नेपाल अहिले वित्तीय दृष्टिले के गरौं, के गरौं भन्ने द्विविधा छ : नेपालले एकातिर, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न युवा पुस्तालाई सक्षम बनाउन उनीहरूको गुणस्तरीय शिक्षा र सीप विकासका कामलाई प्राथमिकता दिनै पर्छ। अर्कोतिर ज्येष्ठ नागरिकको सहयोगका लागि पनि लगानी गर्नेपर्ने अवस्था छ।
बुढ्यौली कुनै पनि समाजको जनसंख्याको परिवर्तित उमेर संरचनागत सङ्क्रमणको अपरिहार्य परिणाम हो। जब समाज उच्च मृत्युदर र उच्च जन्मदरबाट सङ्क्रमणकाल हुँदै न्यून मृत्युदर र न्यून जन्मदरमा प्रवेश गर्छ तब सुरुको अवस्थामा जनसंख्या वृद्धि हुन आउँछ अनि पछिल्लो अवस्थामा जनसंख्या घट्न गई संरचनागत रूपमा समाज जनसांख्यिक बुढ्यौलीपनमा प्रवेश गर्छ। अन्तर्राष्ट्रिय संस्था तथा प्राज्ञिक जगत्का प्रतिवेदन र सञ्चारमाध्यममा हालैका वर्षहरूमा जनसंख्यामा बुढ्यौली लाग्दै जाने क्रम र यसका सामाजिक तथा आर्थिक प्रभावबारेमा धेरै चर्चा हुने गरेका छन्।
स्टेट अफ वर्ल्ड पपुलेसन २०२३ का अनुसार, सन् २०२३ सम्ममा संसारका १० प्रतिशत मानिस ६५ वर्ष र सोभन्दा बढी उमेरका थिए। बढी विकसित मुलुकमा यो उमेरका मानिस कुल जनसंख्याको २० प्रतिशत थिए भने कम विकसित देशहरूमा ८ प्रतिशत। जापान ६५ वर्ष र सोभन्दा माथिको जनसंख्या ३० प्रतिशत भएको देशमा सूचीकृत भएको थियो। पश्चिम युरोपका अधिकांश देशमा यो उमेरका मानिस कुल जनसंख्याको २० प्रतिशत थिए भने अफ्रिका र अरब देशमा यो समूहका मानिस ५ प्रतिशतभन्दा कम थिए। नेपाल, बाङ्लादेश, भुटान यो उमेरका मानिस कुल जनसंख्याको ६ प्रतिशत भएका देशमा सूचीकृत थिए भने यो समूहका मानिस भारतमा ७ प्रतिशत र श्रीलङ्कामा १२ प्रतिशत थिए।
दक्षिण एसियाली देशमध्ये अफगानिस्तानमा यो समूहका मानिस सबैभन्दा कम अर्थात् २ प्रतिशत मात्र थिए।
नेपालको ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष र सोभन्दा बढी उमेरका मानिसलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ। ज्येष्ठ नागरिकसम्बन्धी तलको छलफल यही परिभाषामा आधारित छ। तर बुढ्यौलीपनसँग सम्बन्धित लेखहरूमा कुनै निश्चित उमेरको लक्ष्मणरेखा निर्धारण गरी विश्लेषण गर्नुको कारण तथ्याङ्कीय विश्लेषणलाई सहज बनाउनु पर्नाले अर्थात् तथ्याङ्क विश्लेषणका लागि आधार लिनुपर्नाले गर्दा हो। ख्याल राख्नुपर्ने कुरा के हो भने जनसंख्या ज्येष्ठ हुँदै जानु भन्नाले उमेर पाको हुँदै जाने प्रक्रिया हो भन्ने बुझिन्छ जुन प्रक्रियामा मानिसको भौतिक आकृति र शारीरिक क्रियाकलापमा परिवर्तन आउँछ।
जनसंख्याको बढ्दो आकार
सन् २०२१ को जनगणनाअनुसार, नेपालमा ज्येष्ठ नागरिकको संख्या २९ लाख ७७ हजार तीन सय १८ अर्थात् कुल जनसंख्याको १०.२ प्रतिशत छ। अर्को शब्दमा भन्दा, नेपालका हरेक १० जनामा एक जना ज्येष्ठ नागरिक छन्।
सन् २०११ देखि २०२१ को दशकमा, थप आठ लाख २२ हजार नौ सय आठ जना मानिस ज्येष्ठ नागरिकको समूहमा थपिए अर्थात् ज्येष्ठ नागरिकको मात्रा ३८.२ प्रतिशतले बढ्यो। सोही अवधिमा नेपालको कुल जनसंख्या भने १०.१ प्रतिशतले मात्र बढेको थियो।
अझ महत्त्वपूर्ण कुरा के छ भने सन् २०११ र २०२१ का बीचमा ज्येष्ठ नागरिकको उमेर समूहका मानिसको हिस्सा कुल जनसंख्या वृद्धिको ३०.८ प्रतिशत थियो। तलको तालिकामा ६० वर्ष र सोभन्दा बढी उमेरका मानिसको जनसंख्या र विगतमा भएका दशवटा जनगणनामा यो समूहका विशेषतामा आएको परिवर्तन देखाइएको छ। ज्येष्ठ नागरिक समूहको जनसंख्या दशकैपिच्छे बढ्दै गएको छ र यो समूहको जनसंख्या वृद्धिदर नेपालको कुल जनसंख्याको वृद्धिदरको अनुपातभन्दा धेरै बढी छ।

