पोखरा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाबीच काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेका छन्।
उनले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को पाँचवर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरे। कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभामा शर्माले त्यस्तो प्रस्ताव गरेका हुन्। “फागुन १८ गते होली छ। त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबीच खुलामञ्चमा सार्वजनिक बहस गरौँ‚” उपसभापति शर्माले सोधे‚ “सँगै होली खेलौँ। यो कांग्रेसको प्रस्ताव छ। अरू दल राजी हुनुहुन्छ?”
उनले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए। उनले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुस्मनीका रूपमा लिन नहुनेसमेत बताए। निर्वाचनपछि सबै दलहरूले सत्तापक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुस्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो।
उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनका बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए। “हामी देशलाई बदल्न चाहन्छौँ। त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ। नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ-हामी राजनीतिलाई बदल्न चाहन्छौँ। राजनीतिको शैली बदल्न चाहन्छौँ। संस्कारलाई बदल्न चाहन्छौँ। राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुस्मन छैनन्‚” उनले भने‚ “आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ। त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरूको मञ्चबाट गाली होइन‚ प्रेमलाई संप्रेषण गरौँ। निर्वाचनको मैदान दुस्मनीको अखडा होइन। निर्वाचनको मैदान व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो।”
उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गाली गर्ने अवसरका रूपमा लिने काम पनि गर्न नहुने बताए।