तेल अबिब। इजरायली सेनाले लेबनानको सशस्त्र समूह हिजबुल्लाहविरुद्ध औपचारिक रूपमा ‘आक्रामक अभियान’ सुरु गरेको छ।
हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य कारबाहीको घोषणा गरेको हो। इजरायली सेनाका अनुसार लेबनानमा कारबाहीका लागि इजरायलले एक लाख रिजर्भ सैनिक, दर्जनौं गुल्म र गण परिचालन गरेको छ।
लेबनानमा स्थल आक्रमणका लागि ‘सबै विकल्प खुला’ रहेको चेतावनी दिँदै इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई समाप्त पारिदिने चेतावनी दिएको छ। इजरायली वायुसेनाले लेबनानको राजधानी बेरुतका दक्षिणी उपनगर र देशको दक्षिणी क्षेत्रमा गरेका भीषण हवाई हमलामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ। जसमा १४९ जना घाइते भएका छन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा मात्रै २० जनाको मृत्यु भएको छ। ९१ जना घाइते भएका छन्। त्यस्तै दक्षिणी लेबनानमा ११ जनाको मृत्यु र ५८ जना घाइते भएका छन्।
इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याको बदला लिन हिजबुल्लाहले उत्तरी इजरायलको हाइफानजिकैको सैन्य आधार शिविरमा रकेट र ड्रोन आक्रमण गरेपछि इजरायलले आक्रामक सैन्य अभियान घोषणा गरेको हो। यसअघि गत २७ सेप्टेम्बरमा इजरायलले गरेको सैन्य कारबाहीमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएका थिए।
इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा रहेका सर्वसाधारणलाई घर छोड्न चेतावनी जारी गरेपछि लाखौँ मानिस विस्थापित हुन थालेका छन्। अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेसँगै सुरु भएको यो द्वन्द्व अब लेबनानसम्म फैलिएपछि मध्यपूर्वमा ठुलो मानवीय संकटको खतरा बढेको छ।
खाडी र मध्यपूर्वका देशहरूमा पछिल्लो समय विकसित यी घटनाक्रमले त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकमा त्रास फैलाएको छ। इजरायलको लेबनानविरुद्धको नयाँ सैन्य कारबाहीसँगै लेबनानमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता बढेको छ। परराष्ट्र मन्त्रालयका अनुसार लेबनानमा १५ सय नेपाली छन्। मन्त्रालयका अनुसार हाल युद्धले प्रभावित बनेको मध्यपूर्वी देशहरूमा १७ लाख २९ हजार २८८ नेपाली छन्।