काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

टी-२० विश्वकप

फ्लावर दाजु-भाइले ‘स्वर्णिम काल’ मा पुर्‍याएको र रोबर्ट मुगाबेको सत्ताको ग्रहण लागेको जिम्बाबेलाई पुनः लयमा फर्काउने अभियान

११ फाल्गुन २०८२
जिम्बाबेका क्रिकेटरहरू। तस्बिर : जिम्बाबे क्रिकेट
अ+
अ-

टी-२० विश्वकप सुरु हुनुअघि समूह ‘बी’ को समीकरण हेर्दा कसैलाई यो खुट्याउन गाह्रो थिएन, जारी विश्वकपमा सुपर-८ प्रवेश गर्ने टोली अस्ट्रेलिया र श्रीलंका मात्र हुन्। यसको कारण थियो, दुवै टोलीले यसअघि टी-२० विश्वकप जितिसकेका थिए।

यही समूहमा आयरल्यान्ड जस्तो अनुभवी टेस्ट राष्ट्र पनि सहभागी थियो। त्यसैले जिम्बाबेको सम्भावनालाई लिएर कसैले भविष्यवाणी गरेका थिएनन्। तर, भयो उल्टो। समूह ‘बी’ मा सबैभन्दा पुछारमा रहने भविष्यवाणी गरिएको जिम्बाबेले जारी विश्वकपमा ठूलो उलटफेर गर्‍यो। उसले पहिलो खेलमा वर्षाका कारण आयरल्यान्डसँग अंक बाँडेको अवस्थामा ओमानलाई आठ विकेट, अस्ट्रेलियालाई २३ रन र श्रीलंकालाई ६ विकेटले पराजित गर्दै सुपर-८ मा सहजै स्थान बनायो।

लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको जिम्बाबे टी-२० विश्वकपमा पहिलो पटक सुपर-८ मा प्रवेश गरेको हो। दुई वर्षअघि विश्वकपमा छनोट हुन नसकेको यस टोलीको अहिलेको प्रदर्शन हेरेर धेरै समर्थक चकित छन्। तर, प्रशिक्षक जस्टिन सामन्स टोलीको पछिल्लो उपलब्धिलाई संयोग र आकस्मिक नठान्न सबैलाई आग्रह गर्छन्। जिम्बाबेको स्थानीय पत्रिका एच-मेट्रोलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्, ‘अर्को चरणमा पुग्न सफल भएकामा साँच्चै उत्साही र अत्यन्तै खुसी छौँ। लगभग २० महिनाअघि हामीले यो लक्ष्य बनाएका थियौँ। जसलाई हासिल गरेका छौँ। टोलीको मिहिनेत, अनुशासन र तयारीको परिणाम हो।’

केही वर्षयता जिम्बाबे विश्व क्रिकेटको सबैभन्दा कमजोर टोली मानिन्थ्यो। तर, ऊ यस्तो सधैँ थिएन। १९८० र ९० को दशकमा जिम्बाबेलाई प्रतिद्वन्द्वीहरूले सबैभन्दा खतरनाक टोली मान्थे।

श्रीलंकाविरुद्धको खेलमा विकेट लिएपछि। तस्बिर : जिम्बाबे क्रिकेट

जिम्बाबेले सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा पहिलो पटक सन् १९८३ को तेस्रो एकदिवसीय विश्वकप (त्यतिबेला प्रुडेन्सियल कप)मा भाग लिएको हो। इङ्ल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाजस्ता बलिया राष्ट्र सहभागी त्यस विश्वकपमा अस्ट्रेलियालाई डेब्यु खेलमै १३ रनले पराजित गर्दै जिम्बाबेले तहल्का पिटेको थियो। तर, बाँकीका पाँच खेलमा ऊ नराम्रोसँग चुक्यो।

सन् १९९२ को पाँचौँ एकदिवसीय विश्वकपमा पनि उसले क्रिकेटको जन्मदाता इङ्ल्यान्डलाई नौ रनले हरायो। यो प्रदर्शनपछि विश्व क्रिकेट स्तब्ध बन्यो। यसपछि उसले दर्शकहरूको मन जित्न थालेको हो।

विश्वकपको यस्तै सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले पनि त्यही वर्ष जिम्बाबेलाई टेस्ट राष्ट्रको मान्यता प्रदान गर्‍यो। यो उपलब्धि जिम्बाबे क्रिकेटका लागि चानचुने थिएन। ऊ नवौँ राष्ट्रका रूपमा क्रिकेट खेल्ने सूचीमा समावेश हुँदै थियो।

टेस्ट राष्ट्रको मान्यताप्राप्त गरेको तीन वर्षभित्र फ्लावर दाजुभाइ एन्डी र ग्रान्टको सानदार ब्याटिङ प्रदर्शनका कारण जिम्बाबेले पाकिस्तानजस्तो बलियो टोलीलाई घरेलु मैदानमा ६४ रनले पराजित गर्‍यो। सन् १९९५ को फेब्रुअरीमा हरारेमा भएको पहिलो टेस्टमा ग्रान्टले अविजित २०१ रन र एन्डीले १५६ रन तथा हिथ स्ट्रिकले दुई इनिङ्समा नौ विकेट झारेपछि पाकिस्तानको कम्मर भाँचियो।

कप्तान सिकन्दर रजा भन्छन्, “कुनै बेला विश्वले जिम्बाबेको क्रिकेटको कुरा गर्थ्यो, अहिले हामी पुरानो साख फर्काउने लक्ष्यसहित उत्रिएका छौँ।”

त्यस टेस्टको अर्को आकर्षण अश्वेत बलर हेनरी ओलंगा पनि थिए। हेनरीको त्यो डेब्यु टेस्ट थियो भने उनको आगमनले जिम्बाबेको क्रिकेटलाई नयाँ आयाम दियो। यसअघि जिम्बाबेको टोलीमा श्वेतहरूको वर्चस्व थियो।

जिम्बाबेको क्रिकेटलाई नजिकबाट नियाल्दा सन् १९९७ देखि २००२ सम्मको अवधिलाई सफल र उत्पादनशील मान्न सकिन्छ। यही अवधिमा जिम्बाबेले अस्ट्रेलिया र भारतजस्ता ठूलो टोलीलाई कडा टक्कर दिने गर्थ्यो।

विकेटकिपर-ब्याटर एन्डी फ्लावर र उनका भाइ ग्रान्ट फ्लावरको स्थिर र आक्रामक शैलीले जिम्बाबेलाई सधैँ सन्तुलनमा राख्यो। आक्रामक अलराउन्डर हिथ स्ट्रिक र एन्डी ब्लिगनटको प्रभाव तथा भरपर्दा ब्याट्सम्यान मरे गुडविन र डेभिड हटनले आवश्यक रन जोड्दा स्पिनर पाउल स्ट्रिङ र एडु ब्रान्डेसले मध्यक्रममा दबाब बनाउँथे।

ब्रायन बेनेट र सिकन्दर रजा। तस्बिर : जिम्बाबे क्रिकेट

यी सबै खेलाडीको तालमेलले विश्व क्रिकेटमा जिम्बाबेलाई छुट्टै पहिचान दिलाएको थियो। टोली सधैँ उत्कृष्ट प्रदर्शन गर्न आतुर देखिन्थ्यो र सानो राष्ट्र भए पनि ठूलो शक्तिलाई ढाल्ने सामर्थ्य  राख्थ्यो। यसको पुष्टि उसले सन् २०००/०१ न्युजिल्यान्डविरुद्ध ‘होम एन्ड अवे’ दुवै शृंखलामा जित निकाल्नुले गर्छ।

