बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ। नेपालमा जेन–जी आन्दोलनका कारण अशान्ति बढेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मंगलबारदेखि आवागमन रोकिदिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पुण्यविक्रम पौडेलका अनुसार भारतीय सुरक्षाकर्मीले नेपालको परिस्थितिलाई मध्यनजर गर्दै नाकामा आवतजावतमा रोक लगाएका हुन्। उनले भने, “भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएका छन्। नेपालको अशान्त परिस्थिति देखेर भारत प्रवेशमा अनुमति दिइएको छैन।”
भारततर्फ प्रवेशमा रोक लगाएपछि नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको प्रजिअ पौडेलले जानकारी दिए। उनले भने, “भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ।”