बितेका ७० वर्षमा, ज्येष्ठ नागरिकको जनसंख्या ७.३ गुणाले बढ्यो। सोही अवधिमा नेपालको कुल जनसंख्या भने ३.५ गुणाले मात्र बढेको थियो। कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात सन् १९५२/५४ मा पाँच प्रतिशत रहेकोमा त्यसबाट बढेर सन् २०२१ मा १०.२ प्रतिशत हुन पुग्यो। ज्येष्ठ नागरिकको संख्या र अनुपात दुवै बढ्नुमा यी दशकहरूमा समग्र स्वास्थ्य सेवामा भएको सुधारले धेरै ठूलो भूमिका खेलेको छ।
लिङ्गअनुसार वितरण
सन् २०२१ को जनगणनाअनुसार ज्येष्ठ नागरिकमध्ये पुरुषभन्दा महिला बढी छन्। ज्येष्ठ नागरिकको जनसंख्यामध्ये महिला ५१.५ प्रतिशत छन् भने पुरुष ४८.५ प्रतिशत। यो राष्ट्रिय जनगणनाले देखाएको कुल जनसंख्यामा महिला र पुरुषको मात्रा (५१.१ प्रतिशत महिला र ४८.९ प्रतिशत पुरुष) सँग मिल्दोजुल्दो छ।
यसबाहेक, यसले ज्येष्ठ नागरिकमध्ये महिलाको मात्रा कुल जनसंख्यामध्ये महिलाको मात्राभन्दा थोरै बढी भएको समेत देखाएको छ। सन् १९८१ र १९९१ को जनगणनालाई अपवाद मान्ने हो भने सबै जनगणनामा ज्येष्ठ नागरिकमध्येमा महिलाको हिस्सा पुरुषको हिस्साभन्दा बढी छ। उदाहरणका लागि सन् २००१ मा ज्येष्ठ नागरिकमध्ये महिलाको हिस्सा सबैभन्दा बढी अर्थात् ५६.४ प्रतिशतसम्म पुगेको थियो।
ज्येष्ठ नागरिकमध्ये पुरुष र महिलाको तुलनात्मक वृद्धिलाई हेर्ने हो भने बितेका सात दशकमा ज्येष्ठ पुरुषको संख्या झन्डै आठ गुणा बढेको देखिन्छ। सोही अवधिमा ज्येष्ठ महिलाहरूको संख्यात्मक वृद्धि भने सात गुणा जति थियो। यस्तो प्रस्ट अन्तर हुनुमा सन् १९५२/५४ मा महिलाको आधार जनसंख्या धेरै हुनुले धेरै ठूलो भूमिका खेलेको छ। सबैभन्दा पछिल्ला तीनवटा लगातारका जनगणनामा ज्येष्ठ महिलाको कुल जनसंख्या पुरुषको भन्दा बढी छ। दुईवटा जनगणनाबीचका हरेक दशकमा ज्येष्ठ पुरुष औसतमा ३ लाख तीन सय ९० जना र महिला औसतमा तीन लाख ३४ हजार नौ सय ७२ जनाका दरले बढेका छन्।
शहरी-ग्रामीण बसोबासअनुसार वितरण
सन् २०२१ को जनगणनाले ज्येष्ठ नागरिकको शहरी-ग्रामीण वितरणमा असमानता भएको देखाएको छ। नगरपालिकामा उनीहरूको मात्रा गाउँपालिकाको भन्दा निकै बढी छ। ज्येष्ठ नागरिकमध्ये ६३.४ प्रतिशत नगरपालिकामा बसेका छन् भने गाउँपालिकामा ३६.६ प्रतिशत। यहाँ स्मरणीय कुरा के छ भने संघीय संरचनासहितको नयाँ संविधान निर्माण भएपछि स्थानीय तहको पुनर्संरचना गर्दा पहिलेका थुप्रै गाउँपालिकाहरूलाई नगरपालिकामा गाभिएको र नयाँ नगरपालिकाहरू पनि घोषणा गरिएको छ।
ज्येष्ठ नागरिकको जनसंख्याको आकार शहरी क्षेत्रमा ठूलो र ग्रामीण क्षेत्रमा सानो भए पनि क्षेत्रीय कुल जनसंख्यामा ज्येष्ठ नागरिकको जनसंख्याको प्रतिशत शहरमा (९.८ प्रतिशत) भन्दा गाउँमा (११ प्रतिशत) बढी छ।
महिला र पुरुष दुवै लिङ्गका ज्येष्ठ नागरिकका हकमा यही कुरा लागु हुन्छ। यसैगरी अनुपातिक हिसाबले हेर्दा नगरपालिका (५१.७ प्रतिशत) र गाउँपालिका (५१.१ प्रतिशत) दुवै ठाउँमा ज्येष्ठ नागरिकमा पुरुषभन्दा महिला बढी छन्। यसबाहेक, शहरी र ग्रामीण भेगको लैङ्गिक वितरणमा थोरै मात्र अन्तर छ। बसोबासका आधारमा ज्येष्ठ महिलाको अनुपात तुलना गर्दा शहरी क्षेत्रमा उनीहरूको हिस्सा अलि बढी देखिन्छ र यसले देशको कुल जनसंख्याको राष्ट्रिय औसतलाई उछिनेको देखिन्छ।
भौगोलिक क्षेत्रअनुसार बुढ्यौलीपनको स्थिति
तीनवटा भौगोलिक क्षेत्रमध्ये ज्येष्ठ नागरिकको सबैभन्दा ठूलो हिस्सा तराईमा छ। देशका झन्डै आधा ज्येष्ठ नागरिक तराईमा बस्छन्। तथापि, नेपालको कुल जनसंख्याको क्षेत्रीय वितरणसँग तुलना गर्ने हो भने तराईको जनसंख्या नेपालको कुल जनसंख्याको प्रतिशत ५३.६ छ भने ज्येष्ठ नागरिकको ४९.७ प्रतिशत मात्र छ।
यस हिसाबले हेर्दा तराईमा कुल जनसंख्याको प्रतिशतभन्दा ज्येष्ठ नागरिकको प्रतिशत कम छ। यसको ठीकविपरीत, कुल जनसंख्याको ४०.३ प्रतिशत नेपालीको बसोबास रहेको पहाडमा ४४ प्रतिशत ज्येष्ठ नागरिकको बसोबास छ। यसैगरी हिमाली क्षेत्रमा पनि कुल जनसंख्याको हिस्साभन्दा ज्येष्ठ नागरिकको हिस्सा बढी नै देखिन्छ। जस्तै, हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.१ प्रतिशत बसोबास गर्छन् भने ज्येष्ठ नागरिकमध्ये ६.६ प्रतिशत त्यहाँ बसोबास गर्छन्।
