लोकगीत सर्जन, वाद्यवादन र रंगमञ्च– तीनैवटा विधामा बराबर दख्खल राख्ने ७२ वर्षीय प्रेमदेव गिरीले गरिरहेको कलाकर्म हेर्दा लाग्छ उनी अझैं तन्नेरी नै छन् ।
सेतै फुलेका छुस्स दाह्री। चाउरी परेको अनुहार। बुढ्यौलीले भुइँतिर लत्रिँदै गरेको पातलो शरीर। तर, तन्नेरी पाइला।
“यो उमेरमा पनि कति दौडधुप दाजु?” मेरो प्रश्नवाणले उनलाई घोचेछ क्यारे!
फिस्स हाँसोसँगै फुत्कियो– “उमेर?”
खासमा मैले उमेरको सन्दर्भ, कुरा झिक्ने बहानामात्र बनाएको थिएँ। उनले यसलाई टिपिहाले।
मैले पनि कुराकानीको मेलो अघि बढाएँ– कति वर्ष पुग्नुभो दाजु?
“७२,” उमेरले लत्रिएको अनुहार चहकिलो पार्दै उनले भने।
तर, तपाईंलाई २७ भन्न सुहाउँछ!– मैले फुर्क्याउँदै प्रतिक्रिया ठेलें।
“अँ त नि, साथीभाइहरूले पनि तन्नेरी बनाइदिन्छन्,” उनले बुढ्यौली उमेरमा पनि तन्दुरुस्त रहेको युवा जोशको जस अरूलाई दिन भ्याइहाले।
सुर्खेतका प्रेमदेव गिरी– लोकगीत सिर्जना, वाद्यवादन र रंगमञ्चका त्रिरत्न। असार पहिलो साता काठमाडौंमा थिए, जुन शहरसँग उनको ४१ वर्षअघि प्रित टुटेको थियो। त्यही शहरले बोलाएर पाहुना आएका। भन्दै थिए, “कर्णालीको कलाकर्म काठमाडौंमात्र होइन, कोशीदेखि कालीसम्म सिँचित भएको छ, यसैमा गर्व लाग्छ।”
प्रेमदेवको अतीतमा फर्किऔं। सांस्कृतिक संस्थानमा जागिर थियो। प्रतिभाशाली कलाकारमा गनिन्थे। लोकगीत सर्जन, वाद्यवादन र रंगमञ्च– यी तीनैवटा विधामा बराबर दख्खल राख्थे।

जगदम्बाश्री विजेता प्रेमदेव गिरी (मादल बजाउँदै)। तस्बिर : सुरेश आचार्य
यो भयो जिन्दगीको एउटा पाटो, जुन सबैले देखेका थिए। नदेखेको अर्को पाटो, जसले प्रेमदेव गिरीको मनमा हुन्डरी मच्चाएको थियो। उनी लोकसंस्कृति जोगाउन चाहन्थे। जागिर खाएर यो हुटहुटी पूरा हुने छाँट थिएन। मनमा उकुसमुकुस थियो- शहरको चकाचौंधमा मग्न हुने कि मनको तिर्सना मेट्न काँडाघारी रोज्ने।
एकाबिहान अचानक घोषणा गरे– म त गाउँ फर्किन्छु।
‘कति दिनलाई?’ साथीहरूले कुरा बुझेनन्।
जुन दिन मेरो हुटहुटी मेटिन्छ।
‘मतलब?’ साथीहरूले अझै कुरा बुझेनन्।
“म लोकसंस्कृति जोगाउन चाहन्छु,” उनले सम्झाए, “सुर्खेत जान्छु, त्यहीँ काम गर्छु।”
सबै छक्क परे। सम्झाउन खोजे– के भा’ यो मान्छेलाई! हुँदाखाँदाको सरकारी जागिर छोड्छु भन्छ।
तर, उनी गलेनन्।
२०४१ सालको एकाबिहान उनले जुन काँडाघारीको बाटो रोजे, आजसम्म एकनाशले त्यसैमा हिँडिरहेका छन्।
काठमाडौंबाट सुर्खेत झरेपछि उनलाई लाग्यो, लोकसंगीतको जगेर्ना गर्न सबभन्दा पहिले कलाकर्मीहरूलाई संगठित पार्नुपर्छ। उनी भन्थे– “कलाकार भनेको डोरीजस्तो हो, एउटा भए सजिलै चुँडिन्छ, लठ्ठो पारे सकिन्न।” त्यतिखेर पञ्चायतको सरगर्मीमा डोरीको लठ्ठो बनाउनु सजिलो थिएन। तर, प्रेमदेव पानीमा रुझेको फलामजस्तो भित्रभित्रै खिएर बस्ने स्वभावका थिएनन्। २०४२ सालमा उनले केही स्थानीय कलाकार जम्मा गरेर ‘देउतीबज्यै कला परिवार’ स्थापना गरेरै छाडे। कलाकर्मीहरू संगठित भएमात्र लोकसम्पदा जर्गेना हुन्छ भन्ने प्रेमदेवका लागि त्यो जिन्दगीकै सबभन्दा खुसीको क्षण थियो।
लोकजीवन नबुझेको मान्छे लोकगीत रच्न सक्तैन। त्यसैले उनी देशका कुनाकन्दरासम्म पुगे। कहिले मादले त कहिले रंगकर्मी– हमेसा उनी यी दुई भेषमै पुग्थे, लोकबस्तीमा।
तर, खुसी धेरै दिन टिकेन। तत्कालीन सरकारले नानाभाँती जालझेल गरेर लठ्ठो फुस्काएरै छाड्यो। “हामीले साँचो कुरा जनतामाझ राख्दा तत्कालीन सरकारका आँखाका कसिङ्गर बनेका थियौं,” ४० वर्ष पुराना सम्झना खोस्रँदै उनले भने, “स्थानीय प्रशासनले हामीमध्ये कसैलाई कांग्रेस देख्यो, कसैलाई कम्युनिस्ट। केही साथीहरूलाई त प्रयोग गर्न पनि गर्न खोज्यो। हामीले त्यो संस्थाबाट काम गर्न सकेनौं।”
सबै कलाकार समाजका गहना हुन्, स्थानीय र राष्ट्रिय भन्ने हुँदैन।
अतीत खोस्रँदै जाँदा उनको चम्किलो अनुहार मलीन हुँदै गयो। निरंकुश सत्ताले रोकेको बाँध खुल्यो, २०४६ को राजनीतिक परिवर्तनपछि। सुर्खेतका कलाकार फेरि जुर्मुराए। कलाकारहरूको साझा संस्था खोल्ने कुरा चल्यो। थुप्रै नाम प्रस्ताव भए। अन्तमा, प्रेमदेवले जुराएको नाममै सहमति भयो– ‘बागीना समूह’, अर्थात् बाजा, गीत र नाट्यकर्म समूह।
२०५२ सालमा स्थापित यो समूह कर्णालीको लोकसंस्कृति क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित छ। प्रेमदेव स्थापनाकालदेखि नै यसमा अभिभावक भएर बसेका छन्। वाद्यवादन, अभिनय र लोकगीत सिर्जनामा दख्खल राख्ने उनले यही समूहमा रहेर जनजिब्रोमा झुन्डिने थुप्रै गीत रचेका छन्।
सज हिँड्छ करनाली, छाल हान्दोछ भेरी
बग्ने पानी जाने जीवन, फर्कंदैन फेरि
उनी गीतलाई सिंगो जीवनको विम्ब भन्न रुचाउँछन्। यस्तै विम्ब बोकेका सयभन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड गराइसकेका छन्। डायरीको पानामा मधुर कण्ठ कुरेर बसेका गीतहरू त्यति नै होलान्।
कुमार बस्नेत, मीरा राणा, हिरण्य भोजपुरे, लोचन भट्टराई, नारायण रायमाझी, लोकबहादुर क्षेत्री, भीमबहादुर कार्की, मन्जु मेदासीजस्ता समकालीन लोकगायन क्षेत्रका सबैजसो हस्तीले उनका गीत गाएका छन्। उनले कर्णालीमा प्रचलित देउडा, झ्याउरे, चुट्का, ख्याली लगायत प्रायः सबै लोकभाकामा गीत रचेका छन्।
उनी कुशल वाद्यवादक पनि हुन्। नारायणगोपालका कति स्वरमा मादलको ताल मिलाएका छन्। सांस्कृतिक संस्थानको दशक लामो जागिरे जीवनमा नारायणगोपालसँग रुस, बेलायत, भारतजस्ता विभिन्न देशमा वाद्यवादक भएर घुमेका क्षण अहिले पनि उनलाई झल्झली याद आउँछ।

चन्द्रसूर्य एकेडेमीमा संगीत पढाउँदै गिरी । तस्बिर- सुरेश आचार्य ।
असार पहिलो साता चमेलीको पोइ नामक फिल्मको लागि आवाज रेकर्ड गराउन काठमाडौं आएका थिए। उक्त चलचित्रमा गाउँको चल्तापुर्ता, टाठोबाठो वयोवृद्धको भूमिकामा छन्।
सांस्कृतिक संस्थानको चार दिवालबाट निस्किएपछि उनलाई पंक्षीझैं लोकसंगीतको नीलगगनमा शयर गर्ने मौका मिल्यो। करिब ६ दशक लामो कलाजीवनमा देश–विदेशमा उनका पखेटाले सांगीतिक हावा दिए। उनी जहाँ पुगे, सांस्कृतिक जगेर्नाको साझा अभियानका साथ पुगे। व्यक्तिगत भ्रमण भन्ने कहीँ भएन।
‘हामीले त तपाईंलाई हात्ती सम्झेका थियौं, मुसो पो हुनुहँदौ रैछ,’ २०५३ सालमा राष्ट्रिय जनसांस्कृतिक मञ्चले प्रबन्ध गरेको तीन महिने नारायणी–महाकाली यात्राका क्रममा एक प्रशंसकले भनेको कुरा उनको मनमा गहिरोसँग गडेको छ। वर्षौंदेखि प्रेमदेवका मुटु छेड्ने गीत सुन्दै आएका ती ‘फ्यान’लाई लागेको रहेछ– प्रेमदेव नामको चर्चाजस्तै गह्रुँगा होलान्। तर, ख्याउटे प्रेमदेव जसै मञ्चमा पुगे, उनलाई पत्यार लागेन। र, मञ्चबाट झरेपछि एउटै वाक्य दोहोर्याई–तेहेर्याई भने, ‘राष्ट्रिय कलाकार त मोटोघाटो, गमक्क जीउडालको हुनुपर्ने, तपाईं त यस्तो हुनुहुन्छ।’
काठमाडौंमा बस्नेजति राष्ट्रिय, बाहिर बस्ने स्थानीय। कलाकारितामा त यो झन् बढी चल्तीमा छ। प्रेमदेव कलाकारबीच कोरिएको यही विभाजनको रेखा मेट्न चाहन्छन्। “म जागिर छोडेर गाउँ फर्किनुको एउटा कारण यो पनि हो,” उनले भने, “सबै कलाकार समाजका गहना हुन्, स्थानीय र राष्ट्रिय भन्ने हुँदैन।”
गिरीको यही हुटहुटीलाई मदन पुरस्कार गुठीले यसपटक ‘राष्ट्रिय’ पहिचान दिलाएको छ। गिरीलाई लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत गुठीले २०८१ सालको ‘जगदम्बा–श्री’ अर्पण गर्ने निर्णय गर्यो।
उनले सुर्खेतमै बसेर ‘राष्ट्रिय’ कलाकारको छवि जीवन्त राखे। मोफसलमा बस्ने पनि राष्ट्रिय कलाकार हुन्छ भनेर देखाए। समग्र कर्णालीको कलासंस्कृतिलाई राष्ट्रियकरण गर्न महत्त्वपूर्ण भूमिका खेले। यसैको फलस्वरूप उनी थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित भएका छन्।
लोकजीवन नबुझेको मान्छे लोकगीत रच्न सक्तैन। त्यसैले उनी देशका कुनाकन्दरासम्म पुगे। कहिले मादले त कहिले रंगकर्मी– हमेसा उनी यी दुई भेषमै पुग्थे, लोकबस्तीमा। फर्किदा झोलाभरि लोकथुँगा ल्याउँथे र फुर्सतको बेला उनेर गीतिमाला बनाउँथे। त्यसैले हुनुपर्छ– गाउँ होस् वा शहर, जताततै प्रेमदेवप्रति प्रेम बर्सिन्छ। “सुर्खेतमा जन्मेहुर्के पनि मैले यस क्षेत्रका प्रायः सबै लोकसंस्कृतिलाई सम्मान गरें,” उनी भन्छन्, “आफूले सम्मान पाउन अरूलाई सम्मान गर्न सिक्नुपर्छ।”
एउटा कलाकारको लागि त त्यो झनै आवश्यक हुने बताउँछन्।

जगदम्बाश्री विजेता प्रेमदेव गिरी (निलो शर्ट)। तस्बिर : सुरेश आचार्य
प्रेमदेवको मादलले मेचीदेखि महाकाली नचाएको छ। ३० को दशकदेखि नै उनीसँगै केन्द्रमा कर्णालीको ताल निरन्तर घन्किरहेको छ। नाट्य क्षेत्रमा पनि त्यत्तिकै गर्विलो उपस्थिति छ। प्रेमदेव यसको जस कुनै एक व्यक्तिलाई नभई सामूहिकतालाई दिन्छन्। प्रेमदेव आफैंमा एक पठनीय पात्र बनिसकेका छन्। तर, उनी सधैं गौण ठान्छन्। भन्छन्, “मेरो गुणगान नगाइदिनुहोला, बरु धन्यवाद दिनुहोला।”
कर्णाली नदीमा लोकसंगीत र रंगकर्मको रङ सदियौंदेखि बगिरहेको छ। त्यही कञ्चन कर्णालीमा प्रेमदेवजस्ता स्रष्टा र सर्जकको विरासत मिसिएको छ। उनी ठान्छन्, “कर्णालीले सिंगो देश सिञ्चित गरिरहेको छ।”
“तपाईं त सिंगो कर्णाली हो नि,” मैले उनको व्यक्तित्वको लम्बाई नाप्दै भनें।
“होइन, म कर्णालीको एक थोपामात्र हुँ,” उनी सरलतामा बग्न खोजे।
लोकगीत सिर्जनाका अतिरिक्त उनी वीरेन्द्रनगर–४ स्थित घर नजिकैको निजी विद्यालय चन्द्रसूर्य एकेडेमीमा संगीत (अतिरिक्त क्रियाकलाप) शिक्षक छन्। “गीत लेख्ने, मादल बजाउने र रंगकर्म गर्ने त समाजका लागि हो, पेट भर्न त पढाउनैपर्यो नि,” उनले भने।
“यो उमेरमा पनि पढाउन भ्याएको दाजु?” मैले उनी भित्रको ऊर्जा तौलिन खोजें।
“ज्यान बूढो देखेर?” उनको ठट्यौली रोकिएन, “मेरो मनको हुटहुटीलाई बुढ्यौलीले अझै छोएको छैन।”
गिरीको यही हुटहुटीलाई मदन पुरस्कार गुठीले यसपटक ‘राष्ट्रिय’ पहिचान दिलाएको छ। गिरीलाई लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत गुठीले २०८१ सालको ‘जगदम्बा–श्री’ अर्पण गर्ने निर्णय गर्यो।
“यो पुरस्कारले कर्णाली र सिंगो मोफसललाई न्याय मिलेको छ”, जगदम्बाश्रीको खबरले प्रफुल्लित गिरीको प्रतिक्रिया थियो, “यो मेरो तपस्याको फल हो, मन थप तन्नेरी भएको छ।”