्किए, तब त्यहाँ उपस्थित सयौँ मानिसका अनुहारमा एउटा सांस्कृतिक गौरवको चमक देखियो।

मोरङको धनपालथान ६, दादरबैरियामा भक्का दिवसका अवसरमा भक्का बनाउँदै राजवंशी समुदायका महिलाहरू।
यो दृश्य थियो– ‘नवौँ राष्ट्रिय भक्का दिवस’ को। कोच राजवंशी समुदायको पहिचानसँग जोडिएको यस परिकारलाई उत्सवका रूपमा मनाउन झापा, मोरङ र सुनसरीका सयौँ मानिस दादरबैरियामा भेला भएका थिए। राजवंशी समाज विकास समितिकी अध्यक्ष सुनीता राजवंशी कार्यक्रमको संयोजन गर्दै पाहुनालाई भक्का चखाउन तल्लीन थिइन्।

पकाउन राखिएको भक्का। तस्बिर : अनिल श्रेष्ठ
“हाम्रा लागि भक्का खाजा मात्र होइन, हाम्रो सभ्यता र पुर्खाको नासो हो,” सुनीता भन्छिन्, “२९ पुसमै यो दिवस मनाउनुको विशेष कारण छ। पौराणिक कालदेखि माघे संक्रान्तिको अघिल्लो दिन छोरीबेटीलाई घरमा बोलाएर भक्का खुवाउने चलन थियो। त्यही परम्परालाई हामीले दिवसको रूप दियौँ।”
बिहानीको चिसोमा तातो भक्का, गोलभेँडाको चटनी वा नुन-खुर्सानीसँग खानुको आनन्द बेग्लै हुन्छ।
भक्काको साइनो पौराणिक कथासँग पनि जोडिएको जनविश्वास छ। अध्यक्ष सुनीताका अनुसार महाभारतको युद्धपछि भीष्म पितामहले देहत्याग गर्ने बेला आफ्नो शक्ति प्रकृतिमा छोड्दै चामलको भक्का चढाउन आग्रह गरेका थिए।
“जसले म (भीष्म)लाई चढाएको भक्का खान्छ, उसले मेरो शक्ति प्राप्त गर्छ भन्ने जनश्रुति छ,” उनी भन्छिन्, “त्यसैले यो हाम्रो सनातन संस्कारसँग पनि अभिन्न रूपले जोडिएको छ।”
पछिल्लो समय भक्का जातीय घेरा नाघेर राष्ट्रिय स्वरूप ग्रहण गर्दै छ। झापाका तीन वटा पालिकाले भक्का दिवसमा सार्वजनिक बिदा दिनु र विगत तीन वर्षदेखि प्रधानमन्त्रीस्तरबाटै शुभकामना सन्देश जारी हुनुले यसको बढ्दो महत्त्व झल्किन्छ। अहिले विभिन्न पात्रोहरूमा समेत ‘भक्का दिवस’ उल्लेख हुन थालेको छ।

भक्का बनाउने दाउरा र सन्टी।
पूर्वी तराईका भूमिपुत्र कोच राजवंशीको यो प्रिय खान्की अहिले धेरैका लागि जीविकोपार्जनको माध्यम बनेको छ। तराईका चोक चोकमा जाडोभरि भक्का बेचेर घरखर्च चलाउने महिलाको संख्या उल्लेख्य छ। बिहानीको चिसोमा तातो भक्का, गोलभेँडाको चटनी वा नुन-खुर्सानीसँग खानुको आनन्द बेग्लै हुन्छ।
चामलको पीठोलाई पानीको बाफमा मात्र पकाएर तयार गरिने हुनाले यो स्वास्थ्यका लागि पनि सुपाच्य मानिन्छ। “हाम्रो यो मौलिक खानालाई विश्वभर फैलाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्छ,” अध्यक्ष राजवंशी भन्छिन्।