सबै तीनवटै भौगोलिक क्षेत्रमा ज्येष्ठ पुरुषभन्दा ज्येष्ठ महिला बढी छन्। पुरुषमध्ये झन्डै ५०.८ प्रतिशत तराईमा र ४२.७ प्रतिशत पहाडमा बस्छन् भने महिलामध्ये ४८.६ प्रतिशत तराईमा र ४४.८ प्रतिशत पहाडमा बस्छन्। यसले तराई क्षेत्रमा महिलाको स्वास्थ्य कमजोर तथा जन्म र मृत्यु दर उच्च रहेको कुरालाई सङ्केत गरेको छ।

जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा बढी हुँदै जानु देशव्यापी विशेषता भए पनि तराईमा ज्येष्ठ नागरिकको अनुपात राष्ट्रिय औसतभन्दा कम छ। यसको उल्टो, पहाड र हिमालमा त्यहाँको जनसंख्याको ११.१ प्रतिशत ज्येष्ठ नागरिक छन् जुन राष्ट्रिय औसतभन्दा बढी हो। संख्यात्मक हिसाबलाई एकातिर राखी क्षेत्रगत रूपमा बुढ्यौलीपनको लैङ्गिक स्थिति हेर्दा तराईमा बाहेक अन्य दुई भौगोलिक क्षेत्रमा पुरुषभन्दा महिलामा बुढ्यौलीपन बढी भएको देखिन्छ। यसको उल्टो तराईमा भने पुरुषहरूमा ज्येष्ठ नागरिकको अनुपात बढी देखिन्छ।
उदाहरणका लागि, तराईमा बसोबास गर्ने सम्पूर्ण पुरुषहरूमध्ये ९.६ प्रतिशत ज्येष्ठ नागरिक छन् भने महिलाको हकमा यो प्रतिशत ९.३ देखिन्छ। अन्तर सानो देखिए पनि यसले तराईमा स्वास्थ्य, शिक्षा तथा सामाजिक स्तरका विषयमा महिलाहरू कमजोर रहेको कुराको थप पुष्टि गर्छ।
प्रादेशिक दृश्य
ज्येष्ठ नागरिकको प्रादेशिक वितरणलाई हेर्दा बागमती, मधेश र कोशी प्रदेशमा त्यहाँको कुल जनसंख्याको तुलनामा ज्येष्ठ नागरिकको अनुपात बढी छ भने बाँकी चारवटा प्रदेशमा कम। प्रादेशिक हिस्सामा बागमती पहिलो स्थानमा छ जहाँ ज्येष्ठ नागरिकको हिस्सा कुल जनसंख्याको २२ प्रतिशत छ। त्यसपछि मधेश (१८.८ प्रतिशत), कोशी (१८.७ प्रतिशत), लुम्बिनी (१६.४ प्रतिशत) र गण्डकी (११.१ प्रतिशत) आउँछन्। कर्णाली र सुदूरपश्चिममा ज्येष्ठ नागरिकको मात्रा सबैभन्दा कम रहेको छ।
देशको कुल जनसंख्याको वितरण र ज्येष्ठ नागरिकको वितरणमा स्पष्ट रूपमा प्रादेशिक अन्तर देखिन्छ। यी दुई विषयलाई प्रादेशिक (राजनीतिक) हिसाबले तुलना गर्दा कोशी, बागमती र गण्डकी प्रदेशमा ज्येष्ठ नागरिकको अधिक प्रतिनिधित्व देखिन्छ र अन्य चार प्रदेशमा न्यून प्रतिनिधित्व देखिन्छ। विशेष गरी गण्डकी प्रदेशले देशको सम्पूर्ण जनसंख्याको हिस्साका तुलनामा ज्येष्ठ नागरिकको हिस्सा २.६ प्रतिशताङ्कको अन्तरसहित अधिक प्रतिनिधित्व गरेको देखिन्छ। यसको विपरीत मधेश प्रदेशमा ज्येष्ठ नागरिकको हिस्सा कुल जनसंख्याको हिस्साको तुलनामा कम मात्र नभई यी दुईबीचको हिस्साको अन्तर पनि अधिक नै देखिन्छ (२१ प्रतिशतविरुद्ध १८.८ प्रतिशत)।
ज्येष्ठ नागरिकको प्रादेशिक हिसाबले लैङ्गिक विश्लेषण गर्दा संख्यात्मक हिसाबले पुरुषहरू बढी रहेको प्रदेशका रूपमा बागमती, मधेश र कोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा देखिन्छन्। यसै गरी महिला ज्येष्ठ नागरिकको हकमा क्रमशः बागमती, कोशी र मधेश पहिलो, दोस्रो र तेस्रोमा पर्दछन्। अर्कातिर कर्णाली र सुदूरपश्चिम प्रदेश पुरुष, महिला दुवैमा आफ्नो प्रादेशिक हिस्साका हिसाबले पुछारमा पर्न आउँछन्। कुल बुढ्यौली जनसंख्यामा महिलाको हिस्सा भने मधेशमा सबैभन्दा कम अर्थात् ४८.६ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा बढी अर्थात् ५५ प्रतिशत देखिन्छ। बाँकी प्रदेशमा पनि कुल जनसंख्यामा महिलाको हिस्सा पुरुषको भन्दा बढी नै देखिन्छ।
प्रदेशको कुल जनसंख्यामा ज्येष्ठ जनसंख्याको अनुपात कर्णालीमा सबैभन्दा कम ८ प्रतिशत छ भने गण्डकीमा सबैभन्दा बढी १३.३ प्रतिशत छ। बागमती ज्येष्ठ नागरिकको जनसंख्या सबैभन्दा धेरै भएको प्रदेश हो भने गण्डकी कुल जनसंख्यामा ज्येष्ठ नागरिकको जनसंख्याको अनुपात सबैभन्दा बढी भएको प्रदेश हो। ज्येष्ठ जनसंख्याका हिसाबले तेस्रोमा पर्ने कोशी प्रदेश त्यहाँको कुल जनसंख्यामा ज्येष्ठ नागरिकको प्रतिशतका हिसाबले दोस्रो प्रदेश हो। कर्णाली ज्येष्ठ नागरिकको प्रतिशत सबैभन्दा कम भएको प्रदेश हो।
