काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै उनले मतदाताले अब देश बनाउने बाटो रोज्ने कि भत्काउने भन्नेमा स्पष्ट हुनुपर्ने बेला आएको बताएका हुन्।

उनले भने, ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन।’

‍ओलीले अब मतदाताले एउटा बाटो रोज्नुपर्ने अवस्था सिर्जना भएको बताए।

एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको भन्दै उनले भने, ‘एउटा निर्वाचित सरकारलाई अपदस्त गराउन र गराएर देशमा विध्वंश मच्चाइयो। भएको प्रतिनिधिसभा विघटना गरियो आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो। निर्माणको कि ध्वंसको बाटो।’

ओलीले यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको बताउँदै भने, ‘अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ। देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो। देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो। र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो।’

ओलीले थपे, ‘देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो। सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय- यी सबै तपाईंको कर र भरोसाले बनेका हुन्। यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ।’