रौतहट। रौतहटको गौर कारागारबाट मंगलबार राति फरार भएका १३ कैदीलाई भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।
उनीहरू कारागार भत्काएर भाग्ने क्रममा सीमा पार गर्ने क्रममा एसएसबी र प्रहरीद्वारा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा नेपालका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह रहेका छन्।
त्यस्तै, भारतका मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतो पनि पक्राउ परेका छन्। बैरगनिया थाना प्रमुख उमाशंकर रजकका अनुसार, पक्राउ परेकामध्ये विवेक मिश्र भारतकै हत्या मुद्दामा फरार अभियुक्त हुन्।
उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको छ भने बाँकी १२ कैदीलाई प्रहरी निगरानीमा राखिएको छ। अधिकारीहरूको निर्देशनअनुसार नेपाल–भारत दुवै देशबीच समन्वय गरेर कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।