काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशको वर्तमान संवेदनशील अवस्थामा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र नागरिकलाई सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा सङ्कटको घडीमा राज्य र जनताको संयुक्त प्रयास आवश्यक रहेको भन्दै लोकतान्त्रिक विधिबाटै अन्योलताको निकास खोजिनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुनसक्छ। अतः जनताका हकअधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक प्रक्रियाबाट नै देशले शीघ्र राजनीतिक निकास पाउनु पर्दछ।”

आयोगले विगत दुई दिनमा भएका हिंसात्मक गतिविधि, आगजनी र तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अब यस्ता घटना दोहोरिन नदिन सबैलाई सचेत गराएको छ। हिंसाबाट जनधनको ठूलो क्षति भएको भन्दै संयमित रहन समेत आग्रह गरिएको छ।

प्रवक्ता पोखरेलले काठमाडौँसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को प्रदर्शन र त्यसपछि उत्पन्न अवस्थाको आयोगले निरन्तर अनुगमन गरिरहेको जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाको अवधिमा मानव अधिकारको स्थिति, मृतकका परिवार तथा घाइतेहरूको अवस्थाबारे बुझ्ने कामलाई आयोगले निरन्तरता दिएको छ।