अरू तीनवटा प्रदेश सुदूरपश्चिम, मधेश र लुम्बिनी पनि त्यहाँको कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात राष्ट्रिय औसतभन्दा कम भएका प्रदेश हुन्। ज्येष्ठ नागरिकको संख्या र कुल जनसंख्याको अनुपातलाई प्रदेशको जन्मदर, औसत आयु, साक्षरता, शैक्षिक स्तर र अनुपस्थित जनसंख्याको अनुपातले निर्धारण गरेको हुन सक्ने सम्भावना छ।
दुवै लिङ्गका ज्येष्ठ नागरिकको अनुपात गण्डकीमा सबैभन्दा बढी छ भने सबैभन्दा कम कर्णालीमा। ज्येष्ठ नागरिकमध्ये पुरुषभन्दा महिला बढी भएका प्रदेशहरूमा गण्डकी, बागमती, सुदूरपश्चिम र कर्णाली पर्दछन्। महिला र पुरुषको अनुपातबीचको सबैभन्दा ठूलो अन्तर सुदूरपश्चिममा देखिन्छ। उल्लेखनीय कुरा के छ भने मधेश र लुम्बिनी प्रदेश त्यहाँको कुल जनसंख्यामा ज्येष्ठ नागरिक महिलाको अनुपात कम भएका दुईवटा प्रदेश हुन्।
जिल्लाअनुसार बुढ्यौलीपनको अवस्था
विभिन्न जिल्लाको ज्येष्ठ जनसंख्याको अनुपातमा जिल्लापिच्छे ठूलो अन्तर छ। गोरखा जिल्लामा यो अनुपात सबैभन्दा बढी १७.१ प्रतिशत छ भने डोल्पामा सबैभन्दा कम ६.२ प्रतिशत छ। गोरखाको उल्लेखनीय विशेषता के हो भने यो धेरै मानिस बाहिर गएका जिल्लामध्ये पर्दछ।
सन् २०२१ को जनगणनाको आँकडाअनुसार, गोरखाको अनुपस्थित जनसंख्याको अनुपात (देशभित्र र विदेशमा रहेको अनुपस्थित जनसंख्यालाई कुल जनसंख्याले भाग गरेर निकालिएको) ४१ छ जुन राष्ट्रिय औसत १५.३ भन्दा धेरै बढी हुन आउँछ। तलको नक्सामा ज्येष्ठ जनसंख्याको अनुपातका आधारमा नेपालका जिल्लालाई पाँच वर्गमा विभाजित गरिएको छ। तीमध्ये ६ वटा जिल्ला ‘धेरै कम’ अर्थात् आठ प्रतिशतभन्दा कम अनुपात भएको वर्गमा परेका छन्। यस वर्गमा परेका बाँकेबाहेकका सबै जिल्ला कर्णालीको हिमाली भेगका छन्। सबैभन्दा धेरै २७ वटा जिल्ला ८-१० प्रतिशत अनुपात भएको जिल्लाको वर्गमा परेका छन्। यी जिल्लालाई बुढ्यौलीपन ‘कम’ भएका जिल्ला भन्न सकिन्छ। यी जिल्लाहरूमा काठमाडौं, भक्तपुर, पर्सा, दाङ, सुर्खेत, मकवानपुर, कपिलवस्तु, कैलाली र कञ्चनपुरलगायत भित्री मधेश र तराईका जिल्लाका साथै बाजुरा, हुम्ला र बझाङजस्ता हिमाली जिल्ला पर्दछन्।

१७ वटा जिल्लाको ज्येष्ठ जनसंख्याको अनुपात १० देखि १२ प्रतिशतका बीचमा रहेको छ। यी जिल्लालाई ‘मध्यम’ खालको बुढ्यौली भएका जिल्ला मान्न सकिन्छ। यी जिल्ला कुनै निश्चित क्षेत्रमा पर्दैनन्। ‘अलि बढी’ अनुपात भएका जिल्ला १५ वटा छन् जहाँ कुल जनसंख्याको १२-१४ प्रतिशत जनसंख्या पाको छ। यीमध्ये अधिकांश हिमाली र पहाडी जिल्ला हुन्। ती १५ मध्येका ६ वटा जिल्ला कोशी प्रदेशमा पर्दछन्। बाह्रवटा जिल्लामा बुढ्यौली ‘धेरै बढी’ छ अर्थात् यहाँ ज्येष्ठ नागरिकको अनुपात १४ प्रतिशतभन्दा बढी छ। यीमध्ये पाँचवटा जिल्ला गण्डकी प्रदेशमा पर्दछन्। यी जिल्ला आन्तरिक बसाइँ सर्ने र विदेश जाने जनसंख्याको मात्रा पनि अत्यधिक भएका जिल्लामध्येमा पर्दछन्।
पाको जनसंख्याको वृद्धि दर
सन् १९९१ को अपवादलाई छाडेर बाँकी अरू सबै जनगणनामा ज्येष्ठ जनसंख्याको अन्तर्गणनाबीचको वृद्धि दर प्रतिवर्ष लगातार तीन प्रतिशतभन्दा माथि रहेको छ। यो दर निरन्तर कायम रहेमा नेपालको ज्येष्ठ जनसंख्या २५ वर्षभन्दा कम समयमा दुई गुणा हुन सक्छ। सन् २०११ र २०२१ का बीचमा यो दर ३.७७ बाट थोरै घटेर ३.०८ मा झरे पनि ज्येष्ठ नागरिकको समग्र अनुपात निरन्तर रूपमा बढ्ने देखिन्छ। यसले देशको समग्र सामाजिक र आर्थिक नीतिमा खासगरी ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका प्रावधानमा असर पार्ने भएकाले योजनाकार र नीतिनिर्माताले यतातिर गम्भीर ध्यान दिनुपर्ने हुन आउँछ।
