काठमाडौँ
००:००:००
१८ फाल्गुन २०८२, सोमबार

१८ फाल्गुन २०८२
तस्बिरहरू : सीपी खनाल
अ+
अ-

बुटवल। प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि कर्मचारीहरुलाई मतदान केन्द्रहरुमा खटाइएको छ।

रुपन्देहीमा आवश्यक कर्मचारी व्यवस्थापन, सुरक्षा तयारी तथा मतदान सामग्री ढुवानी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र सामग्री मतदानस्थलमा पुर्‍याइएको छ।

रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन्। पाँचवटै निर्वाचन क्षेत्रमा गरी चार हजार ३९२ वटा स्थायी र चारवटा अस्थायी मतदान केन्द्र कायम गरेर कर्मचारी जनशक्ति खटाइसकिएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

यसका लागि जिल्लामा चार हजार ४१६ कर्मचारी र झन्डै एक हजार ६०० स्वयंसेवक गरी ६ हजार बढी जनशक्ति परिचालन भएको जानकारी दिए।

उनका अनुसार जिल्लाभर ४४ सयभन्दा बढी कर्मचारी निर्वाचनमा खटाइएका छन्। मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीबाहेक आवश्यकताअनुसार सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा गस्ती गर्ने व्यवस्था मिलाइएको छ।

यो पनि…

चुनाव आउँछ, उम्मेदवार आउँछन्, लालपुर्जा कहिल्यै आउँदैन

रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा राजनीतिक दलका ६३, स्वतन्त्र ९२ गरी जम्मा १५५ उम्मेदवार अहिले चुनावी मैदानमा छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता छन्।

रुपन्देहीमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्, जसमध्ये तीन लाख ४६ हजार २०३ पुरुष र तीन लाख २६ हजार ३११ महिला मतदाता छन्।

प्रतिनिधिसभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देही क्षेत्र नम्बर १ मा एक लाख ४६ हजार ८२४, क्षेत्र नम्बर २ मा एक लाख ३५ हजार ५०, क्षेत्र नम्बर ३ मा एक लाख ४० हजार ३५, क्षेत्र नम्बर ४ मा एक लाख १६ हजार १७२ र क्षेत्र ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता छन्।

यस्तै निर्वाचनलाई लक्षित रूपन्देहीका नेपाल-भारत सीमानाका तीन दिन बन्द हुने भएका छन्। रूपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गरेको सूचनामा यही १८ फागुनको सोमबार राति १२ देखि २१ फागुन बिहीबार राति १२ बजेसम्म बन्द रहने जनाइएको छ।

यसका साथै २० फागुनको राति १२ देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दूधका ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधनसमेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ।