तीन घण्टाको पर्खाइ, आधा घण्टामै विसर्जन
इटहरी। सुनसरी इटहरीको भाटभटेनीअगाडिको एउटा खुला खेतबारीमा सयौं मान्छेको भिड। मंगलबार दिउँसोको मध्याह्नको टन्टलापुर घाम। कोही हातमा फूलका गुच्छा बोकेर बसेको देखिन्थे, कोही ‘आफ्ना प्रिय नेता’लाई मोबाइलको क्यामरामा कैद गर्न अग्लो ठाउँ खोज्दै थिए। धरानबाट आएकी सुस्मिता कार्कीको हातमा आफ्नै घरको बगैँचामा फुलेको सयपत्रीको थुँगा थियो।
“दुई घण्टा भइसक्यो लाइनमा बसेको, आफ्नै हातले रवि र बालेनलाई स्वागत गर्न मन छ‚” सुस्मिताको अनुहारमा उत्साह देखिन्थ्यो। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको राप र तापले छोपेको इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभाको दृश्य हो यो।

इटहरीमा रास्वपाको चुनावी सभामा सहभागी।
बिहान ११ बजेदेखि कुरिरहेका शुभचिन्तक र कार्यकर्ताका लागि त्यो पर्खाइ सोचेजस्तो सुखद रहेन। मुख्य प्रवेशद्वारमा माला र खादा लिएर लामबद्ध भिडलाई छल्दै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दिउँसो ३ बजे मञ्चको पछाडिपट्टिबाट सुटुक्क उक्लिए। अगाडि ढोकामा तीन घण्टादेखि आँखा बिछ्याएका प्रशंसक झस्किए, उनीहरूको उत्साह निराशामा बदलियो। रवि-बालेन मुख्य गेटबाट आउने भन्दै उनीहरूको लागि बाटो पनि कार्यकर्ताहरूले खुला बनाएका थिए।
बालेनको ५ मिनेट २६ सेकेन्ड
मञ्चमा उक्लिएपछि चौधरी समुदायको परम्परागत स्वागत ग्रहण गर्दै बालेनले सम्बोधन सुरु गरे। उनको शैली सधैँझैँ प्रश्नबाट सुरु भयो‚ “नमस्ते ! सञ्चै हुनुहुन्छ ? चिया खानुभयो त ? चिया कहाँको खानुभयो, इलाम कि दमकको ?”
५ मिनेट २६ सेकेन्डको आफ्नो मन्तव्यमा बालेनले पूर्वको कृषि, सिँचाइ र पर्यटनको सम्भावनालाई उधिने। “हाम्रै पहाडको तरकारी तराईका झापा, सुनसरी र मोरङले खान पाएका छैनन्। तराईका केही जिल्लाले मात्रै क्षमताअनुसार धान फलाउने हो भने देशभरलाई पुग्छ,” उनले भने, “तर विडम्बना, हाम्रै भान्छामा विदेशी चामल छ। यो दुःख समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ।”

सुनसरीको इटहरीस्थित रास्वपाको चुनावी सभामा सहभागी भएका सभापति रवि लामिछने र नेता बालेन्द्र शाह।
उनले धरानको खानेपानी समस्यादेखि कोसीको मेकानिकल लिफ्टिङ, बराहक्षेत्रको धार्मिक पर्यटन र उदयपुरको कोस्ट एरियालाई ‘बाली’ वा ‘माल्दिभ्स’ जस्तो बनाउन सकिने सपना पनि बाँडे। खेलकुदको प्रसंग निकाल्दै उनले थपे, “देशका ७० प्रतिशत फुटबलर पूर्वले दिन्छ, तर यहाँ एउटा राम्रो स्टेडियम र ट्रेनिङ सेन्टर छैन। अब त्यो अवस्था बदल्नुपर्छ।” उनले किरात संस्कृतिको ‘सिलाम साक्मा’को उदाहरण दिँदै जसरी यसले मृत्यु छेक्छ, त्यसरी नै रास्वपाले देशलाई जोगाउने दाबी गरे।
आधा घण्टामै विसर्जन
बालेनपछि माइक समातेका सभापति रवि लामिछानेले पुरानै ‘आक्रामक’ शैलीलाई निरन्तरता दिए। उनले २०४६ सालयताका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने उद्घोष गरे। “प्रतिशोध हुँदैन, हिसाब हुन्छ,” लामिछानेले भने, “सहकारी र लघुवित्तको समस्या समाधान गर्न नसक्नेहरूले मलाई थुन्ने षड्यन्त्र मात्र गरे। तर, रास्वपाको सरकार आएको १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्नेछौँ।”

रवि र बालेनलाई स्वागतको लागि मुख्य गेढमा बसेका कार्यकता र शुभचिन्तक। तर, रवि-बालेन भिडभन्दा पछाडिबाट मञ्चमा सुटक्क उक्लिएका थिए।
११ बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न जिल्लाका उम्मेदवारहरूले तीन-तीन मिनेट बोलेर माहोल तताएका थिए। तर, मुख्य आकर्षणका रूपमा रहेका रवि र बालेन मञ्चमा जम्मा ३० मिनेट मात्रै बसे।
सम्बोधन सकिएपछि उद्घोषकले उम्मेदवारहरूसँग ‘सामूहिक तस्बिर’ खिचाउने कार्यक्रम रहेको जानकारी गराउँदै थिए। तर, बालेनले सुटुक्क रविको हात समाते र बाहिरिने सङ्केत गरे। कार्यकर्ताको भिडले घेर्ने डरले उनीहरू अघिल्लो ढोकाबाट होइन, मञ्चको उत्तर-पूर्व कुनाबाट सुटुक्क ओर्लिएर कुलेलम ठोके।

रवि र बालेनलाई स्वागतको लागि मुख्य गेढमा बसेका कार्यकता र शुभचिन्तक। तर, रवि-बालेन भिडभन्दा पछाडिबाट मञ्चमा सुटक्क उक्लिएका थिए।
साढे ३ बज्दा नबज्दै रवि-बालेन चढेको गाडी धुलो उडाउँदै हुइँकियो। हातमा फूल लिएर बसेकी सुस्मिता र उनीजस्ता सयौँ शुभचिन्तक नेताको एक झलक पाउन मञ्चतर्फ दौडिँदा गाडी टाढा पुगिसकेको थियो। ‘तीन घण्टाको हुटहुटी र पर्खाइलाई आधा घण्टामै थाती राखेर रवि-बालेन ‘सुटुक्क’ आए, ‘सुटुक्कै’ गए,’ सुस्मिताले भनिन्।

रवि-बालेनलाई स्वागत गर्न बसेकी सुस्मिता कार्की।