विगतका पाँच दशकमा नेपालको कुल जनसंख्या र पाको जनसंख्याको वृद्धि दरको तुलना गर्दा सन् २००१ को जनगणना एउटा विशेष ऐतिहासिक मोड हुन पुगे जस्तो देखिन्छ किनभने यसपछि कुल जनसंख्याको वृद्धिदर निरन्तर र निकै ठूलो मात्रामा घटेको छ। यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने सन् २०११ मा १९ लाख र सन् २०२१ मा २२ लाख मानिसलाई देशबाहिर अनुपस्थित भनी रेकर्ड गरिएको थियो। यसरी वृद्धिदर घट्नुमा ठूलै संख्यामा रहेको अनुपस्थित जनसंख्या र यसको वृद्धिको असर रहेको पनि सहज अनुमान गर्न सकिन्छ।
उमेर संरचना सङ्क्रमण र बुढ्यौलीपनका सूचक
उमेर जनसंख्याका हिसाबले वितरणलाई तीनवटा मुख्य समूहमा बाँड्न सकिन्छ। १५ वर्षभन्दा कम उमेरकालाई ‘बाल’, १५ देखि माथि र ६० वर्षमुनिकालाई ‘वयस्क’ र ६० तथा सोभन्दा माथिकालाई ‘ज्येष्ठ’ अथवा ‘पाको’ भनिन्छ। तलको तालिकामा नेपालमा हालसम्म भएका आठवटा वैज्ञानिक जनगणनाका नतिजाअनुसार नेपालको जनसंख्याको उमेर समूहगत विवरण तथा बुढ्यौलीपनका सूचक र सो सूचकमा अन्तर्गणनाबीचमा आएको परिवर्तन देखाइको छ जसअनुसार नेपालको कुल जनसंख्यामा बाल जनसंख्याको हिस्सा सन् १९९१ देखि २०२१ सम्मका तीन दशकमै ४२.४ प्रतिशतबाट घटेर २७.८ मा झरेको देखाइएको छ।

यो दृष्टान्त जनसंख्याको उमेर संरचनामा आएको उल्लेखनीय परिवर्तन हो। यसले कुल जन्मदर र छोराछोरी हुने उमेर समूहका महिलाको संख्यामा द्रुत गतिमा परिवर्तन आएको कुराको सङ्केत गर्दछ। अझ महत्त्वपूर्ण कुरा, सबैभन्दा पछिल्ला दुईवटा जनगणनाका बीचको दशकमा बाल जनसंख्या ३४.९ प्रतिशतबाट घटेर २७.८ प्रतिशतमा झर्नु भनेको अति नै द्रुत गतिमा झर्नु हो। यसले देशको सामाजिक, जनसांख्यिकीय र समग्र नेपाली समाजको भविष्यबारे गम्भीर चिन्तनमनन गर्नु आवश्यक भएको देखाएको छ।
सन् १९९१ को जनगणनाले युवा, वयस्क र ज्येष्ठ नागरिकको हिस्सामा स्पष्ट विभाजन भएको उद्घोष गरे जस्तो देखिन्छ। तत्पश्चात् स्पष्ट रूपमा बाल समूहको हिस्सा निरन्तर घटेको, वयस्कको हिस्सा बढेको तथा ज्येष्ठ नागरिकको हिस्सा उल्लेखनीय रूपमा बढेको देखिन्छ। अन्य उमेर समूहमा उतारचढाव भए पनि ज्येष्ठ नागरिकहरूको हिस्सा १९५२/५४ देखि नै लगातार बढिरहेको छ।
१५ वर्षभन्दा मुनिका १०० जना बालबालिका बराबर ६० वर्ष र त्यसभन्दा बढी उमेरका (विकसित देशमा ६५ वर्ष र सोभन्दा बढी उमेरका) कति जना पर्छन् भन्ने कुरा जनाउने अङ्कलाई ज्येष्ठताको सूचक भनिन्छ। यस्तो सूचक जति ठूलो भयो ज्येष्ठ नागरिकको हिस्सा त्यति नै बढी छ भन्ने बुझिन्छ। सन् १९५२/५४ मा यस्तो सूचक १३ (अर्थात् १०० बालबालिका हुँदा १३ जना ज्येष्ठ नागरिक थिए) थियो।
सन् १९९१ सम्म लगभग यही दर कायम रह्यो वा केही मात्र बढ्यो। सन् २००१ भन्दा पछिका जनगणनामा यो सूचक धेरै बढ्यो र सन् २०२१ मा आइपुग्दा ३६.७ हुन पुग्यो। पछिल्ला तीनवटा जनगणनामा लगातार बढिरहेको यो सूचकको गति हेर्दा नेपालको कुल जनसंख्यामा ज्येष्ठ नागरिकको बलियो उपस्थिति रहेको स्पष्ट देख्न सकिन्छ। यसलाई अन्तर्राष्ट्रिय परिवेशसँग दाँजेर हेर्नका लागि ६५ वर्ष र सोभन्दा बढी उमेरकालाई ज्येष्ठ नागरिक मानेर सूचक निकाली विश्लेषण गर्दा सूचकाङ्क कम भए पनि पछिल्ला पाँचवटा जनगणनामा ज्येष्ठ नागरिकको अनुपात लगातार बढिरहेको देखिन्छ।
योभन्दा महत्त्वपूर्ण कुरा, ज्येष्ठताको सूचक कम भए पनि सम्पूर्ण जनसंख्यामा ज्येष्ठ नागरिकको उपस्थिति अझ बलियो रहेको देखाउँछ (उदाहरणका लागि, सन् २०११ र २०२१ बीचको सूचकः ६० र सोभन्दा बढी उमेरकालाई ज्येष्ठ नागरिक मान्दा ५८.२ प्रतिशत र ६५ र सोभन्दा बढी उमेरकालाई ज्येष्ठ नागरिक मान्दा ६४.९ प्रतिशत)।
परिवर्तनशील उमेर संरचना र परनिर्भरता अनुपात
