पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा
नेपालगन्ज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन्।
नेपालगन्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिनादुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन्।
उनले त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ कांग्रेस उभिएको बताउँदै यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुने बताएका हुन्। सम्बोधनका क्रममा सभापति थापाले सबै पक्षलाई साथसाथै लिएर कांग्रेसले सरकारको राजमार्गमा दुर्घटना नहुने गारी बेतोडले दौडाउने बताए।
उनले भने‚ “यो पाँच वर्ष सुशील कोइरालाले बनाउनुभएको संविधान भनेको बाटो हो। राजमार्ग हो। त्यो राजमार्गमा गएको सात वर्षको क्षति पूर्ति गर्ने गरिकन गाडी हामी बेजोडले दौडाउँछौँ। बेजोडले। कहीँ नरोकीकन।”
उनले उक्त गाडीमा कोही पनि नछुट्ने दाबी गरे। सभापति थापाले भने‚ “सबैलाई लिएर त्यो गाडीमा। कसैलाई नछोडीकन। सबै जातजाति, भाषा, समुदाय सबैलाई गाडीमा राखेर युवा-बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ।”
उनले गाडी दौडाएर मात्र नहुने उक्त गाडी दुर्घटनामा पनि पर्न नहुने बताए। उनले भने‚ “गाडी दौडाएर मात्र हुँदैन। एउटा कुराको ग्यारेन्टी चाहिन्छ। कांग्रेसको एउटा ग्यारेन्टी गाडी दौडिन्छ। गतिमा दौडिन्छ। अर्को ग्यारेन्टी गाडी एक्सिडेन्ट (दुर्घटना) मा पर्दैन। त्यो महत्त्वपूर्ण कुरा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो।”
उनले गाडी चलाउँदा चटकेको जस्तो व्यवहार गर्ने हो भने गाडी दुर्घटनामा पर्ने भन्दै सरकारलाई गाडीसँग तुलना गरेका हुन्। रास्वपाका शीर्ष नेताहरूको चटकतर्फ संकेत गर्दै उनले भने‚ “यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि। म सिटमा बसेँ भने गाडी आफैँ उड्छ। म सिटमा बसेँ भने गाडी आफैँ पौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ। ताली पनि बज्छ। तर गाडी राजमार्गमै दौडाउने हो।”
सरकारको गाडी चलाउँदा सुझबुझ पनि चाहिने उनले स्मरण गराए। “गतिले दौडाउने हो। तर दौडाउँदै गर्दा जोखिम पनि लिनुपर्छ। स्पिड पनि चाहिन्छ। अर्कोतिरबाट आएको गाडीलाई नठोक्कियोस् भन्न सुझबुझ पनि चाहिन्छ। कहाँनेर थोरै गति कम गर्ने, कहाँनेर गति बढाउने भन्ने कुराको अनुभव पनि चाहिन्छ। उत्साह पनि चाहिन्छ। ऊर्जा पनि चाहिन्छ‚’ उनले भने।
अबको पाँच वर्ष सुशासनको वर्ष
सभापति थापाले उक्त ऊर्जा कांग्रेससँग भएको स्पष्ट पारे। उनले भने‚ “त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ नेपाली कांग्रेस उभिएको छ। यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुनेछ।”
उनले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताए। बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले दिवंगत सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे। सुशासनका लागि आगामी पाँच वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने थापाको भनाइ छ।
२०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ती सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने आश्वासन दिए। पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताए।