९ फाल्गुन २०८२
अ+
अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक वर्ष पूरा गर्दै स्टेट अफ द युनियन सम्बोधनको तयारीमा जुटिरहेका बेला घरेलु र अन्तर्राष्ट्रिय दुवै मोर्चामा दबाबमा परेका छन्।

सर्वोच्च अदालतले उनको कर नीतिमाथि रोक लगाएपछि अर्थतन्त्रको सुस्त वृद्धि र आप्रवासन दमनप्रति बढ्दो जनअसन्तुष्टिले उनको राजनीतिक धारलाई चुनौती दिएको छ।

शुक्रबार सर्वोच्च अदालतले कूटनीतिक लाभका लागि सामाजिक सञ्जालमार्फत घोषणा गरिएका केही करका कदमहरू अस्वीकार गरेको थियो। सोही दिन सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अक्टोबरदेखि डिसेम्बरसम्म अमेरिकी अर्थतन्त्र १.४ प्रतिशत वार्षिक दरमा मात्र विस्तार भएको देखिएको छ। यो विश्लेषकहरूको २.५ प्रतिशतको अपेक्षाभन्दा कम हो। बढ्दो जीवनयापन लागतका कारण मतदाताहरूमा असन्तुष्टि चुलिँदै गएको सर्वेक्षणहरूले देखाएका छन्।

मुद्रास्फीतिको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले आर्थिक सामर्थ्य पुनःस्थापित गरेको दाबी गर्दै आएका छन् । तर विश्लेषकहरूले जनतालाई वास्तविक खर्चको अनुभवले नै प्रभाव पार्ने बताएका छन्।

जीवनयापन महँगो भएको र आप्रवासन दमन अपेक्षित रूपमा लक्षित नभएको धारणा आम मतदातामा बलियो बन्दै गएको छ ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा प्रतिनिधिसभा र सिनेटको एक तिहाइ सिट दाउमा छन् । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले नियन्त्रण लिए महाभियोगको प्रयास हुन सक्ने चेतावनी दिँदै आएका छन् । यद्यपि हालसम्म दुवै सदन रिपब्लिकन नियन्त्रणमै छन् ।

हालका दिनमा प्रशासन केही कदममा पछि हट्न बाध्य भएको देखिएको छ । पूर्वराष्ट्रपति बाराक ओबामासम्बन्धी विवादास्पद भिडियो राष्ट्रपतिको सामाजिक सञ्जाल खातामा पोस्ट भएपछि आलोचना बढेको थियो । त्यसलाई हटाउँदै ह्वाइट हाउसले एक सहयोगीको त्रुटि भएको जनाएको थियो । मिनियापोलिसमा आप्रवासन कारबाहीका क्रममा दुई अमेरिकी नागरिक मारिएपछि प्रशासनले त्यहाँको तैनाथी घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय रूपमा पनि आर्कटिक सुरक्षासम्बन्धी विषयमा अमेरिका–डेनमार्क–ग्रिनल्यान्ड कार्यसमूह गठन गरिएको छ । यसबीच ग्रिनल्यान्ड कब्जा गर्ने अभिव्यक्ति फिर्ता लिनुपरेको छ । सर्वोच्च अदालतको निर्णयपछि प्रशासनले आयातमा १० प्रतिशत कर लगाउने नयाँ व्यवस्था अघि सारेको छ, तर यसले अघिल्ला दरहरूको तुलनामा केही राष्ट्रका लागि सहज अवस्था सिर्जना गरेको छ ।

यद्यपि नीतिगत चुनौतीहरू अदालतमार्फत अगाडि बढ्दै रहे पनि राष्ट्रपति ट्रम्प सन् २०२९ सम्म ह्वाइट हाउसमा रहने निश्चित छ । मङ्गलबारको सम्बोधनमार्फत उनले आफ्नो उपलब्धि प्रस्तुत गर्दै आगामी राजनीतिक यात्राको दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।