नेपालले विकासोन्मुख मुलुक भनी मान्यता पाउन बाँकी नै भए पनि जनसांख्यिक परिपक्वताका सङ्केत भने देखिइसकेका छन्। तलको चित्रमा जनसंख्याका तीनवटा महत्त्वपूर्ण सूचकाङ्कको प्रवृत्ति देखाइएको छ। ती सूचकाङ्क हुन् : ६० वर्ष र सोभन्दा बढी उमेरको पाको जनसंख्या, बाल जनसंख्या (१५ वर्षभन्दा कम उमेरका) को अनुपात र जनसंख्याको परनिर्भरता अनुपात।
यी सूचकाङ्कमा समयक्रममा आएको परिवर्तनले नेपालको जनसंख्या पाको हुने क्रममा रहेको स्पष्ट रूपमा देखाएका छन्। सन् १९५२/५४ र २०२१ का बीचमा नेपालको कुल जनसंख्या ३.५ गुणाले बढ्यो (८२ लाख ५६ हजार ६ सय २५ बाट बढेर दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुग्यो)। यही अवधिमा ज्येष्ठ नागरिकको संख्या ७.२ गुणाले बढ्यो (चार लाख १२ हजार आठ सय ३० बाट २९ लाख ७७ हजार तीन सय १८ पुग्यो)।

सक्रिय र उत्पादनशील जनसंख्याले पाल्नुपर्ने मानिसको बोझ देखाउने परनिर्भरता अनुपातले समयक्रममा समग्र रूपमा सकारात्मक चित्र प्रस्तुत गरेको छ। यस्तो अनुपात सन् १९९१ मा सबैभन्दा बढी थियो भने सन् २०२१ यो अनुपात घटेर सबैभन्दा कम भयो। यो अनुपात घट्नुमा मूलतः बालबालिकाको परनिर्भरता घट्नुले योगदान गरेको छ। अर्कातिर, ज्येष्ठ जनसंख्याको परनिर्भरता भने निरन्तर बढिरहेको छ।
सन् १९९१ देखि २०२१ का बीचमा ज्येष्ठ परनिर्भरता अनुपात ४७ प्रतिशतभन्दा बढी मात्रामा (११.२ प्रतिशतबाट १६.५ प्रतिशत) बढेको छ।
आयु बढ्दै जाँदा ज्येष्ठ नागरिकको परनिर्भरता निरन्तर बढिरहन्छ। बाल परनिर्भरता र ज्येष्ठ नागरिकको परनिर्भरतामा अन्तर के छ भने परनिर्भर बालकहरू बढेर सक्रिय र उत्पादनशील बन्छन् वा आत्मनिर्भर हुँदै जान्छन्, परनिर्भर हुँदैनन् तर ज्येष्ठ नागरिकहरू बाँचुन्जेल परनिर्भर हुन्छन्। माथिको चित्रअनुसार, परनिर्भरता अनुपातमा आएको गिरावटले अर्को कुरा पनि सङ्केत गर्दछ। त्यो हो अहिले काम गर्ने उमेरका मानिसको अनुपात पहिलेभन्दा धेरै छ। यसले गर्दा हामी “जनसांख्यिक लाभ लिन सक्ने अवस्थामा छौं तर यो अवस्था लामो समयसम्म रहँदै न किनभने समय बित्दै जाँदा र हालको परिस्थिति नै निरन्तर कायम रहेसम्म श्रम बजारमा प्रवेश गर्ने जनसंख्या घट्ने कुरा निश्चित देखिन्छ।
दीर्घायुपन
जनसंख्या पाको हुँदै जाने प्रवृत्ति र ढाँचालाई देशको जनसंख्याको दीर्घायुपनका दृष्टिले पनि हेर्नुपर्छ। औसत आयु यस्तो एउटा मापदण्ड हो। औसत आयुमा आएको परिवर्तनले जनसंख्याको स्वास्थ्य अवस्था र मृत्यु दरको अवस्था झल्काउँछ।
सामान्यतया, औसत आयु बढ्दा ज्येष्ठ नागरिकको अनुपात बढ्न जान्छ। नेपाल पनि यसको अपवाद होइन। तलको चित्रमा पछिल्ला पाँचवटा जनगणनामा देखिएको औसत आयुको प्रवृत्ति देखाइएको छ। सन् १९८१ मा नेपालीको औसत आयु ५० वर्ष थियो। सन् १९९१ मा बढेर ५४ वर्ष पुग्यो। यी दुवै जनगणनामा पुरुषको औसत आयु महिलाको औसत आयुभन्दा बढी थियो। सन् २००१ को जनगणनामा औसत आयु ६ वर्षले बढेर ६०.४ वर्ष हुन पुग्यो। एक दशकमा औसत आयु यति धेरै बढ्नु उल्लेखनीय कुरा हो।

अर्को, नेपालको जनगणनाको इतिहासमा यस जनगणनाले महिलाको औसत आयु पुरुषको आयुभन्दा बढी भएको कुरा पहिलो पटक देखायो। त्यसपछि पनि औसत आयु यस्तै किसिमले बढ्दै गयो। सन् २०११ मा औसत आयु ६.२ वर्ष थपियो। त्यसपछि औसत आयु वृद्धिदर पहिलेका तुलनामा घट्यो। सन् २०२१ को जनगणनाले नेपालीको औसत आयु ६८.५ वर्ष भएको देखायो। पुरुष र महिलाको औसत आयुमा ३.८ वर्षको अन्तर छ। महिलाको औसत आयु ७०.४ वर्ष छ भने पुरुषको औसत आयु ६६.६ वर्ष छ।
औसत आयु र ज्येष्ठ जनसंख्याको हिस्साका बीचमा बलियो सम्बन्ध छ। पछिल्ला पाँचवटा जनगणनामा औसत आयु र ज्येष्ठ जनसंख्याबीचको सम्बन्धका गुणाङ्क (आर स्क्वायर) कोइफिसिइन्ट ०.८११ थियो। यसले यी दुईवटा चरहरूबीच धेरै घनिष्ठ सकारात्मक सम्बन्ध रहेको सङ्केत गर्छ। अर्को शब्दमा भन्दा, औसत आयु बढ्दा पाको जनसंख्याको अनुपात पनि बढ्छ।
