काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो सरकारले निष्पक्ष व्यापार र लगानी सम्झौता सुनिश्चित गर्न संयुक्त राज्य अमेरिकासँग सक्रिय र आत्मनिर्भर ढंगले वार्ता गरिरहेको बताएका छन्।

मंगलबार संसद्मा प्रश्नोत्तरको क्रममा रामाफोसाले भने, “हाम्रो प्रतिनिधिहरू अहिले थप औपचारिक वार्ताका लागि अमेरिकामा छन्। वार्तामा प्रशासनका प्रतिनिधि, विधायक, व्यापारिक व्यक्तिहरू र अन्य सरोकारवालाहरू संलग्न छन्।”

उनले थपे, “हामी अमेरिकी प्रशासनसँग घुँडा टेक्दै वार्ता गर्ने छैनौँ। सार्वभौम देशको रूपमा उभिएर दक्षिण अफ्रिकाका लागि उत्तम सम्झौता प्राप्त गर्ने हाम्रो उद्देश्य हो।”

रामाफोसाले व्यापार, उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धमामिलाका मन्त्रीहरूलाई वार्तामा सक्रिय संलग्न गराइएको उल्लेख गर्दै दक्षिण अफ्रिकाका खनिज सम्पत्ति र प्रशोधन क्षमतालाई औँल्याउँदै अमेरिकी पक्षसँग लाभदायक सम्झौता गर्ने रणनीति अपनाएको बताए।

“हाम्रो विकल्पले स्पष्ट संकेत गर्दछ कि हामी के प्राप्त गर्न चाहन्छौँ। अमेरिकी प्रशासन कहिलेकाँही अप्रत्याशित र प्रतिशोधात्मक हुन सक्छ, तर वार्ताको माध्ययमले सकारात्मक परिणाम दिनेछ,” उनले भने।

रामाफोसाले अन्त्यमा जोड दिए, “हामी दादागिरी गर्दैनौँ, तर सम्पूर्ण तयारी र रणनीतिसहित, घुँडा नटेकी व्यापार वार्तालाई सफल बनाउनेछौँ।”