तर, जिम्बाबेको प्रदर्शन सधैँ एकनास रहेन। सन् १९८० देखि २०१७ सम्म सत्तामा रहेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको शासनकालमा जिम्बाबे क्रिकेटमा गहिरो प्रभाव पर्‍यो। जिम्बाबेको क्रिकेट अति राजनीतिकरणको चपेटामा पर्दा सन् २००३ पछि यसको प्रदर्शन ओरालो लाग्दै गयो। यही कारण सन् २००३ को विश्वकप (जिम्बाबे र दक्षिण अफ्रिकाले संयुक्त रूपमा आयोजना गरेको)मा सहभागी हुँदा एन्डी र हेनरीले ‘लोकतन्त्रको मृत्यु’ भएको भन्दै मैदानभित्रै ‘कालो पट्टी’ बाँधेका थिए।

यस घटनाका कारण दुवैलाई टोलीबाट तुरुन्त बर्खास्त पनि गरियो। अझ, सन् २००४ मा कप्तान हिथ स्ट्रिकलाई पदबाट हटाउने निर्णयसँगै यसको विरोधमा १४ खेलाडीले राष्ट्रिय टोलीबाट नाम फिर्ता लिए।

विगतको कुरा सम्झिँदा कप्तान सिकन्दर रजा भन्छन्, “कुनै बेला विश्वले जिम्बाबेको क्रिकेटको कुरा गर्थ्यो, अहिले हामी पुरानो साख फर्काउने लक्ष्यसहित उत्रिएका छौँ।”

अहिले जिम्बाबेको निलम्बन हटिसके पनि उसले ठूलो नोक्सानी बेहोरिसकेको छ। युवा खेलाडी उत्पादन र पूर्वाधारमा खर्च हुने रकम संघले टिमको अस्तित्व बचाउन खर्चिनुपरिरहेको छ।

राजनीतिक अस्थिरताका कारण जिम्बाबे ६ वर्षको बहिष्कारपछि ४ अगस्ट २०११ मा पुनः टेस्ट क्रिकेटमा फर्किएको हो। सन् २०१४ सम्म यस देशमा केही सुधार देखिए पनि त्यसको केही समयपछि पुनः पतन सुरु भयो। अझ, सन् २०१४ को टी-२० विश्वकपमा पहिलो चरणबाटै बाहिरिएपछि समस्या थप जटिल बन्यो। देशभित्र क्रिकेटको पूर्वाधार लथालिंग बन्दा सन् २०१९ को विश्वकपमा छनोट हुन सकेन।

यसैबीच सरकारको हस्तक्षेप बढ्दै जाँदा १९ जुलाई २०१९ मा आईसीसीले जिम्बाबेलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गर्‍यो।

अहिले जिम्बाबेको निलम्बन हटिसके पनि उसले ठूलो नोक्सानी बेहोरिसकेको छ। युवा खेलाडी उत्पादन र पूर्वाधारमा खर्च हुने रकम संघले टिमको अस्तित्व बचाउन खर्चिनुपरिरहेको छ।

जिम्बाबे लगातार दुईपल्ट आईसीसी विश्वकपमा छनोट हुन असफल टोली हो। विशेषगरी अफ्रिकी छनोटमा हार बेहोरेपछि सन् २०२४ को विश्वकपमा पुग्न सकेन। त्यतिबेला ग्रासरुट क्रिकेट पनि लथालिंग थियो। धेरै राष्ट्रिय कप्तान उत्पादन गरेको प्रिन्स एडवर्ड एन्ड चर्चिल विद्यालय चलाउन उसलाई धौधौ परिरहेको छ।

जिम्बाबेको प्रतिभा जन्माउने मेरुदण्ड क्लब क्रिकेट हो। एक समय त्यो नै हराएजस्तो भयो। त्यसैले अलराउन्डर सेन विलियम्सले आफ्नो करिअरलाई ‘रोलरकोस्टर’ सँग तुलना गरेका छन्। यो अभिव्यक्ति उनको व्यक्तिगत अनुभव मात्र थिएन, विगत दुई दशकमा जिम्बाबे क्रिकेटले भोगेको उतारचढाव, अस्थिरता र संघर्षको कथा पनि थियो।

यस कथालाई पुनः लयमा ल्याउने अभियानमा यतिबेला जिम्बाबेका खेलाडीहरू जुटेका छन्। हेरौँ, उनीहरूको प्रयास कति सफल हुनेछ।