परिवारको आकार र ज्येष्ठ नागरिकको परनिर्भरता अनुपात
तलको चित्रमा सन् १९८१ पछिका जनगणनामा देखिएको परिवारको औसत आकारमा आएको परिवर्तन देखाइएको छ। सन् १९८१ मा नेपालका परिवारको औसत आकार ५.८ जना थियो। सन् २०२१ मा आइपुग्दा यो आकार खुम्चिएर ४.४ जनामा झर्यो। यसले एउटा परिवारमा १.४ जना मानिस घटेको देखायो।

यसैबीच, नेपालीको आयु उल्लेखनीय मात्रामा अर्थात् १९ वर्षले बढ्यो। औसत आयु बढ्नु र परिवारको आकार घट्नु भनेको नेपाली समाजका परिवार नयाँ चरणमा अर्थात् एकल परिवारको प्राथमिकतातर्फ प्रवेश गर्ने चलन आएको कुराको सङ्केत हो। त्यसो नभएको भए परिवारका थप सदस्य बढी उमेरसम्म बाँच्दा परिवारको आकार बढ्ने थियो।
पछिल्ला चारवटा जनगणनामा समग्र परनिर्भरता अनुपातमा बिस्तारै गिरावट आइरहेको छ भने ज्येष्ठ नागरिकको निर्भरता (काम गर्ने उमेरका १०० जना मानिस बराबर ६० र सोभन्दा बढी उमेरका मानिस कति जना छन् भन्ने अनुपात) सन् १९८१ पछि बिस्तारै लगातार बढ्दै गएर सन् २०२१ मा १६.५ पुगेको छ।
सन् १९८१ र २०२१ का बीचमा यस्तो अनुपात ५२.८ प्रतिशतले बढ्यो। परिवारको आकार र ज्येष्ठ नागरिकको निर्भरता अनुपातका बीचमा सोझो सम्बन्ध त छैन तर परनिर्भरता अनुपात द्रुत गतिमा बढ्यो भने यसले परिवारको स्रोत साधनमा असर पार्छ किनभने पाका मानिसलाई भरथेग गर्ने परिवारका सदस्य भने निरन्तर घटिरहेका हुन्छन्।
बसाइँसराइ र पाको जनसंख्या
हालसालैका दशकमा, बसाइँसराइ धेरै नेपाली परिवारको जीविकोपाजर्नको एउटा मुख्य रणनीतिका रूपमा उदाएको छ। सन् २०२१ को जनगणनाले के देखाएको छ भने २३.३ प्रतिशत घरपरिवारका एक वा सोभन्दा बढी सदस्य घर छाडेर विदेश गएका छन्। यस्तै गरी, अरू १३.३ प्रतिशत घरपरिवारका एक वा एकभन्दा बढी सदस्य घर छाडेर देशकै अर्को ठाउँमा बसेका छन्।
जनसंख्याको बुढ्यौलीपन र विदेश बसाइँसराइका बीचमा नजिकको सम्बन्ध छ। जनगणना गर्ने विधिअनुसार, ६ महिना वा सोभन्दा बढी समयसम्म आफ्नो घरबाट टाढा बसेको मानिसको गणना उसको परम्परागत थातथलोमा गरिँदैन। घर छाडेर देशभित्रकै अर्को ठाउँमा बसेकाहरूको हकमा उनीहरूको गणना जहाँ बसेका छन् त्यही हुने हुनाले उनीहरू देशको जनसंख्यामा जोडिन्छन्। तर ६ महिना वा सोभन्दा लामो समय आफ्नो घर छाडेर विदेश बसेकाहरू देशमा सरदर बसोबास गरेको जनसंख्यामा जोडिदैनन्।
बसाइँसराइसम्बन्धी स्थापित तथ्य के हो भने बसाइँ सर्नेहरूमध्ये उमेरका हिसाबले अधिकांश युवा हुने गर्छन्। यसको अर्थ हो युवाहरूको बाहुल्य भएको अनुपस्थित जनसंख्याले निश्चित भौगोलिक क्षेत्रको जनसंख्यामा ज्येष्ठ नागरिकको प्रतिशतमा अन्तर ल्याउँछ।
तल प्रस्तुत तालिकामा सन् २०२१ को अनुपस्थित जनसंख्या, अनुपस्थितिको अनुपात र पाको जनसंख्याको अनुपात देखाइएको छ। समग्रमा, सन् २०२१ को नोभेम्बरमा जनगणना भएका बेला ४४ लाख ५७ हजार ८२८ जना मानिस आफ्नो घरमा अनुपस्थित थिए। आन्तरिक र बाह्य बसाइँसराइको अनुपात १.०३ थियो। यसको अर्थ हो घर छाडेर देशभित्रकै अर्को ठाउँ जाने र विदेश जानेहरू झन्डैझन्डै बराबर छन्।

देशभित्रैको अर्को ठाउँमा बस्ने थोरै बढी छन्। बसाइँ सर्ने र नसर्ने जनसंख्याको राष्ट्रिय औसत अनुपात १५.३ छ। शहर र गाउँबाट बसाइँ सर्नेहरूको अनुपात हेर्दा बसाइँ सर्नेहरूको अनुपात शहरमा भन्दा गाउँमा बढी छ। यसले बसाइँ सर्नेहरूको ठूलो मात्रा गाउँका छन् भन्ने बुझाउँछ। भौगोलिक क्षेत्रका आधारमा हेर्दा, बसाइँसराइको अनुपात हिमालमा सबैभन्दा बढी, त्यसपछि पहाडमा छ। तराईमा सबै भन्दा कम छ। संख्याका दृष्टिले हिमाली भेगको बसाइँसराइ थोरै भए पनि त्यहाँको बसाइँसराइको अनुपात तराईको झन्डै दुई गुणा छ।
प्रदेशबीचको अनुपस्थित अनुपातमा अन्तरप्रादेशिक अन्तर ठूलो छ। गण्डकीको अनुपस्थित अनुपात सबैभन्दा धेरै (२६.३ प्रतिशत) छ भने मधेशको सबैभन्दा कम (८.१ प्रतिशत)। यस्तै, कोशी, मधेश, लुम्बिनी र कर्णालीको अनुपस्थित दर राष्ट्रिय औसतभन्दा कम छ।
