काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
दुबई विमानस्थल।
अ+
अ-

दुबई। अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वका कारण खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू ठप्प भएका छन्। जसकारण विश्वव्यापी हवाई यात्रा प्रभावित बनेको छ।

इरान र इजरायलबीचको बढ्दो तनावका कारण आकाशमार्ग असुरक्षित भएपछि खाडी देशहरूको विमानस्थलहरूबाट ३४ सयभन्दा बढी उडान प्रभावित बनेका छन्। करिब तीन लाख यात्रु विभिन्न देशका विमानस्थलमा अलपत्र परेका छन्।

उडान ट्रयाकिङ तथ्यांकका अनुसार द्वन्द्व सुरु भएको पहिलो केही दिनमै ३४ सयभन्दा बढी उडान रद्द भइसकेका छन्। विश्वकै व्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल, सारजाह, अबुधाबी र दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलसहित यस क्षेत्रका सातवटा मुख्य विमानस्थलले पूर्ण रूपमा विमान सञ्चालन स्थगित गरिसकेका छन्।

मध्यपूर्वका मुख्य ट्रान्जजिट विमानस्थलहरू नै प्रभावित बनेपछि युरोप, एसिया र अफ्रिकासम्म यात्रु प्रभावित बनेका छन्। अवस्था जटिल बन्दै गएपछि बेलायत सरकारले आफ्ना नागरिक र अन्य अलपत्र यात्रुको उद्धारका लागि विशेष टोली परिचालन गरेको जनाएको छ। बेलायती टोलीले खाडीका विभिन्न देशबाट आफ्ना नागरिकको सुरक्षित उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ।

यतिबेला दोहा, दुबई र अबुधाबीका विमानस्थल यात्रुले भरिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा यात्रु टर्मिनलभित्रै भुइँमा सुतिरहेको देख्न सकिन्छ। साथै होटेल एवं रि-बुकिङका लागि घण्टौँसम्म लाइनमा बसेको देखिन्छ। धेरै यात्रुले उचित खानपान, सहायता र जानकारी नपाएको गुनासो गरिरहेका छन्।

खाडी क्षेत्रको आकाशमार्ग नखुल्दासम्म हजारौँ यात्रु अनिश्चितताको भूमरीमा रहने देखिएको छ। नेपालमा समेत ट्रान्जिटका रूपमा प्रयोग हुने खाडीका विमानस्थल बन्द हुँदा भ्रमण, वैदेशिक रोजगारी र युरोप फर्कने नेपाली मारमा परेका छन्।

नेपालबाट खाडी मुलुक र खाडी हुँदै पश्चिमी देश जाने उडान तथा त्यस क्षेत्रबाट नेपाल आउने सबै उडान अनिश्चितकालका लागि रद्द गरिएका छन्। जसकारण शनिबार, आइतबार र आज (सोमबार) त्रिभुवन विमानस्थलबाट खाडीमा कुनै पनि उडान हुन सकेको छैन।

नेपालबाट खाडी क्षेत्र जाने नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरलाइन्सका साथै एयर अरेबिया, फ्लाई दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स र टर्किस एयरलाइन्सका सबै उडान रद्द भएका हुन्।