कराची। अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि पाकिस्तानमा हिंसा भड्किएको छ।
पाकिस्तानको कराचीमा रहेको अमेरिकी महावाणिज्य दूतावासबाहिर अमेरिकी-इजरायली आक्रमणको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १० जनाको मृत्यु भएको छ। दर्जनौँ घाइते भएका छन्।
कराचीमा एमटी खान रोड हुँदै भिड अमेरिकी वाणिज्यदूतावासतर्फ अगाडि बढ्ने क्रममा स्थिति हिंसात्मक बनेको हो। प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासका झ्यालहरू फुटाउनुका साथै ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
एधी वेलफेयर संस्थाको सूचना शाखाका अनुसार माई कोलाची रोडनजिक गोलीबारी र अशान्तिका क्रममा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरूलाई सिभिल अस्पताल कराचीको ट्रमा सेन्टरमा पुर्याइएको थियो। अस्पताल प्रशासनका अनुसार ३२ जना घाइतेलाई उपचारका लागि भर्ना गरिएको छ र मृतकहरूको पहिचान प्रक्रिया जारी छ। उपचारकै क्रममा एक घाइतेको मृत्यु भएपछि मृतक संख्या १० पुगेको छ।
यसैबीच गृहमन्त्री मोहसिन नकवीले भिडियो सन्देश जारी गर्दै “आज मुस्लिम उम्माहका साथै इरान र पाकिस्तानका जनताका लागि शोकको दिन हो” भनेका छन्। आयातोल्लाह खामेनीको शहादतपछि पाकिस्तानका सबै नागरिक इरानी जनताजत्तिकै पीडित भएको उल्लेख गर्दै उनले ऐक्यबद्धता जनाए। तर उनले नागरिकलाई कानून हातमा नलिन र शान्तिपूर्ण रूपमा मात्र प्रदर्शन गर्न आग्रह गरे।
इस्लामाबादस्थित अमेरिकी दूतावासले कराची र लाहोरमा भइरहेको प्रदर्शन तथा इस्लामाबाद र पेसावरमा सम्भावित थप प्रदर्शनबारे निगरानी भइरहेको जनाएको छ। दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई स्थानीय समाचारमा ध्यान दिन, भिडभाडबाट टाढा रहन र व्यक्तिगत सुरक्षामा सतर्क रहन सल्लाह दिएको छ।
यसैबीच धार्मिक नेता अल्लामा सैयद शाहनशाह हुसेन नकवीले भिडियो सन्देशमार्फत पाकिस्तानभर शान्ति कायम राख्न अपिल गरेका छन्। उनले आयातोल्लाह अली खामेनीको हत्याले सम्पूर्ण मुस्लिम उम्माह शोकमा डुबेको भन्दै आक्रोश संयमित ढंगले व्यक्त गर्न आग्रह गरे। कराचीस्थित अमेरिकी वाणिज्यदूतावास बाहिरको हिंसात्मक प्रदर्शनलाई उनले दुःखद भनेका छन्।
घटनाको निष्पक्ष छानबिनका लागि सिन्ध सरकारले उच्चस्तरीय संयुक्त अनुसन्धान टोली गठन गरेको छ। सरकारले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारको सम्मान गरिने तर हिंसा, तोडफोड र कानुन हातमा लिनु स्वीकार्य नहुने स्पष्ट पारेको छ।
सिन्धका गृहमन्त्री जियाउल हसन लञ्जारले अतिरिक्त प्रहरी महानिरीक्षक कराचीसँग तत्काल विवरण माग्दै संवेदनशील स्थानमा सुरक्षा कडा गर्न निर्देशन दिएका छन्। उनले प्रदर्शनका क्रममा यातायात सहज बनाउन वैकल्पिक मार्ग निर्धारण गर्न र कानुन-व्यवस्था बिगार्ने जो-कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। यसअघि विभिन्न शिया संगठनहरूले आयातोल्लाह खामेनीको मृत्युको विरोधमा कराचीस्थित अमेरिकी वाणिज्यदूतावासतर्फ मार्च गर्ने घोषणा गरेका थिए।