माथि दिइएको भौगोलिक एकाइगत आँकडाअनुसार अनुपस्थित अनुपात र पाको जनसंख्याको प्रतिशतबीचको सम्बन्ध कोइफिसियन्ट ०.५६ छ। यसले बसाइँसराइ र पाको जनसंख्याको अनुपातका बीचमा बलियो सम्बन्ध छ भन्ने सङ्केत गर्छ। यो भन्दा महत्त्वपूर्ण कुरा के छ भने परिवारका सदस्यहरू बसाइँ सरेकाले ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा असर परेको छ।
यसको स्पष्ट चित्र देखाउनका लागि विस्तृत अध्ययन गर्नुपर्छ तर झट्ट हेर्दा पनि केही कुरा भन्न सकिन्छ। पहिलो, ज्येष्ठ जनसंख्याको प्रतिशत नगरपालिकामा भन्दा गाउँपालिकामा बढी छ। दोस्रो, गाउँपालिकाको अनुपस्थित अनुपात ४.६ ले बढी छ (गाउँपालिकाको १८.३ र नगरपालिकाको १३.७)। यसले ग्रामीण भेगबाट बसाइँ सर्नेको मात्रा बढी भएको देखाउँछ। तेस्रो, लामो समयका लागि बसाइँ सर्नेहरूले, खास गरी विदेश जानेहरूले, आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिन र बजार सजिलै पुग्नका लागि परिवारलाई शहरबजारमा राख्ने तर बाबुआमालगायत ज्येष्ठ नागरिकहरूलाई गाउँमै छाडेर जाने चलन छ। चौथो, अनुपस्थित सदस्यले पठाएको पैसा मूलतः उनीहरूका एकल परिवार र छोराछोरीले खर्च गर्ने गर्छन्।
यसरी काम गर्न सक्ने परिवारका सदस्यहरू अनुपस्थित रहने, त्यस्ता सदस्यका जहान, छोराछोरीलाई बजारमा राख्ने र ज्येष्ठ नागरिकलाई गाउँमा छाड्ने चलनलाई ‘रित्तो गुँड लक्षण’ भन्न मिल्छ। यस्तो अवस्था ज्येष्ठ नागरिकका लागि पटक्कै सुखद् होइन।
नेपालको ज्येष्ठ जनसंख्याको सन्दर्भलाई नियाल्दा
नेपालमा ज्येष्ठ नागरिकको जीवनयापनको अवस्था र परिवार अनि समुदायका लागि उनीहरूको योगदान बारेमा विस्तृत अध्ययन खासै भएको छैन। तैपनि के कुरा भन्न सकिन्छ भने उल्लेखनीय मात्रामा ज्येष्ठ नागरिकको जीवनयापनको व्यवस्था सन्तोषजनक छैन र उनीहरूले दिएको योगदानलाई प्रायशः समाज र अर्थतन्त्रमा गणना गरिँदैन। बितेका दशकहरूमा उनीहरूका लागि राज्यले केही मात्रामा सामाजिक सहयोगको व्यवस्था गर्नुका साथै कानून बनाएको त छ तर उनीहरूको जीवनयापनका लागि उपयुक्त वातावरण बनाउने र सामाजिक सुरक्षाको प्रत्याभूति दिने प्रमुख दायित्व परिवार र ज्येष्ठ नागरिक स्वयम्लाई नै सुम्पिइएको छ।
घरपरिवारका आर्थिक रूपले सक्रिय सदस्य अनुपस्थित हुने बढ्दो क्रम, जमिन बाँझो राखेकाले घट्न गएको कृषि उत्पादन र वन्यजन्तुले बाली नाश गर्ने समस्या परम्परागत कृषिमा आश्रित जीवनशैलीलाई महत्त्व दिने गाउँका ज्येष्ठ नागरिकका लागि ठूला समस्या बनेका छन्। विदेशबाट पठाएको पैसाले जीवनयापन गर्न सहयोग त गर्छ तर त्यसले व्यक्तिवादलाई प्रोत्साहन दिन सक्छ र ज्येष्ठ नागरिकलाई सहयोग गर्ने परम्परागत सामुदायिक सहयोग प्रणालीबाट टाढा पुऱ्याउने पनि गर्न सक्छ।
विश्वव्यापी परिस्थितिअनुसार, नेपालमा पनि पाका मानिसको संख्या र अनुपात दुवै निरन्तर बढ्ने अनुमान गर्न सकिन्छ। ज्येष्ठ नागरिकको परनिर्भरता बढ्नु, बाल परिनिर्भरता घट्नु र अनुपस्थित जनसंख्या बढ्नुको अर्थ आउँदा दिनमा धेरै ज्येष्ठ नागरिकहरूलाई जीवनयापनका लागि, स्वास्थ्य सेवाका लागि र उनीहरूको भावनात्मक समृद्धिका लागि ठोस सहयोगको आवश्यकता पर्छ। नेपाल अहिले वित्तीय दृष्टिले के गरौं, के गरौं भन्ने द्विविधा छ : नेपालले एकातिर, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न युवा पुस्तालाई सक्षम बनाउन उनीहरूको गुणस्तरीय शिक्षा र सीप विकासका कामलाई प्राथमिकता दिनै पर्छ। अर्कोतिर ज्येष्ठ नागरिकको सहयोगका लागि पनि लगानी गर्नेपर्ने अवस्था छ।
-यो लेख सोसल साइन्स बहाःद्वारा प्रकाशोन्मुख पुस्तक नेपालको सामाजिक जनसांख्यिकीबाट लिइएको हो। पुस्तकको नेपाली अनुवाद मोहन मैनालीले गरेका हुन्।